
लक्की चौधरी
काठमाडौं, चैत २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दैहुनुहुन्छ । अपरान्ह ४ बजे शितल निवासमा पद तथा गोपनीयताको कार्यक्रम तय भएको छ । सरकार विस्तार हुँदा नेकपा (एमाले), नेकपा माओवादी (केन्द्र) र संघीय समाजवादी फोरमबाट मन्त्री थपिनेछन् ।
मन्त्रीपरिषद विस्तारकै विषयमा प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सहमति बनेको छ । एमालेबाट यसअघि प्रधानमन्त्रीसहित चार जनाले सरकारमा सहभागिता जनाइसक्नुभएको छ ।
शुक्रबार हुने मन्त्रीपरिषद विस्तारमा प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, प्रेम आलेमगर, रघुवीर महासेठ, रविन्द्र अधिकारी, भानुभक्त ढकाल, छविलाल विश्वकर्मा मन्त्री हुने सम्भावना रहेको स्रोतले जानकारी दियो । एमाले स्थायी कमिटीले आफ्नो पार्टीका तर्फबाट मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दिएको छ ।
माओवादी केन्द्रले पनि मन्त्रीको टुंगो लगाउन विहिबार पार्टीको बैठक आयोजना गरेको थियो । प्रवक्ता पम्फा भुषालले बैठक मन्त्रीका विषयमा केन्द्रीत भएर छलफल भएको र मन्त्री सिफारिश गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको जानकारी दिनुभयो ।
माओवादीमा जनार्दन शर्मा ‘प्रभाकर’, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, विना थापामगर, गिरिराजमणि पोखरेललाई मन्त्री बनाउने विषयमा छलफल भैरहेको छ । माओवादीबाट यसअघि रामबहादुर थापा बादलले गृहमन्त्रालय र मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हालिरहनु भएको छ । माओवादीलाई भागवण्डामा सातवटा मन्त्रालय परेको छ ।
यसअघि एमालेबाट लालबाबु पण्डित, थममाया थापा, ईश्वर पोखरेल र डा. युवराज खतिवडा सरकारमा सहभागी भइसक्नुभएको छ । अव विस्तार हुने सरकारमा एमालेबाट चार जनाले मन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ । दलीय सहमतिअनुसार एमालेको भागमा नौ मन्त्रालय परेको छ ।
फोरम नेपाल पनि शुक्रबार हुने मन्त्रीपरिषद विस्तारमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । फोरम नेपाल अध्यक्ष यादवकै नेतृत्वमा सरकारमा जाने तयारी गरिरहेको छ । मन्त्रालयको विषयमा अझै निर्णय भइ नसके पनि अध्यक्ष यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणु यादव मन्त्री बन्ने चर्चा छ । भागबण्डामा फोरमले दुई वटा मात्रै मन्त्रालय पाउने सम्भावना छ ।
यसअघि एमालेबाट लालबाबु पण्डित, थममाया थापा, ईश्वर पोखरेल र डा. युवराज खतिवडा सरकारमा सहभागी भइसक्नुभएको छ । अव विस्तार हुने सरकारमा एमालेबाट चार जनाले मन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ । दलीय सहमतिअनुसार एमालेको भागमा नौ मन्त्रालय परेको छ ।
यसअघि पहिलो र दोस्रो चरणमा मन्त्रीपरिषद विस्तार गर्दा अध्यक्ष ओलीले ‘सरप्राइज’ दिनु भएकाले अहिले पनि मन्त्री को–को बन्नेमा एकिन भइनसकेको एमाले नेताको दावी छ । यद्यपि कृष्णगोपाल श्रेष्ठ, नारदमुनी रानाथारु, पद्मा अर्याल, योगेश भट्टराईले पनि मन्त्रीकालागि लविङ गरिरहनु भएको छ ।
फागुन ३ गते प्रधानमन्त्रीको शपथ लिनुभएका अध्यक्ष ओलीले त्यही दिन तीन सदस्यीय मन्त्रीपरिषद गठन गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले फागुन १४ गते दोस्रो पटक मन्त्रीपरिषद विस्तार गर्नुभएको थियो ।
थपिएका मन्त्रालयहरुमा सिँचाई, युवा तथा खेलकुद र श्रम तथा रोजगार छन् । शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद फुटाइएको छ र अब शिक्षा र युवा तथा खेलकुद अलग लजग मन्त्रालय भएका छन् । श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई फुटाइएको छ । अब श्रम तथा रोजगार र महिला तथा बालबालिका अलगअलग मन्त्रालय भएका छन् ।
राजपा सरकारमा नजाने
प्रधानमन्त्री ओलीले फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई समेत सरकारमा सहभागी गराउने प्रयास गर्नु भए पनि राजपा तत्काल सकारमा नजाने भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा जाने ठोस आधार तयार भइनसकेकाले तत्काल सरकारमा सहभागी नहुने बताउनुभयो । तर सरकारलाई बाहिरबाटै समर्थन गर्ने उहाँले जानकारी दिनुभयो ।
संविधान संशोधन गर्ने विषय र कैलाली १ का प्रतिनिधिसभा सदस्य रेशम चौधरीको विषयमा सरकारसँग ठोस सहमति भएपछि मात्रै सरकारमा सहभागिताका विषयमा छलफल हुने जानकारी उहाँले दिनुभयो ।




