
लक्की चौधरी
काठमाडौं, वैशाख २६ गते । वैदेशिक मामिलाका जानकारहरुले नेपाल–भारतबीच ऐतिहासिककालदेखि सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहँदै आएपनि त्यसलाई परिमार्जन गर्दै समानताका आधारमा सम्बन्ध बनाउन आवश्यक रहेको बताएका छन् ।
सेन्टर फर डिप्लोमेसी एण्ड डेभलेपमेन्ट संस्थाको आयोजनामा बुधबार यहाँ आयोजित नेपाल–भारत सम्बन्धः अवसर र चुनौति विषयक कार्यशाला गोष्ठीमा जानकारहरुले त्यस्तो धारणा राखेका हुन् । दुई देशबीचको सम्बन्ध बहुआयामिक रहेपनि त्यसबाट नेपालले तात्विक लाभ लिन नसकेको वक्ताहरुको भनाई थियो ।
राजनीतिकरुपमा दुई देशबीच सन्धी सम्झौता हुने गरेपनि त्यसको व्यावहारिक कठिनाई नेपाली जनताले भोग्दै आएको बताउँदै वक्ताहरुले दुई देशबीचको सम्बन्धकालागि आपसी सामिप्यता, विश्वास बढाउनु नै सबैभन्दा उत्तम हुने सुझाव दिए । “नेपाल–भारतबीचको असल सम्बन्धकालागि ‘गुडविल’ बन्न जरुरी छ, त्यसले सम्बन्धलाई दिगो बनाउँछ” जानकारहरुले भने ।
संयुक्त राष्ट्रसंघकालागि नेपालकोतर्फबाट पूर्व स्थायी सदस्य डा. जयराज आचार्यले नेपाल–भारत सम्बन्ध विषय नै ‘भाष्ट’ रहेकाले कुनै एक विषयको चर्चा गरेर सम्भव नहुने बताए । कुटनीतिक भाषामा कुरागर्दा एकअर्का देशबीचको सम्बन्धकालागि पहिले ‘गुडवील’ बन्न आवश्यक रहेको उनले चर्चा गरे । राजनीतिकस्तरमा नेपाल–भारतबीच सहमति गर्न सहज भएपनि त्यसको व्यावहारिक कठिनाई रहेको उनले बताए ।
“नेपाल–भारतबीचको असल सम्बन्धकालागि ‘गुडविल’ बन्न जरुरी छ, त्यसले सम्बन्धलाई दिगो बनाउँछ” जानकारहरुले भने ।
प्राध्यापक तथा भारतकालागि पूर्व नेपाली राजदूत लोकराज बरालले नेपाल–भारतबीचको सम्बन्ध विभिन्न आयाममा रहेपनि सुमधुर सम्बन्धकालागि आपसी विश्वास हुनुपर्ने बताए । छिमेकीबीच सम्बन्धमा बेलाबखत चुनौति आउनु सामान्य रहेपनि दुई देशबीचको सामिप्यता र विश्वास नै दिगो सम्बन्धको आधार हुने उनले चर्चा गरे ।
नेपाल एकीकरणकाबेला पृथ्वीनारायण शाहले भनेको ‘दुई ढुङ्गाबीचको तरुल’ को अहिलेको अवस्थाअनुसार व्याख्या हुन आवश्यक रहेको बरालले बताए । भारतीय प्रधानमन्त्री काठमाडौंबाट भ्रमण शुरु गरुन् या जनकपुर कुटनीतिकरुपले केही अन्तर नरहेको बताउँदै उनले अनावश्यक टिप्पणी गर्नुले सम्बन्धमा खलल पुग्ने टिप्पणी गरे ।
भारतकालागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले भारतभन्दा नेपाल भौगोलिकरुपमा सानो भएपनि सार्वभौमिकरुपले समान हैसियत रहेको तर्क गरे । नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय कानूनका हिसावले नेपालको हैसियत भारतभन्दा कुनै अर्थमा कमजोर नरहेको उनले चर्चा गरे । खुलासीमा र सुरक्षा चुनौतिको विषयलाई सम्बोधनकालागि भ्रमणकाबेला नेपाल सरकारलाई कुरा गर्न उनले सुझाव दिए ।
वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले नेपाल–भारतको सम्बन्धलाई राम–रावरणको युद्धसँग तुलना गरे । “राम र रावणको युद्ध कस्तो थियो ? राम र रावणको युद्धजस्तै थियो, भनेजस्तै नेपाल–भारतको सम्बन्ध पनि त्यस्तै हो” उनले भने । खुला सीमाकाकारण सुरक्षा चुनौति थपिएजस्तै सीमा क्षेत्रमा भारतले बनाएको बाँधले नेपालीहरु प्रताडित भइरहेको विषयमा नेपालले भारतीय सरकारसँग कुरा गर्नुपर्ने उनले बताए ।
पूर्व सचिव ज्ञानचन्द्र आचार्यले नेपाल–भारतबीच बहुआयामिक सम्बन्ध रहेपनि बेलाबेलामा आउने चुनौति र समस्याबाट पाठ सिक्दै सम्बन्ध सुधारमा नयाँ प्रयासको खाँचो औल्याए । दुई देशबीचको आपसी सम्बन्धकालागि सामिप्यता र विश्वास अनिवार्य रहेको उनले बताए । भारत भौगोलिक हिसावले नेपालभन्दा धेरै ठूलो भएपनि कुटनीतिक सम्बन्धका हिसावले नेपाल र भारतमा कुनै भिन्नता नरहेको चर्चा गरे ।
प्रधानमन्त्रीका पूर्व परराष्ट्रविज्ञ तथा पत्रकार गोपाल खनाले दुई देशीचको सम्बन्धको प्रमुख थ्रेट खुला सीमाना रहेको बताए । नेपालको २६ ठाउँमा गरी ६० हजार विघा जमिन विभिन्न कारणले भारततिर गएको चर्चा भइरहेको बताउँदै उनले त्यसविषयमा दुई देशबीचको आपसी सहमतिमा खोजी गर्नुपर्ने बताए । भारतले नेपाली सिमानाकाको १५ ठाउँमा उच्च बाँध बाँधेर नेपालीलाई दुःख दिईरहेकाले त्यस विषयले पनि भ्रमणकाक्रममा प्रवेश पाउनुपर्ने सुझाव दिए ।
ब्राजिलका लागि पूर्व नेपाली राजदूत प्रद्यम्नविक्रम शाहले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा लिपुलेकको विषयमा छलफल गर्नुपर्ने बताए । प्रबुद्ध व्यक्ति समूहको बैठकमा सन् १९५० को सन्धीको विषयमा छलफल भएपनि त्यसमा परिमार्जनकालागि राजनीतिकतवरमै सहमति बन्न आवश्यक रहेकाले सरकारलाई त्यसमा छलफल गर्न सुझाव दिए ।




