मुक्त कमैयाको उचित व्यवस्थानका लागि सरकारको ध्यानाकर्षण


काठमाडौं, जेठ १२ गते । प्रतिनिधि सभा सदस्य विष्णु शर्मा पौडेलले मुक्त कमैयाको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको    छ ।
सरकारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै दाङ १ का समानुपातिक प्रतिनिधि सभा सदस्य पौडेलले मुक्त कमैया घोषणाको १८ वर्ष पुग्न लाग्दा समेत मुक्त कमैयाहरुको सही व्यवसथापन हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
मुक्त कमैया घोषणा व्यवहारमा नदेखिएको पौडेलले बताउनुभयो । ‘म प्रदेश नम्वर ५ को प्रतिनिधित्व गरेर यो गरिमामय पदमा आएको छु । २०५७ सालमा तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले कमैया मुक्तिको घोषणा गरे पनि वास्तवमा उनीहरु मुक्त हुन सकेका छैनन्’, सांसद पौडेलले भन्नुभयो, ‘मुक्त कमैयाहरु जमिन्दारबाट मात्रै मुक्त भएका छन् ।
राजमार्गका महंगा जमिनबाट उठाएर उनीहरुलाई वगरमा लगेर राखिएको छ । उनीहरूको गास, बास, शिक्षा र आधारभूत आवश्यकता परिपूर्ति गर्ने व्यवस्था गरियोस् ।’
सहिद, बेपत्ता र घाइतेहरूलाई परिचय पत्र प्रदान गरी आगामी बजेटमा उनीहरुको शिक्षा, स्वास्थ्यको व्यवस्था गर्न सांसद पौडेलले माग गर्नुभयो । समृद्ध नेपाल, सुखी नेपालीको अवधारणासहित आएको सरकारको नीति तथा कार्यक्रमको सफल कार्यान्वयन भए आगामी पाँच वर्षपछि नेपाल समुन्नतिको मार्गमा पुग्ने भन्दै पौडेलले नीति तथा कार्यक्रम प्रभावकारी र जनपक्षीय भएको बताउनुभयो ।
पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई लिएर बिरोधका लागि बिरोध गर्ने प्रवृत्ती त्यागेर सरकारलाई सहयोग गर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो । नीति तथा कार्यक्रम वैज्ञानिक र यथार्थको नजिक भएको उहाँको भनाई थियो ।
‘नीति तथा कार्यक्रममा समेटिएका समान ज्याला, सबैको आय समान बनाउने, लैङ्गिक हिंसा बिरूद्ध अभियान चलाउनेखालका कार्यक्रम साह्रै सराहनीय छन्’, सांसद पौडेलले भन्नुभयो, ‘परम्परागतरूपमा रहेका सामाजिक कुरीति, कुप्रथा, बोक्सी, दाइजो, बलात्कार, चेलिबेटी बेचबिखनलगायतका सामाजिक अपराधका दोषीहरूलाई आजिवन कारावासको सजायको गर्न कानुनी व्यवस्था गरियोस् भन्ने आग्रह गर्दछु ।’

तपाईको प्रतिक्रिया