पदमुक्त गुठी संस्थानका अध्यक्ष मिनराज चौधरीको पुनर्वहाली हुँदै


काठमाडौं, असार ३२ गते । सरकारको असार २२ गतेको निर्णयलाई सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि पदमुक्त हुनुभएका गुठी संस्थानका अध्यक्ष मिनराज चौधरीको पुनर्वहाली हुनेभएको छ ।

न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलाशले पदाधिकारी हटाउने निर्णय साउन १६ गतेसम्मका लागि कार्यान्वयन नगराउन भनी आइतबार अल्पकालिन आदेश जारी गरेपछि चौधरी सो मितिसम्म पुनर्वहाली हुन लाग्नुभएको हो । अध्यक्ष चौधरीले साउन १ गते कार्यालयमा पुनर्वहाली गर्ने बताउनुभयो ।

अध्यक्ष चौधरीसँगै पदमुक्त हुनुभएका गुठी संस्थानका प्रशासक नारायण चौधरीको पनि पुनर्वहाली हुनेभएको छ । न्यायाधीश शाहीको इजलाशले दिएको आदेशबारे सर्वोच्चमा १६ गते पुनः सरकारी पक्ष र निवेदकपक्षबीच छलफल हुनेछ । अदालतले दुवै पक्षलाई उपस्थित हुन आदेश गरेको छ ।

सरकारले असार २० गतेदेखि लागु हुनेगरी संस्थान, कम्पनी, गुठी संस्थान, कम्पनी लगायतका पदाधिकारीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । पदमुक्त पदाधिकारीहरु सर्वोच्चलाई गुहारेपछि सर्वोच्चले धमाधम पुनर्वहाली गरिरहेको छ ।

यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता लागेकाबेला पदाधिकारी नियुक्त गरेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले पदाधिकारीलाई हटाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया