गलत सामाजिक मूल्य र मान्यताको सुधार गर्दै जानुपर्छः सांसद राई


काठमाडौं, माघ १ गते । गत पुस २५ गते उपचारको क्रममा निधन हुनुभएकी ७५ वर्षिया लक्ष्मी राईलाई श्रद्धाञ्जलि दिन उहाँकी छोरी उषाकला राई तथा ज्वाइँ पूर्व कानून मन्त्री शेरबहादुर तामाङको जोरपाटीस्थित घरमा पुग्दा छोरी उषाकला राई किरियामा बस्नुभएको थियो ।

प्रदेश नं. १ बाट प्रदेश सांसद रहनुभएकी राईको आमा लक्ष्मीराईको निधन भएको सातौं दिनको किरियामा मंगलबार उहाँ भेटिनुभयो । आमाको सम्मान तथा उच्च श्रद्धास्वरुप उहाँले कपाल मुण्डन गरेर किरियामा बस्नुभएको बताउनुभयो । १३ दिनसम्म सोही स्थानमा किरिया बस्नुहुने सांसद राईले पितृसत्ता प्रधान नेपाली समाजको रुपान्तरण तथा विभेदयुक्त संस्कारको परिवर्तनका लागि आफू किरियामा बसेको बताउनुभयो ।

आफ्नो आमाबाबुको एक्ली सन्तान सांसद राई गोकर्णेश्वर ८, जोरपाटी काठमाडौंस्थित आफ्नै निवासमा किरिया बस्नुभएको छ । नेपाली संस्कार विभेदले भरिएकाले त्यसको रुपान्तरण आफैबाट शुरुवात गर्नुपर्छ भन्दै उहाँले स्वर्गीय आमालाई दागबत्ति पनि आफैले दिनुभएको थियो ।

आमाले सन्तान जन्माउन नौ महिना आफ्नो कोखमा राखेर जन्म दिन्छिन्, हुर्काउन बढाउनमा ठूलो कष्ट र दुःख सहन गर्छिन्, आमा र अभिभावकको उच्च श्रद्धा र सम्मान गर्नु हरेक सन्तानको दायित्व र कर्तव्य हुनआउँछ ।

नेपाली समाजमा मान्छे मरेपछि मात्र सम्मान गर्ने र श्रद्धा जनाउने प्रबृत्ति रहेको बताउनुहुँदै सांसद राईले मान्छेलाई जिउँदैमा सम्मानको खाँचो हुने चर्चा गर्नुभयो । हमार पहुरासँग संक्षिप्त कुरा गर्नुहुँदै सांसद राईले भन्नुभयो, “आमाले सन्तान जन्माउन नौ महिना आफ्नो कोखमा राखेर जन्म दिन्छिन्, हुर्काउन बढाउनमा ठूलो कष्ट र दुःख सहन गर्छिन्, आमा र अभिभावकको उच्च श्रद्धा र सम्मान गर्नु हरेक सन्तानको दायित्व र कर्तव्य हुनआउँछ ।”

२०६४ सालको संविधानसभामा तत्कालिन एमालेबाट समानुपातिक सभासद रहनुभएकी उषाकला राईले त्यसबेला लैङ्गिक समानता तथा महिला अधिकारका लागि अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । अंश तथा वंशको अधिकारका लागि महिलाहरु आफै जुट्नुपर्छ, त्यसको संवैधानिक अधिकार सुनिश्चित गर्न उहाँले महिला ककसको नेतृत्वमा रहेर भूमिका निर्वाह गर्नुभएको थियो ।

छोरा र छोरी दुवै समान हुन र दुवैको अधिकार र कर्तव्य बराबर हुन्छ भन्ने सन्देश दिन पनि आफूले कपाल खौरेर किरियापुत्री बसेको उहाँले बताउनुभयो । छोरीलाई मान्छे नै होइन भन्ने ठान्ने समाजमा सांस्कृतिक रुपान्तरण र विभेदको अन्त्य गर्नमा सघाउ पुगोस भनेर आफूले सो कदम उठाएको सांसद राईले चर्चा गर्नुभयो ।

दिक्टेल रुपाकोट मझुवागढी नगरपालिका ४, खोटाङमा वि.सं. २००१ कात्तिक ७ गते जन्मनुभएकी आमा लक्ष्मी राईको २०७५ पुस २५ गते ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधनभएको थियो । निमोनिया भाइरल भएर उहाँको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया