पौने सात घण्टा ढिलो थाकसको बन्दसत्र शुरु, धर्नाकारीको माग सुनुवाई हुने


काठमाडौं, असोज ८ गते । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशनको बन्दसत्र निर्धारित समयभन्दा करिब पौने सात घण्टापछि पौने छ बजेबाट शुरुभएको छ । धर्नामा रहेका सप्तरी र रौतहट जिल्लाको समस्या समाधानका लागि वार्ता टोली गठन गरी सल्टाउने सहमतिअनुसार बन्दसत्र शुरु भएको हो ।

थाकसले विहान ११ बजेदेखि बन्दसत्रको कार्यक्रम शुरु गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार जिल्लाबाट आएका प्रतिनिधि तथा पर्यवेक्षकहरु गौशलास्थित शिवदर्शन पार्टी प्यालेस पुग्नुभएको थियो । तर धर्नाकारीले हलको मूल गेटमै ताल्चा हानेर धर्ना बसेपछि प्रतिनिधिहरु भित्र हलमा प्रवेश पाउन सकेका थिएनन् ।

धर्नाकारीहरुले विभिन्न माग राखी आन्दोलन गरेपछि निकासकालागि हलबाटै वार्ता समिति गठन गरेर सहमतिको आधारमा माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि अहिले बन्दसत्रको कार्यक्रम शुरु भएको केन्द्रीय सदस्य रामलाल चौधरीले बताउनुभयो ।

बन्दसत्रमा संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, विधान संशोधन प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । सो प्रतिवेदनमाथि छलफल गरी पारित गर्न मध्यरातीसम्म समय जाने आँकलन थाकसका पदाधिकारीहरुको छ । निर्धारित समयमा बन्दसत्र शुरु हुन नसक्दा दिनभरी प्रतिनिधिहरुले कोही यताउता भौतारिएर त कोही दिनभरी सुतेर, गफिएर समय व्यतित गर्नुभएको थियो ।

बन्दसत्र हल बाहिर देखिएको दृष्य यस्तो थियो

शब्द र तस्विरः लक्की चौधरी

तपाईको प्रतिक्रिया