कैलाली ५ बाट निर्वाचित सांसद रानाथारुको यस्ता छन् विकासे एजेण्डा


कैलाली, माघ २७ गते । कैलाली निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नारदमुनी रानाथारुले चुनावीताका गरिएको प्रतिवद्धता पाँचवर्ष भित्र कार्यान्वयनकालागि एजेण्डा तयार गरेका छन् ।

कांग्रेस सभापित शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवालाई फराकिलो मतान्तरले पराजित गरी जित सुनिश्चित गरेका रानाथारुले मतदाताको मतलाई खेर जान नदिने प्रतिवद्धता दोहोर्याएका छन् । पाँच वर्षभित्र सबै प्रतिवद्धता पूरा गर्नेतर्फको योजना बनाउनमा आफू लागेको उहाँको भनाई छ ।

२७ हजार दुई सय दुई मत ल्याएका रानाले आफ्नो निकटतम प्रतिद्वन्द्वी डा. राणा देउवालाई चार हजार आठ सय ८० मतको फराकिलो मतान्तरले पराजित गर्नुभएको थियो । त्यहीभएर उहाँ एकाएक राजनीतिक बृत्तको चर्चामा छाउनुभयो ।

विकासे योजनाहरुलाई दीर्घकालिन र अल्पकालीनको आधारमा वर्गीकरण गरी सम्बोधन गर्ने उहाँको कार्ययोजना रहेको छ । हेर्नुहोस् सांसद रानाथारुको एजेण्डाहरु ।

१. रानाथारुलाई सुचीकरण गर्ने
अलग्गै भाषा, संस्कृति, रहनसहन रहेको रानाथारु समुदायको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहदै आएको छ । थारु समुदायसंग मिल्दोजुल्दो रहनसहनकैकारण हालसम्म थारु समुदायको कित्तामा रानाथारुलाई राखिदै आएको छ । तर आफुहरु अलग्गै जातिय समुदाय भएको भन्दै वर्षौदेखि आदिवासी जनजातिको सुचीमा समावेशको माग उनीहरुले गर्दै आएका छन् ।

हालको आमनिर्वाचनमा सुचीकरणको मुद्दा जोड्दार रुपमा उठ्यो । सांसद रानाथारुले सुचीकरणबाट वञ्चित रानाथारु समुदायलाई सुचीकरण गर्ने आफ्नो प्राथमिकताको योजना रहेको बताउनुहुन्छ । उहाँले सरकार गठनसंगै सुचीकरणको प्रक्रियालाई अगाडि बढाने बताउनुभएको छ ।

२. गौरीफन्टा नाकाको स्तरोन्नती
यस क्षेत्रमा वर्षौदेखि गौरीफन्टा नाकालाई स्तरोन्नतीको सवाललाई विभिन्न राजनीतिक दल तथा नेताहरुको चुनावी एजेण्डा बन्दै आएको छ । चाहे बामगठबन्धनका नेता हुन् चाहे

काँग्रसका नेता, सबैले गौरीफन्टाको सवाल भजाएकै छन् । आरजु राणा देउवा, नारदमुनि राना, लेखराज भट्ट, भिम रावलहरुको प्रमुख चुनावी एजेण्डा गौरीफन्टा नाका लामो समयदेखि बन्दै आएको छ ।

निर्वाचित भैसकेपछि नारदमुनि रानाले यस मुद्दालाई पाँच वर्षभित्रै पूरा गरी छाड्ने अठोटका साथ लाग्नुभएको छ । नेपाल भारत सीमा नाकामा पर्ने यस नाकालाई वीरगंजस्थित भन्सार नाकाको रुपमा स्तरोन्नती गर्न दुई देशीय सहमतिको आधारमा विस्तृत नाकाको रुपमा विकास गर्ने उहाँको प्रतिवद्धता छ ।

३. गेटा विमान स्थलको स्तरोन्नती
गौरीफन्टाको सवालजस्तै धेरै उठ्ने सवाल गेटा विमानस्थलको स्तरोन्नतीको सवाल हो । कसै–कसैले त अन्तर्राष्ट्रिय विमान स्थलकोरुपमा विकास गरिनुपर्ने भन्दै चुनावी एजेण्डा समेत बनाएको पाइन्छ । सांसद रानाले विमानस्थलको स्तरोन्नतीको पहिलो चरणमा मर्मत सम्भारको काम गर्ने बताउनुभएको छ ।

