नेपालले चीनलाई दियो दुई गैंडा उपहार, सम्बन्ध थप मजबुद हुने विश्वास


काठमाडौं, असार २८ गते । नेपालले उत्तरी छिमेकी चीन सरकारलाई एक जोडी गैंडा उपहारस्वरुप प्रदान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार चिनिया प्रतिनिधिहरुलाई गैडा हस्तान्तरण गर्नुभयो ।

प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालचीन सम्बन्धलाई अझ व्यापक बनाउन गैडा उपहार सहयोग गरिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले दुई देश बीचको परम्परागत सम्बन्धलाई गैंडा उपाहारले थप मजवुद बनाएको बताउनुभएको छ ।

भृकुटी र अरनिकोबाट सुरु भएको नेपाल–चीन सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालका लागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी नामका गैंडाको जोडी हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरणपछि प्रधानमन्त्रीओलीले भन्नुभयो “भद्र र रुपसी चीनमा आफ्नै घरजस्तो गरी स्वास्थ्य ढंगले हुर्किने छन् । सन्तान वृद्धि गर्नेछन् ।” वन्यजन्तुको संरक्षणका लागि सरकार संवेदनशील रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि हामीले पूर्वदेखि पश्चिमसम्मका विभिन्न ठाउँमा आरक्षण र संरक्षण क्षेत्र बनाएका छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल वन्यजन्तु र चराचुरुंगीकालागि विशेष क्षेत्र भएको बताउनुभएको छ । साइवेरियादेखि श्रीलंकासम्मका चरा नेपालमा प्रजन्कालागि आउनु त्यसैको एउटा नमुना भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । दुई वर्षभन्दा कम उमेरका भद्र र रुपसी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको हो ।

तपाईको प्रतिक्रिया