बसको ठक्करबाट दुईजना चौधरी बालकको मृत्यु, राजमार्गमा प्रदर्शन


धनगढी, कात्तिक १५ गते । कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट साइकलमा सवार २ जना थारु बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिका १ साझा चौकका ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका ८ का १२ वर्षीय लक्ष्मण चौधरी रहेका छन् ।

महेन्द्रनगरबाट काठमाडौं तिर जाँदैगरेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसले साझा चौक नजिकै साइकलमा सवार अंशु र लक्ष्मणलाई बिहीबार साँझ ५ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका अंशुको भारतको लखनउ र लक्ष्मणको नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

बस र बस चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले बिहीबार नै नियन्त्रणमा लिएको थियो । ठक्करबार २ जना बालकको मृत्यु भएपछि मृतकका आफन्तहरुले पूर्वपश्चिम राजमार्गको बौनियाँ सडकखण्ड अवरुद्ध पारेका छन् । सडक अवरुद्ध भएपछि दर्जनौ सवारीसाधन र सयौं यात्रुहरु राजमार्गमा नै अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया