भएका नेता इमान्दार भए मुलुक उहिल्यै बनिसक्थ्योः जनसंख्या मन्त्री पण्डित


काठमाडौं, फागुन १५ गते । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले पदले नेता धेरै भएपनि हाम्रो यहाँ मनका नेता थोरै भएकाले मुलुकको परिवर्तन नभएको बताएका छन् । ‘भएका नेताजति सबै मनका धनीभए मुलुक उहिल्यै बनिसक्थ्यो’ उनले टिप्पणी गरे ।

नेकपा (एमाले) पूर्व संगठन विभाग प्रमुख जीवराज आश्रितको शालिक अनावरण कार्यक्रममा मंगलबार यहाँ बोल्दै मन्त्री पण्डितले त्यस्तो बताए । नेता जीवराज र मदन भण्डारी साच्चिकै मनका धनी र मुलुककोनिम्ति आवश्यक नेता भएपनि बचाउन नसकिएको उनले बताए । “उहाँहरु दुवै आजसम्म जीवित भएको भए मुलुकले उहिल्यै कोल्टे फेरिसक्थ्यो” मन्त्री पण्डितले भने ।

“नेता आश्रित र भण्डारीको मनमा विभेद र घमण्ड भन्ने शब्दै थिएन, मुलुककानिम्ति साच्चिकै इमान्दार र निष्ठावान नेता हुनुहुन्थ्यो” पण्डितले स्मरण गरे । हाम्रा नेता र केही व्यूिक्तहरुसँग धेरै सम्पत्ति छ, कुवेरकोजस्तो धन छ तर समाज बनाउने मन छैन, मन भएकासँग पर्याप्त धन छैन पण्डितले थपे, “देशले केही गरेर देखाउने व्यक्तिको खोजी गरिरहेको छ ।”

इमान्दारितापूर्वक जनता र सबैको साथ पाए आफूले एक वर्षमा धेरै काम गरेर देखाउने प्रतिवद्धता पनि मन्त्री पण्डितले गरे । “इमान्दारितापूर्वक सबैको साथ पाए एक वर्षमा काठमाडौंलाई मास्करहित शहर बनाउने मेरो अठोट छ, म जे भन्छु त्यही गरेर देखाउँछु” मन्त्री पण्डितले भने, “आगामी वैशाख १ गतेदेखि काठमाडौंमा धुवाँ फ्याल्ने थोत्रा गाडीमा प्रतिबन्ध लाग्छ ।” प्लाष्टिकको विकल्पको खोजी आफूले गरिरहेको उनले बताए ।

देश र जनताको हितमा हुने जस्तोसुकै चुनौतिपूर्ण काम गर्न तयार छुँ भन्दै मन्त्री पण्डितले भने, “जनताको हितमा छ भने म आगोको मुस्लोमात्र हैन, ज्वालामुखीसँग लड्न तयार छुँ ।”

देश र जनताको हितमा हुने जस्तोसुकै चुनौतिपूर्ण काम गर्न तयार छुँ भन्दै मन्त्री पण्डितले भने, “जनताको हितमा छ भने म आगोको मुस्लोमात्र हैन, ज्वालामुखीसँग लड्न तयार छुँ ।” प्रकृतिको अनुपम उपहार नेपाल भएकाले यसलाई त्यहीरुपमा विकास गर्न आवश्यक रहेको भन्दै उनले भने, “विदेशमा गएका नेपालीलाई स्वदेश फर्काएर विदेशी पाहुनाको मनोरम थलो नेपाललाई बनाउन सकिन्छ ।”

राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले जनताको मनमा बस्न सफल मन्त्री पण्डितको सिको अरु मन्त्री र नेताले पनि गर्नुपर्ने बताइन् । आफ्नै इमान्दारिता र योग्यताले मन्त्री पण्डित जनताको नेता बन्न सफल भएको भन्दै आयुक्त तिम्सिनाले मन भए मुलुक बनाउन गाह्रो नभएको बताइन् ।

राधिका ट्रष्टद्वारा आयोजित शालिक अनावरण कार्यक्रममा वडाअध्यक्ष शुद्धकुमार डंगोलले जनताले चाहेकोजस्तो मुलुकको समृद्धि गर्नेबेला आएको बताए । ट्रष्टकी अध्यक्ष राधिका पोखरेलले समाजकानिम्ति सकेको सबैले गर्न आवश्यक रहेको बताइन् ।

आश्रितका श्रीमती माया ज्ञवालीले मुलुक बनाउने सपना बोकेका जीवराजको सपना साकार गर्न सबै इमान्दारितापूर्वक काम गर्न आवश्यक रहेको बताइन् । सो अवसरमा मन्त्री पण्डितले स्वर्गीय जीवराज आश्रितको नवनिर्मित शालीकको अनावरण गरे ।

तपाईको प्रतिक्रिया