त्यसकालागि आवश्यक तयारी भैसकेको बताउँदै उहाँले गाडी पार्किंग व्यवस्थापनसंगै रात्रीकालीन उडानकालागि आवश्यक पूर्वाधार जडानको कार्य पनि चालु वर्षमै पूराहुने बताउनुभयो ।

४. मुक्तकमैया, कमलरी, हलियाको व्यवस्थापन
कैलाली निर्वाचन क्षेत्र नं ५ मा हरेक निर्वाचन क्षेत्रमा थारु समुदायका मतदाताहरु निर्णायक बन्दै आएका छन् । यी समुदायमा व्याप्त वेरोजगारी, अशिक्षा, गरिबीकाकारण प्रभावमा पार्न सक्ने भन्दै दल तथा उम्मेदवारहरुले हरेक किसिमका हत्कण्डा अप्नाउदै आएका छन् । उम्मेदवारहरु पनि के हेक्का राख्दै आएका छन् भने, थारु मतदाताहरु जता धल्क्यो उतैको पल्ला भारी हुँदो रहेछ । त्यसैले सबैको बक्र दृष्ष्टिमा मुक्तकमैया, कमलरी र हलियाको मुद्दा पर्दछन् ।

निर्वाचन जितिसकेपछि मुक्तकमैया, कमलरी र हलियाको मुद्दा सम्बोधन गर्नुपर्छ भन्ने सांसद नारदमुनिलाई नैतिक दवाव सिर्जना भएको  छ । परिचय पत्र नपाएकाहरुलाई परिचयपत्र दिने, जग्गा पाउन बाँकीलाई लालपूर्जासहितको जग्गा वितरण गर्ने लगायत योजना पाँच वर्षभित्र पूरा गर्ने योजना रानाथारुको छ ।

५. अन्य योजना
शिक्षा, स्वास्थ्य, यातायात कृषि, रोजगारी, पर्यटन प्रवद्र्दन लगायतको मुद्दा पनि जल्दोबल्दो चुनावी मुद्दा हो । प्रायः सबैले उठाउने यो मुद्दा सांसद नादरमुनिले पनि जोड्दार तरिका उठाउनुभएको छ ।

को हुन् सांसद रानाथारु ?

वि.स. २०२९ साल बैशाख १९ गते बुवा रतिराम रानाथारु र आमा सुदामादेवी रानाथारुको कोखबाट धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको मध्यमवर्गीय परिवारमा जन्मेका रानाथारु बाल्य अवस्थादेखि नै लगनशील, क्रान्तिकारी स्वभावको हुनुहुन्थ्यो ।

स्कूले शिक्षा धनगढी माध्यमिक विद्यालयबाट लिएका रानाथारु कैलाली बहमुखी क्याम्पस धनगढीबाट राजनीतिशास्त्रमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गर्नुभयो ।

सांसद राना खेलकुद क्षेत्रमा पनि उत्तिकै शौकिन हुनुहुन्थ्यो । विभिन्न खेलकुद तथा प्रतियोगितामा सहभागिता जनाइ हाल्ने रानाथारु २०४६ देखि २०४८ को अवधीमा तेकवान्डो, कराते र वक्सिंगको च्याम्पियन भैसकेका थिए ।

यूवा अवस्थादेखि विभिन्न रचनात्माक गतिविधि तथा वैचारिक कार्यक्रममा बस्न रुचाउने राना क्याम्पस अध्ययनकैक्रममा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय हुनुभयो । फलतः २०४५ सालमा तत्कालीन अखिल छैठौंबाट विद्यार्थी राजनीति सुरु गर्नुभयो । त्यसपछि २०४८ सालदेखि नेकपा एमालेनिकट विद्यार्थी संगठन हुँदै टोल कमिटी, नगर कमिटी, जिल्ला कमिटी, केन्द्रीय कमिटीको जिम्मेवरी निर्वाह गर्नुभयो । हाल नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएका रानाथारु अहिले केन्द्रीय मन्त्रीको दौडमा लाग्नुभएको छ ।

क्याम्पस अध्ययनताका मुलधारको राजनीतिमा होमिएकै बेला २०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपमेयरको लागि उम्मेदवारी दिनुभयो । उक्त निर्वाचनमा उहाँले सो पदमा निर्वाचित हुनुभयो ।

साभारः लोकान्तरबाट

तपाईको प्रतिक्रिया