
काठमाडौं, जेठ १९ गते । भाषाका जानकार तथा विज्ञहरुले मातृभाषाको विकास र संरक्षणविना नागरिकको पहिचान कायम हुन नसक्ने भन्दै मातृभाषाको संरक्षण तथा प्रवद्र्धनमा जोड दिनुभएको छ ।
गोरखापत्र दैनिक अन्तर्गत रहेको वहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’का पृष्ठ संयोजक समितिले शनिबार यहाँ आयोजना गरेको गोरखापत्र नयाँ नेपाल वहुभाषिक पृष्ठको हिजो आज र भोलि विषयक अन्तरक्रियामा विज्ञहरुले त्यस्तो बताउनुभयो ।
गोरखापत्र संस्थानले बहुभाषिक पृष्ठ प्रकाशन गरेर मुलुकको भाषिक संरक्षणमा महत्वपूर्ण योगदान दिइरहेको बताउँदै वक्ताहरुले त्यसको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । गोरखापत्र दैनिक आफै पनि नेपाली पत्रकारिताको विरासत कायम गरेको र विभिन्न ३८ भाषाभाषिमा पृष्ठ प्रकाशन गरेर समावेशीताको हिसावले पनि इतिहास रचेको भनाई वक्ताहरुको थियो ।
नेपाल भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले गोरखापत्रको वहुभाषिक पृष्ठ प्रकाशनले नेपाली भाषा संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । मुलुकमा जातीय र भाषिक विविधता रहेकाले भाषाको संरक्षण अनिवार्य रहेको बताउँदै अध्यक्ष अवस्थीले भन्नुभयो, “हामी हाम्रो भाषा, संस्कृति, सभ्यताले सुन्दर बनेका हौं, त्यो नभए हामी नाङ्गिनथ्यौं ।”
भाषा र संस्कृतविना मुलुकको लोकतन्त्र र गणतन्त्र पनि संस्थागत हुन नसक्ने भन्दै उहाँले गोरखापत्रको योगदानलाई कम आँक्न नसकिने चर्चा गर्नुभयो । आयातित भाषा, संस्कृतिको शिकार नेपाली युवा भइरहेको बताउँदै उहाँले त्यसलाई निरुत्साहित गर्न नसके नेपालीको पहिचान मेटिने चिन्ता व्यक्त गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव प्रेमप्रसाद श्रेष्ठले गोरखापत्र अन्तर्गत प्रकाशित बहुभाषिक पृष्ठले मातृभाषा विकासमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो । गोरखापत्रको वहुभाषिक प्रकाशन र त्यसको व्यवस्थापनकालागि सञ्चार मन्त्रालयको तर्फबाट हुने सहयोग जारी रहने उहाँले प्रतिवद्धता जनाउनुभयो । अहिले विभिन्न आयोगहरु गठन भएको र तिनको उद्देश्य पनि भाषा संस्कृति संरक्षण गर्ने रहेकाले सहकार्य गरेर काम गर्न सकिने उहाँले सुझाव दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभागका प्रमुख प्रा.डा. दानराज रेग्मीले नेपालमा बोलिने सबै भाषाको अझै भाषा वैज्ञानिक अध्ययन हुन नसकेको बताउनुभयो । नेपालमा विभिन्न १२३ भाषा बोलिने भएपनि अहिलेसम्म ९६ वटा भाषाको मात्र अध्ययन भएको चर्चा गर्नुभयो ।
नेपालमा बोलिने विभिन्न भाषामध्ये ५६ प्रतिशत भाषा संकटमा रहेको उहाँले बताउनुभयो । केन्द्रीय भाषा विज्ञान विभाग अन्तर्गत जम्मा तीनजना विद्यार्थी भाषा विज्ञानमा अध्ययनरत रहेको बताउँदै उहाँले युवा पुस्तामा भाषाप्रति लगाव आउन नसके मातृभाषा समाप्त हुने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।
