संघीय संसदको अधिवेशन आजबाट, रेशम चौधरीले शपथ लिन नपाउने


लक्की चौधरी
काठमाडा्रैं, फागुन २० गते । तीनै तहको निर्वाचन सम्पन्न भएपछिको करिब तीन महिनापछि आइतबारबाट संघीय संसदको पहिलो अधिवेशन शुरु हुँदैछ । निर्वाचित जनप्रतिनिधिहरुको शपथसँगै सो अधिवेशन शुरु हुन लागेको हो । बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले बताएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमकाअनुसार दुईजना ज्येष्ठ सदस्यको शपथग्रहण आजै दिउँसो १ बजे राष्ट्रपति भवन शितलनिवासमा हुँदैछ । सोपछि ज्येष्ठ सदस्य राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव र कांग्रेसकी तारादेवी भट्टले बाँकी सांसदहरुलाई अपरान्ह ४ र ५ बजे बस्ने छुट्टाछुट्टै बैठकमा शपथ खुवाउने छन् । प्रतिनिधिसभाका सदस्यहरुले अपरान्ह ४ बजे र राष्ट्रिय सभाका सदस्यहरुले अपरान्ह ५ बजे शपथ लिनेछन् ।

अन्तर्राष्ट्रिय सम्मेलनकेन्द नयाँ बानेश्वरमा बैठक आव्हान गरिएको छ । संसदको बैठक २१ गतेकालागि यसअघि नै आव्हान भइसकेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ८ गते नै संवैधानिक व्यवस्थाअनुसार बैठक आव्हान गरेकी थिइन् । गत मंसिर १० र २१ गते प्रतिनिधिसभा सदस्यकालागि निर्वाचन भएको थियो भने माघ २४ गते राष्ट्रियसभा सदस्यकालागि निर्वाचन भएको थियो ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचिन १६५ र समानुपातिकबाट ११० गरी २७५ जनाले आइतबार शपथ लिंदैछन् । त्यस्तै, राष्ट्रिय सभाको ५६ जनाले मात्र आज शपथ लिन पाउनेछन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित तीनजनालाई तत्कालकालागि शपथ नखुवाउने सर्वोच्चको आदेशअनुसार डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलले आज शपथ लिन पाउने छैनन् ।

रेशम चौधरीले शपथ नहुने
फौजदारी मुद्दा लागेका सांसद नवराज सिलवालले शपथ लिने भएपनि कैलाली १ बाट निर्वाचित रेशमलाल चौधरी भने आइतबार शपथ लिन नपाउने संसद सचिवालयले बताएको छ । अहिलेसम्म चौधरीको शपथबारेमा कहीं कतैबाट सचिवालयलाई जानकारी नआएको र उनी पुर्पक्षकालागि थुनामा रहेकाले शपथ नहुने सचिवालयका प्रवक्ता डा. गौतमले बताए ।

सांसद सिलवाल वाम गठबन्धनदलको शनिबारको प्रशिक्षण कार्यक्रममा पनि नयाँ बानेश्वरमा सहभागी थिए । सिलवालका बारेमा अनेक टिकाटिप्पणी भइरहँदा टीकापुर घटनाको आरोपी रेशम चौधरीलाई पनि निर्वाचित प्रमाणपत्र प्रदानगरी शपथमा सहभागी गराउनुपर्ने उनको पार्टी राजपाले माग गरेको छ । तर सोबारे केही सुनुवाई भएको छैन ।

४४ जनाले मातृभाषामा शपथ लिने
संघीय संसद सचिवालयकाअनुसार आइतबार हुने शपथमा १० भाषाका ४४ जना सांसदले आफ्नै मातृभाषामा शपथ लिनेछन् । मैथिली, भोजपुरी, थारु, मगर, हिन्दी, तामाङ, अवधि लगायतको भाषामा शपथ लिने तयारी सांसदहरुको छ । सोहीअनुसार राष्ट्रियसभाका ६ जना सदस्यले पनि मातृभाषामा शपथ लिने डा. गौतमले बताए ।

कार्यविधि स्वीकृत हुँदै
संसद सचिवालयले दलका नेताहरुको परामर्शमा तयार गरेको संसद सञ्चालन गर्ने अन्तरिम कार्यविधि आइतबारको बैठकले स्वीकृत    गर्दैछ । विहान १० बजे नयाँ बानेश्वरमा बस्ने राष्ट्रिय पार्टीको मान्यता पाएका पाँच दलका प्रतिनिधिहरुको बैठकले सो मस्यौदा र बैठकको कार्यसूची स्वीकृत गर्ने सचिवालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

संविधानअनुसार संसदमा दुई सदन रहने व्यवस्था छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा । यी दुवै सदनलाई संघीय सदन भनेर चिनिन्छ । पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख तथा उपसभामुख र राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया