निर्वाचन आयोगले गर्यो प्रतिनिधिसभातर्फको समानुपातिक सिट बाँडफाँड


काठमाडौँ, माघ २६ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फको समानुपातिक सिट संख्या बाँडफाँड गरेको छ । कानूनी जटिलता देखाएर रोकेको सो परिणाम आयोगले शुक्रबार सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ स्थान प्राप्त गरेका पाँच राजनीतिक दललाई तीन दिनभित्र उम्मेदवारको नामावलीको विवरण पठाउन पनि आयोगले निर्देशन दिएको छ ।

समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे शुक्रबार औपचारिक रुपमा जानकारी दिँदै आयोगले यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समानुपातिक र समावेशिताको आधार मिलाएर यही माघ २९ गतेभित्र पठाउन दलहरुलाई पत्रचार गरिएको छ ।

आयोगका अनुसार समानुपातिकतर्फ नेकपा (एमाले) ले ४१, नेपाली काँग्रेसले ४०, नेकपा (माओवादी केन्द्र) ले १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ–छ स्थान प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ ४९ दलले बन्दसूची पेश गरेकामा एमाले ३१,७३,४९४०, काँग्रेस ३१,२८,३८९० माओवादी केन्द्र १३,०३,७२१०, राजपा ४७२,२५४० र समाजवादी फोरम ४७०,२०१० ले मात्र राष्ट्रिय राजनीतिक दलको मान्यता प्राप्त गर्न आवश्यक कूल सदर मतको न्यूनतम मत सीमा तीन प्रतिशत कटाएका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ अब एमालेले ३७, काँग्रेसले २०, माओवादी केन्द्रले १६, राजपाले छ र संघीय समाजवादी फोरम नेपालले कम्तीमा पाँच महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आयोगले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनको नतिजा सार्वजनिक नभई प्रतिनिधिसभा सदस्यको मानुपातिकतर्फको निर्वाचनमा दलले प्राप्त गर्ने स्थान संख्या औपचारिकरुपमा सार्वजनिक गर्न नमिल्ने जनाउँदै आएको आयोगले बिहीबार राष्ट्रियसभाको निर्वाचनको नतिजा आएसँगै शुक्रबार मत परिणाम सार्वजनिक गरेको हो ।

निर्वाचनको नतिजा गत पुस ११ नै तयार भएपनि कानूनी अड्चनका कारण आयोगको शुक्रबार बसेको बैठकले समानुपातिकतर्फको नतिजा स्वीकृत गरेको हो । आयोग यस वर्ष स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनको जिम्मेवारी सफलतापूर्वक रुपमा गराउन सफल भएको थियो ।

तपाईको प्रतिक्रिया