
लक्की चौधरी
काठमाडौं, फागुन १४ गते । नेपाल–भारत प्रबुद्ध समूह (इमिनेन्ट पर्सन्स ग्रुप–इपीजी) को दुई दिने बैठक सम्पन्न भएको छ । समूहको अर्को आठौं बैठक मार्च अन्तिम (चैतको अन्तिम) तिर नयाँ दिल्लीमा बस्ने समूहका सदस्यले बताएका छन् ।
शनिबारदेखि शुरुभएको समूहको सातौं बैठक आइतबार सम्पन्न भएपछि समूहका सदस्यहरुले बैठक उत्साहप्रदरुपमा सम्पन्न भएको बताउनुभयो । २१ औं शताब्दीअनुरुप दुई देशबीचको आपसी सहकार्य र सम्बन्धलाई कायम गर्नेगरी प्रतिवेदन तयारीको कार्य शुरुभएको पत्रकार सम्मेलनमार्फत सदस्यहरुले जानकारी दिनुभयो ।
नेपालको तर्फबाट समूहका संयोजक डा. भेषबहादुर थापाले बैठक दुई देशबीचको समझदारीलाई अझ प्रगाढ बनाउने विषयमा गम्भीर छलफल भएको बताउनुभयो । “हिजोको मैत्रीपूर्ण सन्धीलाई आजको समयानुकुल परिमार्जन गर्नेगरी दुवै देशका सदस्यबीच छलफल र सहमति बनेको छ, हाम्रो प्रतिवेदन दुई देशको आपसी हितमै केन्द्रीत छ” थापाले भन्नुभयो ।
त्यस्तै, प्रबुद्ध समूहको भारतको तर्फबाट प्रतिनिधित्व गर्ने समूहका संयोजक भगतसिंह कोश्यारीले दुई देशबीचको समझदारी र सहमतिसँगै दुवै देशको आगामी विकासमा सहकार्य गर्नेगरी प्रतिवेदन तयार हुने बताउनुभयो । हामीले तयार गर्ने प्रतिवेदन दुवै देशका सरकारकालागि महत्वपूर्ण सुझावसहितको दस्तावेज हुने दावी उहाँले गर्नुभयो ।
“दुई राष्ट्रका प्रमुखबीच त पटक पटक भेटवार्ता र छलफल हुन्छ तर दुवै देशका बौद्धिक व्यक्तित्वहरुबीच यत्ति गम्भीर छलफल भएको यो पहिलो पटक हो, हामीलाई पूर्णतः विश्वास छ, हाम्रो प्रतिवेदनले दुवै देशको हित गर्नेछ” कोश्यारीले भन्नुभयो । सन् १९५० को मैत्रीपूर्ण सन्धीको पुनरावलोकन, जलस्रोतको व्यवस्थापन तथा सदुपयोग, पारवाहन सन्धीलाई दुवै देशको हितअनुकुल बनाउनेमा सहमति बनेको कोश्यारीले बताउनुभयो ।
खुलासिमानाका कारण निम्तिएको सुरक्षा चुनौति, दुई देशबीचको व्यापार, सांस्कृतिक तथा सामाजिक सुसम्बन्ध, कनेक्टिभिटी, सूचना प्रविधिको विकास र दुई देशबीच आइपर्ने कुनै पनि समस्या समाधानका लागि दुई पक्षीय हितलाई ध्यान दिएर सुझावसहितको प्रतिवेदन बुझाउने सदस्यहरुले बताउनुभयो ।
त्यस्तै, नेपालको तर्फबाट समूहका सदस्य रहनुभएका डा. राजन भट्टराईले अहिलेसम्म भएको छलफलबाट सहमति बनेको विषयलाई मस्यौदाको काम शुरुभएको बताउनुभयो । उहाँकोअनुसार समूहको अर्को बैठक मार्च अन्तिमतिर नयाँ दिल्लीमा बस्नेछ । दुवै देशका जनताको चतनास्तर समयानुकुल बढेकाले दुवै देशबीचको सम्बन्ध अहिलेको अवस्थाअनुकुल हुनुपर्छ भन्नेमा हामीहरु सहमत भएका छौं भन्दै उहाँले सोहीअनुसारको सुझावसहितको प्रतिवेदन तयार भइरहेको बताउनुभयो ।
बैठकमा दुवै देशको खुला सिमाना र त्यसको व्यवस्थापन, खुलासिमानाका कारण निम्तिएको सुरक्षा चुनौति, दुई देशबीचको व्यापार, सांस्कृतिक तथा सामाजिक सुसम्बन्ध, कनेक्टिभिटी, सूचना प्रविधिको विकास र दुई देशबीच आइपर्ने कुनै पनि समस्या समाधानका लागि दुई पक्षीय हितलाई ध्यान दिएर सुझावसहितको प्रतिवेदन बुझाउने सदस्यहरुले बताउनुभयो ।
प्रबुद्ध समूहमा नेपालको तर्फबाट कुटनीतिज्ञ तथा पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, परराष्ट्रविद डा. राजन भट्टराई, संविधानविद निलाम्बर आचार्य र कानूनविद सूर्यनाथ उपाध्याय सदस्य रहनुभएको छ ।
त्यस्तै भारतीय पक्षबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्तप्रसाद, प्राध्यापक महेन्द्र पि. लामा र भुवनचन्द्र उप्रेती सदस्य रहनुभएको छ । सातौं बैठकमा जयन्तप्रसादको उपस्थिति थिएन । स्वास्थ्यअवस्थामा समस्या आएपछि जयन्तप्रसाद बैठकमा सहभागी हुन नसक्नुभएको हो ।




