
काठमाडौं, जेठ ७ गते । वौद्ध गुरु स्याङ्पा रिम्पोछेद्वारा लिखित ‘अवतारको रुपमा मेरो जीवनयात्रा’ पुस्तकको सोमबार यहाँ लोकार्पण गरिएको छ । कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले एक कार्यक्रमबीच पुस्तकको लोकार्पण गर्नुभयो ।
कानून मन्त्री तामाङले वुद्धको पथ नै शान्ति र ज्ञानकालागि रहेकाले रिम्पोछे सोही पथमा लागेर ज्ञान आर्जन गर्नुभएको बताउनुभयो । मुलुकको समृद्धि र विकासकानिम्ति शान्ति र सुखी नेपाली अनिवार्य रहेको बताउँदै मन्त्री तामाङले बुद्धत्वको पथमा लागेर नै मुलुकको समृद्धि सम्भव रहेको बताउनुभयो ।
नेपाली भूमिमा बुद्धजस्तो व्यक्तित्वको जन्महुनु आफैमा नेपाल र नेपालीका लागि अहोभाग्य रहेको बताउँदै मन्त्री तामाङले बुद्धको जन्मले नै नेपालीमा शान्तिको प्रेरणा मिलेको बताउनुभयो । हरेक उज्यालोको अस्तित्व अँध्यारोबाट प्राप्त हुने, सुखको अस्तित्व दुःखबाटै प्राप्त हुने भन्दै उहाँले सकारात्मक भावनाले नै मानवलाई सुशी र शान्त बनाउन सकिने चर्चा गर्नुभयो ।
पुस्तकले मानवलाई शान्तिको पथमा लाग्न उत्प्रेरित गरेको र शान्ति प्राप्तीको उपायबारे समेत सुझाएकाले पुस्तक संग्रहणीय र पठनीय भएको मन्त्री तामाङले बताउनुभयो । डोल्पाजस्तो दुर्गममा जन्मेर बुद्धत्व प्राप्त गर्नुभएका रिम्पोछेजस्ता व्यक्तित्वहरुको योगदानले नै मुलुकमा शान्तिको विकास कायम हुने उहाँले चर्चा गर्नुभयो । अव दुर्गम क्षेत्रको विकास र समुन्नति गरी समृद्धि कायम गर्नुपर्ने बताउँदै उहाँले कर्णालीजस्ता दुर्गम ठाउँको समुचित विकासले नै सुखी नेपालीको सपना सकार गर्न सकिने बताउनुभयो ।

सो अवसरमा पुस्तकका लेखक रिम्पोछेले आफ्नो दैनिक गतिविधिलाई लिपिबद्ध गर्दैजाँदा पुस्तकाकार रुप लिएको बताउनुभयो । पुस्तक लेख्ने उद्देश्यले आफू अघि नबढे पनि लेख्दैजाँदा पुस्तक तयार भएको बताउनुभयो । आफूले जीवनमा भोगेका र गरेका अनुभूतिको संगालो पुस्तक भएकाले पुस्तकमा आफ्नोबारे विस्तृत जानकारी रहेको उहाँले चर्चा गर्नुभयो ।
नागरिकको शिक्षाविना मुलुकको समृद्धि सम्भव नहुने भन्दै उहाँले मुलुकलाई पूर्णतः साक्षार बनाउन महिलालाई पहिले साक्षर बनाउन आवश्यक रहेको बताउनुभयो । आफ्नो जीवनकालमा मानवकालागि केही गर्ने इच्छा आफ्नो भएकाले बुद्धको पवित्र पथमा आफू लागेको उहाँले विश्वास दिलाउनुभयो ।
स्याङ्पा फाउण्डेशन, नेपालको आयोजनामा भएको कार्यक्रममा मानवशास्त्री डा. गणेश गुरुङ, संस्कृतिविद डा. जगमान गुरुङ, फाउण्डेशनका सदस्य राजबहादुर गुरुङ, अनिता गुरुङ लगायतले रिम्पोछेको जीवनी र योगदानबारे चर्चा गर्नुभएको थियो ।




