कञ्चनपुरको बेलौरीमा माघ मेला २०७६ शुरु, मन्त्री मगरद्वारा उदघाटन


हमार पहुरा डट कम
बेलौरी (कञ्चनपुर), पुस २६ गते । थारु सम्बत् २६४३ को अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) कञ्चनपुर (बेलौरी) को आयोजनामा दोस्रो माघ मेला २०७६ शनिबारबाट शुरुभएको छ । पुस २६ देखि २८ गतेसम्म हुने मेलाको उदघाटन खानेपानी मन्त्री विना मगरले गर्नुभयो ।

थारु संस्कृतिको संरक्षण तथा प्रबद्र्धन र थारु एकताको उद्देश्यसाथ गर्न लागेको मेलामा १५ वटा विभिन्न थारु परिकारका स्टल रहेको मेला व्यवस्थापन समितिकी संयोजक सुनिता चौधरीले बताउनुभयो । बेलौरीको खुलामञ्चमा आयोजना भएको सो मेलाको उदघाटन सत्रमा उत्साहजनक सहभागिता रहेको छ ।

मेलालाई मनोरञ्जनपूर्ण बनाउन विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुती रहने आयोजकले बताएको छ । मेलामा थारु परिकार ढिक्री, अनदीको भात, रोटी, घोङ्घी, गंगटा, मुसाको चटनी, बयरको चटनी, सीपी, सुंगुरको मासु, तिलको आचारलगायतको परिकार राख्ने बताइएको छ । मेलामा एसइईमा उत्कृष्ट दुईजना विद्यार्थीलाई सम्मानित गर्ने कार्यक्रम रहेको संयोजक चौधरीले बताउनुभयो । त्यस्तै, उत्कृष्ट कृषक, उत्कृष्ट राष्ट्रिय खेलाडी, देशबन्ध्या गुरुवा गरी १६ जनालाई सम्मान गर्ने आयोजकको भनाई छ ।

मेलामा मघौटा, झुम्रा, तीनभटारी, हुरदङ्ग्वा, मुङ्ग्रहुवा, सखिया र वर्का नाचको प्रस्तुती रहने पनि आयोजकको भनाई छ । तीन दिनसम्म चल्ने सो मेलाले थारु समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारको काम गर्ने विश्वास आयोजकको छ ।

तपाईको प्रतिक्रिया