मातृभाषाका अध्यता अमृत योन्जनले अहिलेसम्म भाषा नीति बन्न नसकेको बताउँदै मातृभाषा संरक्षणमा राज्य नै उदासिन रहेको बताउनुभयो । गोरखापत्रले विभिन्न ३८ भाषाको पृष्ठ प्रकाशन गरेर मातृभाषा संरक्षणमा योगदान दिएको चर्चागर्दै उहाँले लोपोन्मुख थप भाषा पृष्ठ प्रकाशनमा जोड दिन सुझाव दिनुभयो । मातृभाषाको विकास र संरक्षणविना जातीय पहिचान कायम हुन नसक्ने भन्दै उहाँले युवा वर्गलाई सचेत हुन आग्रह गर्नुभयो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले वहुभाषिक पृष्ठ प्रकाशनको शुरुवात हुँदा आफू संस्थानको सदस्य सचिवको जिम्मेवारीमा रहेको स्मरण गर्नुभयो । नयाँ नेपाल विभागको व्यवस्थापन तथा कार्यरत संयोजक तथा सहसंयोजकको वृत्तिविकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पृष्ठ प्रकाशनबापतको पारिश्रमिक पनि समयानुकुल बृद्धि गर्न तयार रहेको बताउँदै उहाँले नयाँ नेपालमा हुने खर्च पारदर्शी गर्न छुट्टै खाता सञ्चालन गरिएको जानकारी दिनुभयो ।
आफू कसैको दवाव र प्रभावमा काम नगर्ने वल्की गोरखापत्रको कायापलट गर्ने उद्देश्यले महाप्रबन्धकको जिम्मेवारीमा आएको उहाँले प्रष्ट पार्नुभयो ।
गोरखापत्रलाई समयानुकुल प्रतिस्पर्धी बनाउन डिजिटल अर्काइभिङको काम शुरु गरिएको बताउँदै महाप्रबन्धक उपाध्यायले आफ्नै कार्यकालमा स्मार्ट गोरखापत्र २०१८ शुरु गरेको बताउनुभयो । आफू कसैको दवाव र प्रभावमा काम नगर्ने वल्की गोरखापत्रको कायापलट गर्ने उद्देश्यले महाप्रबन्धकको जिम्मेवारीमा आएको उहाँले प्रष्ट पार्नुभयो ।
नयाँ नेपाल विभागका संयोजक लक्की चौधरीले वहुभाषिक पृष्ठ प्रकाशनको ११ वर्ष लागेपनि सही व्यवस्थापन हुन नसकेको बताउनुभयो । गोरखापत्र संस्थान नेतृत्वले चासो नदिंदा त्यसको सही व्यवस्थापन गर्न नसकिएको बताउँदै संयोजक चौधरीले विभागका लागि छुट्याइएको रकम पारदर्शीरुपमा खर्च गरिनुपर्ने बताउनुभयो । गोरखापत्रको वहुभाषिक पृष्ठको स्तरीयताकालागि संस्थानले समय समयमा तालिम प्रशिक्षणको व्यवस्था गर्नुपर्ने र पृष्ठ संयोजक तथा सहसंयोजकहरुलाई जिम्मेवार बनाउन आवश्यक रहेको चर्चा गर्नुभयो ।
संयोजक समितिका अध्यक्ष अब्दुल सलाम खानको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव अजितमान तामाङ, आधिकारिक ट्रेडयुनियन गोरखापत्रका अध्यक्ष विष्णुप्रसाद खनाल, नेपाल पत्रकार महासंघ गोरखापत्र शाखाका कार्यबाहक अध्यक्ष शेखर चौलागाइँ, धिमाल भाषाका संयोजक सोम धिमाल, सुुनुवार भाषाकी पृष्ठ सहसंयोजक विमला सुनुवार लगायतले बोल्नुभएको थियो ।
२०६४ असोज १ गतेदेखि वहुभाषिक पृष्ठ प्रकाशन भइरहेको गोरखापत्रमा अहिले मासिक ३८ भाषाका पृष्ठ प्रकाशन हुँदैआएका छन् । गोरखापत्रमा हरेक दिन दुई भाषाका पृष्ठ प्रकाशन हुने गरेका छन् ।




