
काठमाडौं, चैत २४ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैठौं महाधिवेशको दोस्रो दिन बन्दसत्र आज (शनिबार) हुँदैछ । बन्दसत्रले ३७ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
काठमाडौं प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लवको सभाकक्षमा महाधिवेशनको उदघाटन उपपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार गरेका थिए । कार्यक्रममा पुनले लोकतन्त्र बलियो भएमात्र नेपाली सञ्चारमाध्यम बलियो हुने भन्दै लोकतन्त्र र समावेशी समानतालाई संस्थागत गर्नेगरी कलम चलाउन जनजाति पत्रकारलाई आग्रह गरे ।
नेपाली मिडिया अझै आवाज विहिनको आवाज बन्न नसकेको बताउँदै उपपराष्ट्रपति पुनले मिडियाकर्मीलाई उत्पीडितहरुको पक्षमा कलम चलाउन आग्रह गरे । पछाडि परेका वर्गको अधिकारको विषयमा कलम चलाउँदा राष्ट्रिय पहिचान, अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता नखल्बल्याउने तर्फ सचेत रहन पनि उनले पत्रकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाली मिडियालाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन मिलेर काम गर्न पत्रकारलाई आग्रह गरे । मिडियाको दक्षता अभिबृद्धिमा सरकार सहयोग गर्न तयार रहेको तर मिडियाकर्मीहरु आफू पनि पेशा व्यवसायप्रति जिम्मेवारीबोध गर्नुपर्ने उनले आग्रह गरे ।
फोनिजका अध्यक्ष डण्ड गुरुङको सभापतित्वमा भएको कार्यक्रममा आदिबासी जनजाति महासंघका अध्यक्ष जगत बराम, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पत्रकार उजीर मगर लगायतले नेपाली पत्रकारिता र पत्रकारको समस्या, चुनौति र अवसरका बारेमा चर्चा गरेका थिए ।
नयाँ नेतृत्व चयन हुनेः
फोनिजको महाधिवेशनले तीन वर्षकालागि नयाँ नेतृत्व चयन गर्नेछ । शनिबार विहान ८ बजेबाट शुरुभएको बन्दसत्रबाट सम्भवतः सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको अध्यक्ष मण्डलका सदस्य वीषण राईले बताए । आदिबासी जनजाति पत्रकारबीचको एकताको सन्देश दिन पनि नेतृत्व सर्वसम्मत गर्ने प्रयास गरिएको राईले बताए ।
नयाँ नेतृत्वकालागि अध्यक्षमा पुनः डण्ड गुरुङ दोहोरिने सम्भावना छ । त्यस्तै, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (खुला), उपाध्यक्ष (महिला), तीनजना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी ११ जना पदाधिकारीमा पनि सर्वसम्मतको प्रयास हुने अध्यक्ष मण्डलका सदस्य खिम घलले बताए ।
फोनिजको पाँच विदेश शाखा र ४९ जिल्ला शाखासहित ५४ शाखा रहेका छन् । त्यस्तै, आठवटा विभिन्न जातीय पत्रकार संगठन आवद्ध छन् । महाधिवेशनमा साढे तीनसय प्रतिनिधिको सहभागीता रहेको अध्यक्ष गुरुङले बताए ।
अध्यक्ष मण्डलले शनिबार विहान ९ः३० मा उम्मेदवारी मनोनयन दर्ताको समय तय गरेको छ । त्यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाकाशन १ः४५ बजे र मतदान ३ः३० बजेकालागि समय निर्धारण गरेको छ । अहिले वरिष्ठ उपाध्यक्षकालागि गजुरधन राई, उपाध्यक्ष (खुला) मा लक्की चौधरी, उपाध्यक्ष (महिला) मा देविका घर्तीमगर, महासचिवमा मनोज घर्तीमगर, अमरध्वज लामा, सचिवहरुमा छेटु शेर्पा, जगत दोङ, एक्सन राई, कोषाध्यक्षमा जीवन लामा, लाला गुरुङ, अन्जना शिल्पकार लगायतले दावी गरिरहेका छन् ।
फोनिजको पाँच विदेश शाखा र ४९ जिल्ला शाखासहित ५४ शाखा रहेका छन् । त्यस्तै, आठवटा विभिन्न जातीय पत्रकार संगठन आवद्ध छन् । महाधिवेशनमा साढे तीनसय प्रतिनिधिको सहभागीता रहेको अध्यक्ष गुरुङले बताए ।
फोनिजमा सातवटै प्रदेशबाट ७ जना प्रादेशिक इन्चार्ज, ८ जना जातीय पत्रकारको तर्फबाट संस्थागत सदस्य, खुला सदस्य ५, महिला ४, अल्पसंख्यक २ जना सदस्य रहने विधानमा व्यवस्था छ । २०५६ सालमा स्थापना भएको फोनिजमा अहिले देशभरबाट करिब तीनहजार जनजाति पत्रकार आवद्ध छन् ।




