
काठमाडौं, फागुन १३ गते । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुईजना थारु समुदायबाट मन्त्री बन्ने सम्भावना बढेर गएको छ । थारु अगुवाले थारु मन्त्री बनाउने माग गरिरहँदा माग पूराहुने संकेत मिलेको छ ।
नेकपा (एमाले) कैलाली क्षेत्र ५ बाट निर्वाचित नारदमुनी रानाथारुलाई मन्त्रीको लिष्टमा राखेको छ । रानाथारुले शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवालाई करिब पाँचहजार मतान्तरले पराजित गर्नुभएको थियो । रानाथारुलाई शिक्षा तथा खेलकुद मन्त्री बनाउने सम्भावना बढेको एमाले निकट स्रोतले बताएको छ ।

त्यस्तै, माओवादी केन्द्रले अमनलाल मोदी थारुलाई मन्त्री बनाउने तयारी गरेको छ । मोरङ ४ बाट निर्वाचित मोदीले कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यलाई भारी मतले पराजित गर्नुभएको थियो । मोदी थारुलाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बनाउने तयारी माओवादीले गरेको केन्द्रका एक नेताले बताउनुभयो ।
यसअघि प्रदेश सरकारमा एमाले र माओवादीबाट एक एकजना मन्त्री बनिसक्नुभएको छ । प्रदेश ५ बाट बैजनाथ चौधरी र प्रदेश ७ बाट विनिता चौधरी प्रदेशमन्त्रीको शपथ लिइसक्नुभएको छ । त्यस्तै, एमालेले पूर्व कमलरी कृष्णी थारुलाई प्रदेश ५ को उपसभामुख बनाएको छ ।




