
लक्की चौधरी
काठमाडौं, जेठ ३ गते । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई पार्टीको एकतापछि संघीय संसदमा आफूहरुको एक्लै आरामदायी बहुमत भएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
मदन–आश्रितको २५ औं स्मृति दिवसको अवसरमा विहिबार एमाले पुरानो पार्टी मुख्यालय वल्खु प्राङ्गणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो प्रतिवद्धता जनाए । दुई दलको एकताले नै अवको नेपाल कता जान्छ भन्ने तय भएको छ प्रधानमन्त्री अोलीले भने, “दुई कम्युनिष्ट दलको एकताले नेपालको सुखद भविष्यको दर्ता गर्ने काम भएको छ ।”
“ढुक्क हुनुहोस् दमनकारी होइन, विकासकारी हुनलाई एकता गरिएको हो, शासन गर्नलाई हैन सेवा गर्नलाई एकता गरिएको हो, भ्रष्टाचार गर्नलाई हैन त्यसको नियन्त्रण र सुशासन कायम गर्नलाई पार्टी एकता गरिएको हो” एमाले अध्यक्ष समेत रहेका ओलीले प्रष्ट पारे ।
“कांग्रेसलाई साथै लिएर हिड्ने छौं, सबै मिलेर देश बनाउने छौं, साथसाथै समृद्ध नेपाल र सुखी नेपालीको यात्रा पूरा गर्छौं” प्रधानमन्त्री ओलीले भने, “आग्रहपूर्ण मूल्य मान्यता अव सबैले त्यागौं, कम्युनिष्टहरु मिल्न जान्दैनन्, फुट्न मात्र जान्दछन् भन्ने अव रहेन, कम्युनिष्टहरु अव फुट्न हैन, जुटनमात्र जान्दछन् ।”
ओलीले भने, “मदनले लिएको सानो गोरेटोबाट आज नेपालको कम्युनिष्ट ‘छ लेन’को बाटोजस्तो फरोकिलो भइसकेको छ, यसमा हामीलाई गर्व छ ।”
दुई दल मिलाएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अव नयाँ उचाई लिने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले भने, “हाम्रो काँधमा गहन जिम्मेवारी आइपरेको छ, शालिनताकासाथ सबैलाई समेटेर अघि बढ्नेछौं ।” मदन–आश्रितले देख्नुभएको सुदृढ नेपाल र सुखी नेपालीको सपना सफल बनाउने उनले सो अवसरमा प्रतिवद्धता व्यक्त गरे ।
“पार्टी कहिले मिल्छ, कहिले फुट्छ यस्तै हो अव हैन, यसले नेपालको राजनीति, समाजनीति, अर्थतन्त्र, भविष्य, संस्कृतिको उचाईलाई अनेक कोणबाट प्रभाव पार्नेछ, दूरगामी महत्व राख्नेछ” प्रधानमन्त्री ओलीले भने, “मदनले लिएको सानो गोरेटोबाट आज नेपालको कम्युनिष्ट ‘छ लेन’को बाटोजस्तो फरोकिलो भइसकेको छ, यसमा हामीलाई गर्व छ ।” सो अवसरमा एमाले अध्यक्ष ओलीले मदन–आश्रित दुवैप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रितलाई गुमाउनु परेको दिनलाई नै पार्टी एकता गरेर सन्देश दिने प्रस्ताव आफूले राखेको बताए । दुई दलको एकताले नेपालको राजनीतिमा नयाँ रुपान्तरण, नयाँ उदाहरण प्रस्तुत गर्ने उनले विश्वास व्यक्त गरे ।
नेपाली आमाको कोखबाट जन्मिनुभएको एक पात्र मदन भण्डारीले जनता र देशको भलाईका निम्ति आफूलाई समर्पित गर्नुभयो, यो हामी नेपालीका लागि गर्वको विषय हो अध्यक्ष प्रचण्डले भने, “मदन–आश्रितको निधनकै दिन पार्टी एकता गरेर विश्वलाई गतिलो सन्देश दिने प्रयास गरेका छौं, आजै पार्टी एकता घोषणा हुँदैछ ।” सो अवसरमा अध्यक्ष प्रचण्डले मदन–आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।
वि.सं. २०५० जेठ ३ गते नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो । एमालेले त्यस घटनालाई हत्याको संज्ञा दिएपनि अहिलेसम्म अपराधीबारे पत्ता लाग्न सकेको छैन ।
कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षमान पुन, जनार्दन शर्मा प्रभाकर, एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवहरु तथा अन्य पदाधिकारी, प्रदेश सरकारका प्रमुख, सांसदहरु तथा पार्टीका नेता एवं कार्यकर्ताहरुको बाक्लो उपपस्थिति थियो । सो अवसरमा मदन–आश्रितको तस्विरमा नेता तथा उपस्थित कार्यकर्ताले पुष्पगुच्छा अर्पण गरेर श्रद्धासुमन व्यक्त गरेका थिए ।




