काठमाडाँै, वैशाख २६ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका जातजातिका भाषा, संस्कार, संस्कृति र कलाको सम्वद्र्धनले मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान र अनुसन्धान उद्यमशीलता एवम् दिगो विकास केन्द्र धनगढीद्वारा विहीवार राजधानीमा आयोजित “वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज” विषयक सांस्कृतिक सङ्गोष्ठीमा उहाँले सो कुरा बताउनु भएको हो ।
अध्यक्ष तिमिल्सिनाले सांस्कृतिक विविधताका कारण नेपाल धनी रहेको र त्यसकै सदुपयोग नै समृद्धिको आधार बन्ने विश्वास व्यक्त गर्नुभयो । सुदूरपश्चिम प्राकृतिक तथा सांस्कृतिक सम्पदाले धनी प्रदेश भएकाले राज्यले त्यसको सदुपयोगमा ध्यान लगाउन आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा अध्यक्ष तिमिल्सिनाले बहुभाषिक त्रैमासिक पत्रिका प्रसङ्गको लोकार्पण गर्नुभयो । पत्रिकाको अभियानले बहुभाषिक विकास र सांस्कृतिक संरक्षणमा टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । संस्कृत–अंग्रेजी–नेपाली भाषाको पत्रिका सम्भवतः नेपालमा पहिलो भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति जगमान गुरूङले प्रतिष्ठानले नेपालको हरेक क्षेत्रको संस्कृति साहित्यको सम्वद्र्धनमा जोड दिएको बताउनुभयो । प्रसङ्ग पत्रिकाले तीन भाषामा रचना प्रकाशन गरेर समन्वयात्मक भूमिका निर्वाह गर्ने विश्वास उहाँले गर्नुभयो ।
उर्मिला पनेरू प्रकाशक रहनुभएको प्रसङ्ग त्रैमासिकमा तीन भाषामा एकैपटक समाचार, कला संस्कृति, मनोरञ्जनात्मक, स्थान विशेषका खबर प्रकाशित हुने प्रधान सम्पादक सुभाषचन्द्र भण्डारीले बताउनुभयो ।
सो अवसरमा पत्रिकाको तीनवटै भाषाका बारेमा संक्षिप्त जानकारी गराइएको थियो । संस्कृत भाषाका माध्यमबाट पण्डित रामप्रसाद पौडेल, अंग्रेजी माध्यमबाट डा. देवराज पनेरु र नेपालीका बारेमा प्रकाशिका उर्मिला पनेरु (अवस्थी) ले प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा प्रसङ्गका प्रवन्ध सम्पादक मनीषा अवस्थीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने दीपिका पाण्डे, ईश्वरी पाण्डेलगायतले सुदुरपश्चिममा गाइने गीत ‘फाग’ प्रस्तुत गर्नुभयो । कार्यक्रममा पश्चिम नेपालको सामाजिक तथा सांस्कृतिक रुपान्तरणका विषयमा अन्तरक्रिया गरिएको थियो ।