संघीय संसदको बैठक तयारीः राजपाद्वारा रेशम चौधरीलाई शपथको माग


लक्की चौधरी
काठमाडौं, फागुन १६ गते । संघीय संसदको पहिलो बैठक तयारीका सम्बन्धमा संसदमा प्रतिनिधित्व गर्ने पाँचदलको नेताहरुको बुधबार बसेको बैठकले अन्तरिम कार्यविधिका विषयमा छलफल गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसदमा दिउँसो बसेको बैठकमा २१ गते बस्ने संसद बैठकको कार्यसूची, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सञ्चालनका लागि संसद सचिवालयले तयार गरेको अन्तरिम कार्यविधिको विषयमा छलफल भएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमकाअनुसार संघीय संसदको पहिलो बैठक बस्नुअघि २० गते प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरुको शपथग्रहण कार्यक्रम तय गरिएको छ । त्यसकालागि प्रतिनिधिसभा र राष्ट्रियसभाका ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोहिदिन पहिले नै शपथ लिनेछन् । सोपछि ज्येष्ठ सदस्यले दुवै सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको सचिवालयले बताएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका महेन्द्रराय यादव (८०) र राष्ट्रियसभाका लागि ज्येष्ठ सदस्य कांग्रेसकी तरादेवी भट्ट (६३) ले पहिले शपथ लिनेछन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका महेन्द्रराय यादव (८०) र राष्ट्रियसभाका लागि ज्येष्ठ सदस्य कांग्रेसकी तरादेवी भट्ट (६३) ले पहिले शपथ लिनेछन् ।

बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै एमाले नेता तथा प्रतिनिधिसभा सदस्य भानुभक्त ढकालले संघीय संसदको आगामी बैठक र त्यसको तयारीको विषयमा छलफल भएको बताउनुभयो । प्रतिनिसभाको सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचनका विषयमा छलफल भएको बताउनुभयो । संविधानअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाको सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन गराउने व्यवस्था छ ।

माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले संघीय संसदको अन्तरिम कार्यविधिको विषयमा सामान्य छलफल भएको बताउनुभयो । संसद सचिवालयले तयार गरेको अन्तरिम कार्यविधिको मस्यौदा अध्यययनका लागि दलका नेताहरुलाई वितरण गरिएको र त्यसको अध्ययनपछि पुनः २० गते विहान १० बजे बैठक बसेर त्यस विषयमा निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. गौतमकाअनुसार शपथ ग्रहणको विषयमा छलफल भएको छ । मातृभाषामा समेत सांसदहरुले शपथ लिनेगरी सचिवालयले तयारी गरेको बताउँदै उहाँले त्यसकालागि १७ गतेसम्म निवदेन दिने समयसीमा तोकिएको बताउनुभयो ।

मातृभाषामा शपथ लिन चाहने सांसदले सचिवालयमा निवेदन दिएर त्यसलाई उल्थागरी कागजात उपलब्ध गराउनुपर्ने प्रवक्ता गौतमले बताउनुभयो । अहिलेसम्म हिन्दी, मैथली, भोजपुरी, थारु भाषाको गरी १० जना सांसदले निवेदन दिएको जानकारी दिनुभयो ।

प्रवक्ता गौतमकाअनुसार सबै राष्ट्रिय दलका प्रतिनिधि सांसदहरुलाई सचिवालयले तयार गरेको अन्तरिम कार्यविधिको मस्योदा अध्ययनकालागि वितरण गरिएको र अध्ययनपछि २० गते विहान पुनः बस्ने बैठकमा त्यसको निर्णय हुने प्रवक्ता गौतमले बताउनुभयो ।

प्रवक्ता गौतमकाअनुसार सबै राष्ट्रिय दलका प्रतिनिधि सांसदहरुलाई सचिवालयले तयार गरेको अन्तरिम कार्यविधिको मस्योदा अध्ययनकालागि वितरण गरिएको र अध्ययनपछि २० गते विहान पुनः बस्ने बैठकमा त्यसको निर्णय हुने प्रवक्ता गौतमले बताउनुभयो ।

राष्ट्रिय पोशाक लगाउने र मातृभाषामा शपथ लिने विषयमा सांसदहरुले बैठकमा प्रस्ताव राख्नुभयो, विगतमा पनि यस्तो परम्परा रहेकाले त्यसलाई छुट दिने कुरा भयो प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

रेशम चौधरीलाई शपथ गराउन मागः
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का वृकेशलाल कर्णले कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य रेशम चौधरीलाई शपथको व्यवस्था गर्न बैठकमा माग गरिएको बताउनुभयो । जनताबाट निर्वाचित सांसदलाई सरकारले सुरक्षाको भरपर्दो व्यवस्था गरी शपथको व्यवस्था मिलाउन सरकारसँग माग गरेको उहाँले जानकारी दिनुभयो । चौधरी अहिले पुर्पक्षकालागि धनगढी कारागारमा हुनुहुन्छ ।

प्रतिनिधिसभाको बैठक २१ गते ४ बजेकालागि आव्हान गरिएको छ भने राष्ट्रिय सभाको साँझ ५ बजेकालागि बैठक आव्हान भएको छ । प्रतिनिधिसभामा २७५ जना र राष्ट्रिय सभामा ५९ जना सदस्य रहेका छन् । ज्येष्ठ सदस्यले सोही दिन सबै सदस्यहरुलाई शपथ खुवाउने कार्यक्रम छ ।

बैठकमा नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ, भानुभक्त ढकाल र शेरबहादुर कुँवरको सहभागिता थियो । त्यस्तै, माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, देव गुरुङ र दीनानाथ शर्माको सहभागिता थियो । त्यस्तै, कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, तारादेवी भट्ट र डिला संग्रौलाको सहभागिता थियो ।

सोहीअनुसार संघीय समाजवादी फोरमबाट उमाशंकर अरगरियाको सहभागिता थियो भने राजपा नेपालबाट महेन्द्र यादव र वृकेशलाल कर्णको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया