
लक्की चौधरी
काठमाडौंँ, असार २७ गते । वरिष्ठ साहित्यकार तथा कविवर मनिराज जोशी संस्कृति विधामा योगदान पुर्याएकोमा सरकारबाट सम्मानित हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आयोजित एक कार्यक्रममा सम्मानित गर्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रादेशिक प्रतिभा पुरस्कारबाट २४ जना स्रष्टालाई सो अवसरमा पुरस्कृत तथा सम्मानित गर्नुभयो । उहाँहरूलाई जनही ५० हजार नगद तथा सम्मानपत्र प्रदान गरियो । यसरी सम्मानित तथा पुरस्कृत हुनुहुनेहरुमा संगीत तथा नाट्य विधातर्फ प्रदेश १ देखि ७ सम्म क्रमशः नारायण ओली (संगीत) झापा, प्रियंका झा (नाटक) धनुषा, सुनिता दुलाल (गायन) भक्तपुर, इतु जोजिजु (गायन) कास्की, सरस्वती चौधरी (नाटक) बर्दिया, खर्कबहादुर बुढा (बाद्यबादन) सल्यान र सुधादेवी चाड (नृत्य) कैलाली हुनुहुन्छ ।
त्यस्तै, भाषा तथा साहित्य विधातर्फ प्रदेश १ देखि ७ सम्म क्रमशः प्रा. डा. भोलानाथ पोखरेल सुनसरी, विनित ठाकुर धनुषा, नरेन्द्र पौडेल सिन्धुपाल्चोक, महेश्वर शर्मा स्याङ्जा, डा. दुवीनन्द ढकाल गुल्मी, वलभद्र भारती सुर्खेत र चन्द्रदेव जोशी दार्चुला हुनुहुन्छ ।
ललितकला विधातर्फ प्रदेश १ देखि ७ सम्म क्रमशः गोपाल कलाप्रेमी मोरङ्, सीतादेवी कर्ण धनुषा, सौरगङ्गा दर्शनधारी काठमाडौं, सुनिल सिग्देल कास्की, नरेन्द्रप्रसाद भण्डारी गुल्मी, झिग्मे तामाङ मुगु र दीपक आउजी कैलाली हुनुहुन्छ ।
संस्कृति विधातर्फ सातवटै प्रदेशबाट क्रमशः प्रा. डा. गोविन्दमानसिंह कार्की भोजपुर, डा. पशुपतिनाथ झा धनुषा, उद्धवप्रसाद भट्टराई काभ्रे, डा. दीनबहादुर थापा बाग्लुङ र प्रतिभा पुन भैरहवा, रमानन्द आचार्य जुम्ला र मणिराज जोशी कैलाली हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले अहिले देश बनाउने अनुकूल वातावरण तयार भएकाले अब सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल बनाउने अठोट व्यक्त गर्नुभयो । नेपाल प्रतिभाहरूको धनी देश भएकाले युवालाई प्रोत्साहन र पाकालाई सम्मान गर्नुपर्छ भन्नुहुँदै उहाँले अत्यन्त प्रतिकूल समयमा पनि नेपाली जनतालाई जगाउन साहित्य र कलाको माध्यमबाट विशिष्ट योगदान पु¥याउनुभएका स्रष्टाहरूप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट ३८ जना स्रष्टाहरूलाई सम्मानित गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित राष्ट्रिय प्रतिभा पुरस्कारबाट १४ जना र प्रादेशिक प्रतिभा पुरस्कारबाट २४ जनालाई पुरस्कृत तथा सम्मानित गरिएको छ । प्रधानमन्त्री ओलीले कला, साहित्य, भाषाले देशको समृद्धिमा सहयोग गर्छ र भाषा, संस्कृति, कला देशका ऐना हुन् भन्नुभयो ।
‘हामी हल्ला र लहैलहैको पछि छैनौं, सिङ्गो राष्ट्र बनाउने महाअभियानमा सक्रिय रहेका छौं, सरकार सबै राजनीतिक दललाई साथ र सहयोग लिई विश्वासमा चल्ने’ बताउनुहुँदै प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्री पद सम्हालेको दिनदेखि नै आलोचना र समालोचना हुन सुरु गरे पनि स्वच्छ आलोचनादेखि आफू नडराउने र नतर्सिने बताउनुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयन गर्दै समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्य पूरा गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । सरकारले प्रतिपक्षलाई हेप्न वा पेल्न होइन वर्तमान सरकार सबैसँग मिलेर देश बनाउन चाहन्छ, भन्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गा उप्रेतीले पुरस्कारका लागि स्रष्टा चयनका लागि स्पष्ट मापदण्ड बनाएर स्रष्टाहरूको छनौट गरिएको बताउनुभयो ।
यसैगरी, भगत सर्वजित प्रतिष्ठानका अध्यक्ष छविलाल विश्वकर्माले नेपालका विभिन्न भूभागमा छरिएर रहेका तथा ओझेलमा परेका स्रष्टाको पहिचान गरी सम्मान गर्ने परम्पराले स्रष्टाको आत्मविश्वास बढ्छ भन्नुभयो । सम्मानित व्यक्तित्व विनय कसजुले स्रष्टाको सम्मानले कला र साहित्यको श्रीवृद्धिमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको त्यस कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय प्रतिभा पुरस्कारबाट संगीत तथा नाट्य विधामा प्रचण्ड मल्ल, भाषा तथा साहित्य विधामा प्रा.डा. केशवप्रसाद उपाध्याय, ललितकला विधामा ठाकुरप्रसाद मैनाली, संस्कृति विधामा प्रा.डा. रञ्जना बज्राचार्यलाई एक लाख रुपियाँ नगद पुरस्कारसहित सम्मानपत्रबाट सम्मानित गर्नुभयो । उहाँहरू चारैजना काठमाडौं निवासी हुनुहुन्छ ।
यसैगरी, महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्य क्षेत्रमा पु¥याउनुभएको अतुलनीय योगदानको कदरस्वरुप स्थापित ‘महाकवि देवकोटा पुरस्कार’ बाट कविता विधामा कञ्चन पुडासैनी, आख्यान विधामा अभि सुवेदी, निवन्ध विधामा तेजराज खतिवडा, भाषा साहित्य विधामा महेश्वर राय र बालसाहित्य तथा लोकसाहित्य विधामा विनय कसजु सम्मानित तथा पुस्कृत हुनुभयो । उहाँहरूलाई एक लाख रुपियाँ नगद पुरस्कारसहित सम्मानपत्रबाट सम्मानित गरियो ।
यस्तै, प्रधानमन्त्री ओलीले समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा अविस्मरणीय योगदान पु¥याउनुभएका भगत सर्वजितको कदरस्वरुप स्थापित ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार’ बाट दलित मुक्ति आन्दोलनको क्षेत्रमा पदमलाल विश्वकर्मा, समाज सुधार अभियानको क्षेत्रमा दलविर रसाईली तथा सीप, कला, शिक्षा–साहित्य, संस्कृति, लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रमा राजेन्द्र महर्जनलाई सम्मानित तथा पुरस्कृत गर्नुभयो । उहाँहरूलाई जनही एक लाख रुपियाँ नगद तथा सम्मानपत्रबाट सम्मानित गरियो ।
वरिष्ठ साहित्यकार गोपालप्रसाद रिमालले नेपाली साहित्यको श्रीवृद्धिमा पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै यसवर्ष स्थापित ‘गोपालप्रसाद रिमाल राष्ट्रिय प्रतिभा पुरस्कार’अन्तर्गत गोपाल प्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कारबाट काठमाडौंका नरेश शाक्य र गोपालप्रसाद रिमाल राष्ट्रिय नाटक पुरस्कारबाट प्रा.डा. मोहन हिमांशु थापा सम्मानित तथा पुरस्कृत हुनुभयो । उहाँँहरूलाई पनि प्रधानमन्त्री ओलीले नगद एक लाख रुपियाँसहित सम्मानित गर्नुभयो ।




