सुनसरीको झुम्कामा माघ तथा तिला सङ्क्राइत महोत्सवको तयारी


हमार पहुरा डट कम
झुम्का (सुनसरी), पुस २५ गते । थारु महिला उत्थान समाजले सुनसरीको झुम्कामा माघ तथा तिला सङ्क्राइत महोत्सव आयोजना गर्ने भएको छ । पुस २९ गते मंगलबार एक दिवसीय महोत्सवको तयारी गरिएको आयोजकले बताएको छ ।

महोत्सवमा थारु भेषभुषा, थारु परिकार तथा थारुको हस्तकला लगायतको प्रदर्शन गरिने समाजकी अध्यक्ष सीता थरुनी चौधरीले बताउनुभयो । महोत्सवको आकर्षणमा थारु भेषभुषा, थारु धुम्रा नाचको प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारको कला प्रदर्शन, जटाजाटिन प्रतियोगिता, थारु पौराणिक विषय तथा थारु खानाका परिकार रहने अध्यक्ष चौधरीले बताउनुभयो ।

महोत्सवमा थारु परिकार अनदीको भात, ढिक्री, घोङ्घी, गगंटा, सीप, संगुरको मासु, परेवा, हाँस तथा कुखुराको मासु, तिलको लड्डु, भुजा, जाँर दारु तथा अन्य थारु परिकार रहने आयोजकले बताएको छ । महोत्सवको तयारी अन्तिम चरणमा रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

महोत्सवले एकातिर थारु कला, संस्कृति तथा परिकारको उत्थान हुने र अर्कोतर्फ नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन हुने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया