नेपाली राजनीतिमा अर्को ब्रेकथ्रु, नेपाल कम्युनिष्ट पार्टी बनाउने सहमति


लक्की चौधरी
काठमाडौं, फागुन ७ गते । वाम गठबन्धनमा आवद्ध दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरु रहेको पार्टी एकता संयोजन समितिको बैठकले सातबुँदे सहमति गर्दै नेपाली राजनीतिमा अर्को ब्रेकथ्रु गरेका छन् । सातबुँदे सहमति गरी नेपाल कम्युनिष्ट पार्टी बनाउने प्रारम्भिक आधार तयार गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ ८ बजेबाट ११ बजे रातीसम्म गरेको छलफलबाट सो आधार तयार गरेको हो । सहमतिपत्रमा संयोजन समितिका आठजना नेताले हस्ताक्षर गर्नुभएको छ । सहमतिको एक नम्बर बुँदामा एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने उल्लेख छ । त्यस्तै, सहमतिको दुई नम्बर बुँदामा पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद रहने सहमति दुवै दलले गरेका छन् ।

सोहीअनुसार सहमतिको बुँदा नं. ३ मा एमालेले अवलम्बन गर्दैआएको जनताको बहुदलीय जनवाद (जवज) ले अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गरेको र माओवादी केन्द्रले पनि शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत नै श्रेष्ठता हासिल गरेको समान धारणाका आधारमा अघि बढ्ने सहमति नेताहरुले गरेका छन् । त्यसकालागि जवज, एक्काइसौं शताब्दीको जनवादलाई विधिसम्मतरुपले छलफल र वहस गरी परिमार्जन गर्ने सहमतिमा दुवै दल पुगेका छन् ।

सोही आधारमा टेकी अन्तरिम राजनीतिक प्रतिवेदन र अन्तरिम विधान तयार गरी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गर्ने सहमति दुवै दलले गरेका छन् । त्यस्तै, सहमतिको बुँदा नम्बर ६ मा प्राप्त उपलब्धीहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई सुदृढ गर्दै मुलुकको सामाजिक, आर्थिक रुपान्तरणमार्फत समाजवादको आधार निर्माण गर्ने सहमतिपत्रमा उल्लेख छ ।

सहमतिको सातौ नम्बरमा आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनकारुपमा समझदारीकासाथ भव्यरुपमा सम्पन्न गर्ने दुवै दलका नेताहरु तयार भएका छन् । सहमतिपत्रमा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गर्नुभएको छ । त्यस्तै, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ ।

दुवै दलका नेताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाउने सहमतिसँझै अब नेकपा (एमाले) को ‘एमाले’ र नेकपा माओवादी केन्द्रको ‘माओवादी केन्द्र’ हट्ने छ । नेकपा नामको नयाँ पार्टीमा स्थायी, पोलिटव्यूरो र केन्द्रीय कमिटी रहने र त्यसको नेतृत्व दुवै दलका अध्यक्षले गर्ने सहमति दुवै दलबीच बनेको छ ।

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा अर्को ब्रेकथ्रु भएको बताउनुभयो । उहाँकाअनुसार पार्टी नेतृत्व र सरकार दुवैमा आलोपालो हुने तर त्यसको समयसीमाबारे मौखिक सहमति बनेको छ ।

एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमकाअनुसार एकजनाले सरकारको नेतृत्व सम्हाल्ने र अर्कोले पार्टीको जिम्मेवारी सम्हाल्ने जेन्टलमेन्ट एग्रीमेन्ट भएको छ । सो विषय सातबुँदे सहमतिमा उल्लेख नभए पनि नेताहरुबीच मौखिक सहमति भएको उपाध्यक्ष गौतमले बताउनुभयो ।

संयोजन समितिका सदस्य एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमकाअनुसार एकजनाले सरकारको नेतृत्व सम्हाल्ने र अर्कोले पार्टीको जिम्मेवारी सम्हाल्ने जेन्टलमेन्ट एग्रीमेन्ट भएको छ । सो विषय सातबुँदे सहमतिमा उल्लेख नभए पनि नेताहरुबीच मौखिक सहमति भएको उपाध्यक्ष गौतमले बताउनुभयो । दुवै दलका अध्यक्षहरु सहसंयोजकको जिम्मेवारीमा रहने नेता गौतमले जानकारी दिनुभयो ।

त्यस्तै, नेता गौतमकाअनुसार फागुन मसान्तभित्रै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने गृहकार्यकालागि नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।

बैठकमा एमालेकोतर्फबाट प्रधानमन्त्री ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वरिष्ठ उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेलको सहभागिता थियो । त्यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, जनार्दन शर्माको सहभागिता थियो ।

दुईवटा कार्यदल गठनः
एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमकाअनुसार बैठकले १०–१० जना सदस्य रहनेगरी दुईवटा कार्यदल गठन गरेको छ । एउटा कार्यदलका संयोजकमा एमालेबाट माधवकुमार नेपाल र माओवादीबाट नारायणकाजी श्रेष्ठ रहनुभएको छ । त्यसमा थप ८ जना दुवै दलका नेताहरु सदस्यकारुपमा रहनुहुनेछ । सो कार्यदलको नाम राजनीतिक प्रतिवेदन तयार गर्ने कार्यदल रहेको छ ।

त्यस्तै, अर्को कार्यदलको संयोजक एमालेबाट ईश्वर पोखरेल र माओवादी केन्द्रबाट देव गुरुङ रहनुभएको छ । त्यसमा पनि दुवै दलकागरी ८ जना थप सदस्य रहनु हुनेछ । सो कार्यदलको नाम अन्तरिम विधान तथा संगठनात्मक संरचना तयार गर्ने कार्यदल रहेको छ ।

वालुवाटारमा उपेन्द्रको प्रवेश
पार्टी एकता संयोजन समितिको बैठक चलिरहेकाबेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रवेशलाई महत्वकासाथ हेरिएको छ । गत विहिबार प्रधानमन्त्रीमा शपथ लिनुभएका प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद विस्तारको क्रममा रहँदा अध्यक्ष यादवको प्रवेश वालुवाटारमा भएपछि सो दल पनि सरकारमा सहभागी हुने विश्वास गरिएको छ ।

अध्यक्ष यादव यसअघि वाम गठबन्धन दलले संविधान संशोधनको एजेण्डामा सकारात्मक भए सरकारमा सहभागी हुनसक्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । वाम गठबन्धनदलको नेतृत्वमा बनेको सरकारमा मधेसवादी शक्तिलाई सरिक गराउने चाहना छिमेकीमुलुक भारतको समेत रहेको बुझिएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको शपथ नखाँदै भारतीय विदेशमन्त्री सुष्मा स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर नेपाल भ्रमणमा आउनुभएको थियो ।

भ्रमणकाक्रममा स्वराजले एमाले अध्यक्ष ओलीसँग घण्टौं एक्लाएक्लै छलफल गर्नुभएको थियो । उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी, राजपा, फोरम नेपालका नेताहरुसँग सामुहिक छलफल गर्नुभएको थियो । स्वराजको भ्रमणपछि मधेसवादी शक्तिहरु ओली नेतृत्वको सरकारमा जान सकारात्मक भएका थिए ।

अध्यक्ष यादव करिब एक घण्टा बालुवाटारमा छलफल गरी नौबजेतिर बालुवाटारबाट बाहिरिनुभएको थियो । तर उहाँले मिडियालाई कुनै प्रतिक्रिया दिनुभएन ।

मन्त्रिपरिषद विस्तार हुने
दुवै दलबीच पार्टी एकताको आधार तयार भएपछि माओवादी केन्द्रले दलको तर्फबाट सरकारमा सहभागी हुने निर्णय गरेको छ । त्यसकालागि सम्भवतः मंगलबार माओवादीले दलको तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्री ओलीलाई दिनेछ । नाम प्राप्त भएपछि मन्त्रीपरिषद सम्भवतः मंगलबार साँझसम्म विस्तार हुनसक्ने उपाध्यक्ष गौतमले बताउनुभयो । माओवादी र एमालेबाट केही मन्त्री थपेर मन्त्रिपरिषद विस्तार हुने गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया