
काठमाडौं, फागुन २ गते । थारु कल्याणकारिणीसभाका पूर्व अध्यक्ष समाजसेवी अष्टभूजाप्रसाद चौधरीको बुधबार ८२ वर्षको उमेरमा आफ्नै निवास भैरहवामा निधन भएको छ । चौधरी वि.सं. १९९२ मा जन्मभएको थियो ।
पूर्व अध्यक्ष चौधरी सुगर र उच्च रक्तचापका विरामी हुनुहुन्थ्यो । उहाँको अन्तिम दाहसंस्कारको तयारी भइरहेको सभाका महासचिव अमिरीलाल चौधरीले बताउनुभयो । चौधरी २०६३ देखि २०६६ सम्म सभाको केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ अध्यक्ष हुँदा राजकुमार लेखी सभाको महामन्त्री हुनुहुन्थ्यो ।
पूर्व महामन्त्री लेखीकाअनुसार चौधरीका तीन छोरा छन् । चौधरी सभाको अध्यक्ष रहँदा थारु अधिकारका विषयमा महत्वपूर्ण योगदान दिनुभएको लेखीले स्मरण गर्नुभयो । आफ्नै निवास भैरहवामा साँझ ५ बजे उहाँको निधन भएको नेता लेखीले बताउनुभयो । स्वर्गीय चौधरीको विहिबार विहान त्रिवेणीमा अन्तिम संस्कार गरिने बताइएको छ । पूर्व अध्यक्ष चौधरीप्रति थारु अगुवाहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि अर्पण गरेका छन् ।




