नेपाल–भारत प्रबुद्ध समूहको म्याद जुलाईसम्म, थाल्यो मस्यौदाको काम


काठमाडौं, फागुन १३ गते । नेपाल–भारत प्रबुद्ध समूह (इमिनेन्ट पर्सन्स ग्रुप–इपीजी) मा आवद्ध सदस्यहरुले नेपाल र भारतबीचको दुई पक्षीय विविध विषयको अध्ययन छलफलपछि प्रतिवेदनकालागि मस्यौदाको काम शुरु गरेका छन् ।

शनिबारदेखि काठमाडौंमा शुरुभएको समूहको बैठकले छलफलबाट टुङ्गिएको विषयलाई लिपिबद्ध गर्न लागिएको बताएको छ । आगामी जुलाई ५ सम्म समयावधि तोकिएको समूहका सदस्यले सो अघि नै नेपाल–भारतको समस्या र त्यसको समाधानार्थ सुझावसहितको प्रतिवेदन तयार गरिसक्ने बताएका छन् । यसअघि छवटा बैठक बसिसकेका समूहका सदस्यहरुले यो सातौं बैठकबाट मस्यौदाकाकाम शुरु गरेका हुन् ।

समूहको बैठकमा सन् १९५० को दुईपक्षीय मैत्रीपूर्ण सन्धीको पुनरावलोकन, दुई पक्षीय पारवाहन, खुला सिमाना, सुरक्षा, व्यापार, आर्थिक सामाजिक विषय, जलस्रोत र त्यसको उपयोग आदि विषयमा गम्भीर बौद्धिक छलफलपछि सोको समाधान गर्नेगरी सुझावसहितको प्रतिवेदन दुवै देशको सरकारलाई बुझाइने नेपालको तर्फबाट समूहको सदस्य रहनुभएका संविधानविद निलाम्बर आचार्यले बताउनुभयो ।

“दुवै देशको दुईपक्षीय हित हुनेगरी विविध विषयमा बौद्धिक वहसपछि त्यसको समाधानको सुझावसहितको प्रतिवेदन बुझाउने जिम्मेवारीअनुसार काम भएको छ, आगामी जुलाईमा नेपाल र भारतका दुवै सरकारलाई सो प्रतिवेदन बुझाउँछौं” सदस्य आचार्यले भन्नु   भयो । यसअघिको छवटा बैठकमा छलफल र संवादमात्र भएको र सातौं बैठकबाट मस्यौदाकोकाम थालिएको उहाँले बताउनुभयो ।

दुई वर्षे समयावधि तोकिएको समूहको सन् २०१६ जुलाई ४ मा पहिलो बैठक काठमाडौंमा बसेको थियो । समूहको समयावधि सन् २०१८ जुलाई ५ मा समाप्त हुँदैछ । सोअघि नै जिम्मेवारीको सबै काम सम्पन्न गर्ने तयारीअनुसार काम भइरहेको आचार्यले बताउनुभयो ।

करिब पाँच महिना समयावधि बाँकी रहेको प्रबुद्ध समूहको कामको प्रकृतिअनुसार बैठकको आयोजना गर्ने सदस्यहरुले बताएका छन् । यसअघि प्रायः तीन महिनामा एक पटक बैठक बस्ने कार्यतालिका निर्माण गरी छलफल गरेका सदस्यहरुले तोकिएको समयावधिभित्र काम सक्न आवश्यकता परेमा महिना दिनमा बैठक गर्नसक्ने बताएका छन् ।

प्रायः तीन महिनामा एक पटक बैठक बस्ने कार्यतालिका निर्माण गरी छलफल गरेका सदस्यहरुले तोकिएको समयावधिभित्र काम सक्न आवश्यकता परेमा महिना दिनमा बैठक गर्नसक्ने बताएका  छन् ।

बैठक बस्दा आलोपालो प्रणालीअनुसार एक पटक नेपाल र अर्कोपटक भारतमा बस्ने कार्यतालिकाअनुसार बैठक सञ्चालन हुुँदैआएको छ । यसअघि छैठौं बैठक भारतको नयाँ दिल्लीमा बसेको समूहले सातौं बैठक नेपालमा आयोजना गरेका हुन् । यसपछि पुनः आठौं बैठक भारतमा बस्ने तयारी समूहले गरेको छ ।

शनिबारको प्रवुद्ध समूहको बैठक सौहाद्रपूर्ण तरिकाले भएको र छलफलपछि निस्केको निचोडलाई मस्यौदा गर्ने कामको थालनी गरिएको सदस्य आचार्यले बताउनुभयो । समूहको दुई दिनको छलफल र मस्यौदाको प्रगतिबारे जानकारी दिन समूहले आइतबार २ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको आचार्यले जानकारी दिनुभयो ।

प्रबुद्ध समूहमा दुवै देशको चार–चारजना वौद्धिक व्यक्तित्वहरु आवद्ध हुनुहुन्छ । समूहमा नेपालको तर्फबाट कुटनीतिज्ञ तथा पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, परराष्ट्रविद डा. राजन भट्टराई, संविधानविद निलाम्बर आचार्य र कानूनविद सूर्यनाथ उपाध्याय सदस्य रहनुभएको छ ।

त्यस्तै भारतीय पक्षबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्तप्रसाद, प्राध्यापक महेन्द्र पि. लामा र भुवनचन्द्र उप्रेती सदस्य रहनुभएको छ । यो सातौं बैठकमा जयन्तप्रसादको उपस्थिति छैन । उहाँको स्वास्थ्यअवस्थामा समस्या आएपछि बैठकमा सहभागी हुन नसक्नुभएको सदस्य आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया