समाज रुपान्तरणमा भूमिका निर्वाह गर्न जनजाति पत्रकारलाई आग्रह


हमार पहुरा डट कम
बारा (कोल्हवी), फागुन ३ गते । समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहने गरेपनि अहिले पत्रकारको कलमप्रति नागरिकको विश्वास घट्दै गएकाले गरिमा कायम राख्न राजनीतिक दलका नेता तथा समाजका अगुवाहरुले आग्रह गर्नुभएको छ ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बाराको प्रथम जिल्ला साधारणसभामा शनिबार यहाँ बक्ताहरुले त्यस्तो आग्रह गर्नुभयो । समाज रुपान्तरणका लागि नेपाली मिडियाले जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँहरुको सुझाव थियो ।

पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले समाजप्रति मिडियाको जिम्मेवारी ठूलो भएपनि गरिमा बचाउन चुनौति रहेको बताउनुभयो । समाज र देशप्रति मिडियाको महत्वपूर्ण भूमिका रहने गरेकैकारण चौथो अङ्गकौ हैसियत दिने गरिएको बताउँदै उहाँले समाज अहिले बढी नकारात्मक दिशामा गैरहेकाले मिडियाले त्यसलाई सकारात्मक ढङ्गले रुपान्तरण गर्नुपर्ने सुझाव दिनुभयो ।

पत्रकारिता पेशा समाजसेवा भएकाले लिनुभन्दा देश र जनताकालागि दिनेतर्फ ध्यान केन्द्रित गर्न उहाँले मिडियाकर्मीलाई सुझाव दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बारा इन्चार्ज बलवीर चौधरीले मिडियामा आएको विषय अध्ययन गरेर सर्वसाधारणले आफ्नो विचार निर्माण गर्ने हुनाले मिडियाकर्मीले जिम्मेवार र सचेत भएर कलम चलाउनुपर्ने बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य दिनेश राईले समाज र देशलाई गलत बाटोमा जान नदिई सभ्य र समृद्ध नेपाल निर्माण गर्नमा मिडियाले भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।

फोनिजका केन्द्रीय उपाध्यक्ष लक्की चौधरीले आदिबासी जनजाति पत्रकारको काँधमा अनेक जिम्मेवारी रहेको बताउनुभयो । आफ्नो समुदायको हकअधिकारको वकालत, समग्र आदिबासी जनजातिको अधिकारको वकालत र समग्र प्रेस तथा देशको समृद्धिको विषयमा समेत भूमिका निर्वाह गर्ने जिम्मेवारी भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले पत्रकाकालागि पेशागत, व्यवसायिक सुरक्षा गर्ने चुनौति रहेको बताउनुभयो । उद्योग बाणिज्य संघ कोल्हबीका महेशकुमार शाहले पत्रकारले नागरिकको सचेतनासँगै विकास निर्माणको पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो ।

फोनिज बाराका अध्यक्ष दृश्यन्त चौधरीको सभापतित्वमा भएको कार्यक्रममा फोनिज प्रदेश २ का इन्चार्ज निरज पिठाकोटी, प्रेस संगठन बाराका अध्यक्ष दिवाकर भण्डारी, फोनिज प्रदेश २ का अध्यक्ष प्रमेशबादे श्रेष्ठ, स्थानीय नेता केवलप्रसाद चौधरी, पत्रकार प्रकाश श्रेष्ठ लगायतले धारणा राख्नुभएको थियो ।

२०५६ मा स्थापना भएको फोनिजमा अहिले करिब साढे तीनहजार पत्रकार संलगन छन् । देशभर फोनिजको ५४ जिल्ला शाखा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया