
काठमाडाँैं, बैशाख ४ गते । विगतका वर्षमा चैत वैशाखमा पर्ने पानी दुई–चार पटक परेर टुङ्गिन्थ्यो । उखरमाउलो गर्मीपछि जेठका अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्र्न्थ्यो तर पूर्व मनसुन अर्थात् प्रि–मनसुन नै यो पटक भने वर्षाजस्तै भएको छ । अझै तीनदिन मेघ गर्जनसहित पानी पर्ने मौसम विभागको अनुमान छ ।
दक्षिण एसियाली मौसम प्रणालीमा निर्भर नेपालमा यो वर्ष हिउँद सकिने वित्तिकै सुरु भएको प्रि–मनसुन निकै बलियो बनेको मौसमविद् प्रतिभा मानन्धर बताउनुहुन्छ ।
उहाँका अनुसार प्रशान्त महासागरको पूर्वीय, पश्चिमी र केन्द्रको वायुको तापक्रम र समुद्रको पानीको तापक्रमको आधारमा ‘एलनिनो’ वा ‘लानिना’ मौसम प्रणालीको अनुमान गरिन्छ । “तातो तापक्रम भएमा ‘एलनिनो’ विकसित हुन्छ अनि चिसो तापक्रम भएमा ‘लानिना’ विकसित हुन्छ,” मानन्धरले थप्नुभयो, “एलनिनोले पानी पर्ने छाँट देखाउँछ भने लानिनाले बढी पानी पर्ने सङ्केत गर्छ ।” एलनिनो कमजोर रहँदा स्थानीय र अन्य वायुको प्रभाव थपिँदा पानी पर्ने क्रममा घटबढ भइरहन्छ । अहिले एलनिनोको प्रभावले पूर्व मनसुन बलियो भइरहेको मौसमविद्हरूको भनाइ छ ।




