
काठमाडौं, फागुन २५ गते । प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखका लागि उहाँको मात्र उम्मेदवारी परेपछि महरा निर्विरोध हुनुभएको हो । औपचारिक घोषणा भने भोलि (आइतबार) हुनेछ ।
महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने प्रतिवद्धता जनाउनु भयो । महराको प्रस्तावकमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ रहेका छन् । माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
भाग्यमानी महरा
माओवादी केन्द्रका कृष्णबहादुर महरालाई माओवादी मूलधारको राजनीतिमा आएपछि कहिल्यै महत्वपूर्ण पदबाट विमुख हुनु परेन ।
उहाँ अहिलेसम्म चार पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री र पाँच पटक सांसद बनिसक्नुभएको छ ।
२०४८ सालमा जनमोर्चाबाट पहिलोपटक उहाँ सांसद बन्नुभएको थियो । त्यसपछि पुनर्स्थापित संसद, २०६४, २०७० र २०७४ मा सांसद बन्नुभयो ।




