
काठमाडौं, चैत १६ गते । थरुहट आन्दोलनलाई पुनर्जिवित गर्ने उद्देश्यसाथ थरुहट आन्दोलनकर्ताले शनिबार वर्दियाको ठाकुरद्वारमा एकदिने बृहत छलफल कार्यक्रम सम्पन्न गरेका छन् । सो कार्यक्रमबारेमा थारु कल्याणकारिणीसभा (थाकस) केन्द्रले भने विमति जनाएको छ ।
थरुहट आन्दोलन र अवको बाटो विषयक छलफल कार्यक्रममा थाकस केन्द्रबाट केन्द्रीय सदस्य चुर्णबहादुर चौधरी, इन्दु चौधरीको सहभागिता रहे पनि थाकस केन्द्रले सो कार्यक्रमबारे कडा टिप्पणी गरेको छ । थाकस केन्द्रको समन्वयविना गरिएको सो कार्यक्रमलाई एक दुईजना व्यक्तिको स्वार्थ अनुकुलको कार्यक्रमको संज्ञा थाकस केन्द्रले दिएको छ ।
थाकसका महामन्त्री प्रेमीलाल चौधरीले केन्द्रसँग कुनै समन्वय र सहमति नलिएर गरेको कार्यक्रममा थाकस केन्द्रको कुनै जिम्मेवारी नरहने बताउनुभयो । ‘एक दुईजनाको स्वार्थ र आग्रहमा गरिएको सो कार्यक्रमबारेमा हामीसँग कुनै समन्वय र सल्लाह छैन’ उहाँले भन्नुभयो ।
कार्यक्रम थाकसका जिल्ला सभापतिहरुको संयुक्त आयोजनामा गरिएको बताइए पनि त्यसमा जिल्ला सभापतिहरुको सहभागिता नै न्यून रहेको महामन्त्री चौधरीले बताउनुभयो । सोबारेमा केन्द्रमा छलफल गरी आधिकारिक निर्णय लिने उहाँले बताउनुभयो ।
हमार पहुरा डट कमसँग कुरागर्दै महामन्त्री चौधरीले भन्नुभयो, “थारुको नामलिएर कार्यक्रम गर्ने त्यसको जस र फाइदा अरुले लिने ?” कार्यक्रममा दुई तीनजना जिल्ला सभापतिको मात्र सहभागिता रहेको उहाँले दावी गर्नुभयो । कार्यक्रमबारेमा कैलालीका सभापतिलाई समेत जानकारी देखिएन उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागी हुनुभएका नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम थारुले विगतको थारु आन्दोलनबारेमा समिक्षा भएको बताउनुभयो । थारु हकहितका लागि सामुहिक आवाज उठाउन जरुरी रहेपनि सोबारेमा विभिन्न चरणको छलफल गरी अगाडि बढ्ने निचोडमा पुगिएको उहाँले बताउनुभयो ।
‘अहिलेको अहिल्यै थारु आन्दोलन उठिहाल्ने अवस्था छैन, विशेषगरी थरुहट क्षेत्रमा जनचेतना, जागरणमुलक अभियान चलाएर अघि बढ्ने कुरा भएको छ’ उहाँले भन्नुभयो । विगतमा आन्दोलन गर्दा त्यसको सही निस्कर्ष निस्कन नसक्दा अब कसरी अगाडि बढ्ने विषयमा ‘इस्यूबेष्ड’ छलफल गर्ने कुरा भएको अध्यक्ष थारुले बताउनुभयो । संविधानमा भएको कमी कमजोरी, थारु समुदायसँग भएको विगतको सहमति सम्झौता, राज्यको अन्य क्षेत्रमा थारुको सहभागिताका विषयमा समेत छलफल गरी निस्कर्षमा पुगेर मात्र अघि बढ्नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
थाकस कैलालीका उपसभापति माधव थारुले कार्यक्रममा करिब सातसय जनाको सहभागिता रहेको बताउनुभयो । थाकस केन्द्रलाई जानकारी गराएर कार्यक्रम गरेको दावी गर्दै उपसभापति थारुले आगामी दिनमा थाकस केन्द्रकै नेतृत्वमा अघि बढ्ने विषयमा छलफल भएको बताउनुभयो । थाकस केन्द्रको मूल नेतृत्व कार्यक्रममा सहभागी नभए पनि दुई केन्द्रीय सदस्यको सहभागिताले केन्द्रको प्रतिनिधित्व भएको उहाँले बताउनुभयो ।
थाकस केन्द्रको समन्वयविना गरिएको सो कार्यक्रमलाई एक दुईजना व्यक्तिको स्वार्थ अनुकुलको कार्यक्रमको संज्ञा थाकस केन्द्रले दिएको छ ।
कार्यक्रममा पूर्व सांसदहरु गोपाल दहित, योगेन्द्र चौधरी, कृष्णकुमार चौधरी, जनक चौधरी, राष्ट्रिय सभाका सांसद हरिराम चौधरीको सहभागिता थियो । त्यस्तै, अन्य नेताहरुमा लक्ष्मण थारु, सुरेन्द्र चौधरी, होरिलाल चौधरी लगायतको सहभागिता थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिसहितको सहभागिता रहेको बताइएको छ ।
पूर्वका जिल्ला महोत्तरी, बारा, सर्लाहीको सभापति र प्रतिनिधिहरुको सहभागिता रहेको भएपनि चित्तवन पश्चिमका जिल्लाबाट सबैको सहभागिता रहेको माधव थारुले जानकारी दिनुभयो । अवको कार्यक्रम चित्तवन, सिराहा, सुनसरीमा गर्ने विषयमा समेत छलफल भएको आयोजकले बताएको छ ।




