थपिएका नयाँ पर्यटक गन्तव्य बगारबाबाको विजोग अवस्था, स्थल सुनसान


लक्की चौधरी
रिहार लमही (दाङ), माघ २१ गते । नेपाल भ्रमण वर्ष २०२० शुरु हुनुअघि सरकारले पछिल्लो पटक घोषणा गरेको नेपालको एकसय पर्यटकीय गन्तव्यस्थल मध्ये दाङ देउखुरीको बगारबाबा धाम पनि एक हो । तर सो स्थलमा आन्तरिक पर्यटक भएर घुम्न जाँदा अवस्था विजोग देखियो ।

लमही नगरपालिका ९ रिहारमा पर्ने बगारबाबा धाम मुख्यगरी थारु समुदायले बगारपूजा गर्ने धार्मिकस्थल हो । त्यहाँ अन्य देवीदेवताका मन्दिर पनि भएकाले पर्यटकीय स्थलकोरुपमा परिचित भएको छ । नेपाली तथा भारतीय धार्मिक पर्यटकहरु धार्मिक पूजापाठका लागि सो स्थलमा बढी आउँछन् ।

धार्मिकस्थलमा सरसफाई छैन । प्रवेश गेट समेत टुटेको टिनको पाताले बनाइएको छ । शौचालय जिर्ण छन् । तीर्थयात्रीले स्नान गर्ने कुण्ड फोहोर र जिर्ण छ । तीन चारवटा मन्दिर भवन भएपनि सरसफाई तथा रेखदेखको अभाव छ । हरेक वर्ष माघे संक्रान्तिमा बगारबाबा स्थलमा धार्मिक मेला लाग्नेगरेको स्थानीय पत्रकार छविलाल कोपिलाले बताउनुभयो । उहाँकाअनुसार पशु, चौपायाको संरक्षण तथा सन्तान प्राप्तीको माग गर्दै थारु समुदायले सयौं वर्षदेखि बगारबाबामा पूजा गर्दैआएका छन् ।

अचम्म त के भने सो पर्यटकीय स्थलमा कुनै साइनबोर्ड समेत राखिएको छैन । आन्तरिक तथा बाह्य पर्यटक सो ठाउँमा आउँदा पर्यटकलाई आधारभूत जानकारी दिने पठनीय सामग्री उपलब्ध छैन । कुन ठाउँ हो, के के महत्वका विषय छन् । हेर्नलायक विषय के हुन् कुनै जानकारी छैन । न त सो क्षेत्रबारे जानकारी गराउने कुनै मानवीय जनशक्ति नै राखिएको छ ।

एकय नयाँ पर्यटन गन्तव्यकोरुपमा सो क्षेत्र थपिदा स्थानीयहरु उत्साहित भएपनि विकास निर्माण तथा भौतिक पूर्वाधारको व्यवस्था हुन नसक्दा पर्यटक शुन्य अवस्थामा रहेको पत्रकार कोपिलाले बताउनुभयो । सो क्षेत्रको संरक्षण, सरसफाई तथा प्रचारप्रचारमा नगरपालिकाले समेत चासो दिएको छैन ।

उसो त सो धार्मिक क्षेत्रका पर्यटकीय विकास गर्नका लागि व्यवस्थापन समिति समेत गठन गरिएको बताइएको छ । तर व्यवस्थापन समितिको बैठकसमेत बस्न सकिरहेको छेन । नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन समिति प्रदेश ५ का सचिवालय सदस्य सुन्दर गौतमले बगारबाबाको पूर्वाधार विकासको पहल भइरहेको बताउनुभयो ।

लमही बजारदेखि करिब २३ किलोमिटर पश्चिम राजमार्ग छेउमा पर्ने बगारबाबा क्षेत्रको विकासका लागि सरकारले छुट्याएको आवश्यक बजेट खर्च गर्न सकेको छैन । सरकारले पर्यटन क्षेत्रको विकासका लागि यस आर्थिक वर्षमा करिब ५ अर्ब २० करोड रुपियाँ विनियोजन गरेको बताएको छ । पहिले देश अनि विदेश नारासहित सरकारले आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने नीति पनि बनाएको छ । तर भएका पर्यटक स्थलको स्तरोन्नति हुन नसक्दा पर्यटन वर्ष २०२० मा उत्साह थपिन सकिरहेको छैन । सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया