थारु खाना परिकार र संस्कृतिको प्रवद्र्धन गर्न घोङ्घी बगिया थारु भिलेज


प्रदेश १ को रामधुनी नगरपालिका १, झुम्का सुनसरीमा थारु परिकार, कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले घोङ्घी बगिया थारु भिलेज रिसोर्ट सञ्चालनमा आएको छ । २०७५ फागुन २९ गतेबाट औपचारिक शुभारम्भमा आएको भिलेजमा अहिले दैनिक संयौंले विभिन्न थारु परिकारको स्वाद लिने अवसर पाएका छन् । समय समयमा भिलेजमा थारु कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा साँस्कृतिक कार्यक्रम पनि आयोजना हुँदैआएको छ । भिलेज सञ्चालनले एकातिर थारु कला, संस्कृति र संस्कारजन्य वस्तुको प्रचारप्रसार र संरक्षण भएको छ, अर्कोतर्फ आफ्नो घरमै व्यवसाय गर्नपाउँदा आम्दानीको स्रोत पनि राम्रो भएको छ । प्रस्तुत छ हमार पहुरा डट कमले भिलेजका सञ्चालक सीता थरुनी चौधरी र सत्यनारायण चौधरीसँग गरिएको संक्षिप्त कुराकानी

यो घोङ्घी बगिया थारु भिलेज सञ्चालन गर्ने योजना कसरी बन्यो ?
घोङ्घी बगिया थारु भिलेज २०७५ फागुन २९ गते औपचारिक शुभारम्भ भएपनि एकवर्ष अघिदेखि सञ्चालन गर्ने हाम्रो योजना बनेको थियो । थारु खाना परिकार, संस्कार संस्कृतिको प्रवद्र्धन गर्ने नै प्रमुख उद्देश्य हो । हाम्रो थारु समुदायको खाना परिकार, संस्कार संस्कृति एकदम टिपिकल छ । मान्छेलाई लोभ्याउनेखालको मौलिकता छ । त्यही हाम्रो मौलिकताको संरक्षण गर्न अहिले चुनौति थपिदै गएको छ । अहिलेका युवायुवतीहरुले थारु खानपान, संस्कार संस्कृतिमा जागरुकता कमजोर हुँदैगएको महशुस भएको छ । त्यसैले हाम्रो थारु परिकार, संस्कार र संस्कृतिकोबारेमा आउने युवापीढीलाई पनि जानकारी होस् र घरमै बसेर केही आम्दानी भई घरव्यवहार पनि चलोस् भन्ने लागेर यसको सञ्चालन गरिएको हो । भिलेज सञ्चालनमा आएपछि एक वर्षे अवधिमा राम्रो स्पीड लिएको छ । थारु र गैरथारु ग्राहक समानरुपमा भिलेजमा आएर थारु परिकार खान रुचाउनु हुन्छ ।

भिलेज सञ्चालनको अर्को लक्ष्य व्यवसाय र रोजगार पनि अवश्य होला, भिलेजलाई कहाँसम्म विस्तार गर्ने योजना छ ?
हो अवश्य छ । यो भिलेज अहिले त शुरुवात मात्र हो । भविष्यमा गएर यसलाई उद्योगकै रुपमा विस्तार गर्ने र रोजगारी अभिबृद्धि गर्ने दूरदर्शिता हो हाम्रो । भिलेज सञ्चालनमा आएपछि नाम, पहिचान र रोजगारी सिर्जना भएको छ । अहिले भिलेजमा छ जनाले रोजगारी पाउनुभएको छ । आगामी दिनमा भिलेजलाई विस्तार गर्न भर्खरै माघ २८ गतेदेखि थारु बसघरा (सभाहल) पनि सञ्चालनमा ल्याएका छौं । थारु नृत्य गीत, साहित्यिक कार्यक्रम तथा तालिम प्रशिक्षणका लागि पनि सहज भएको छ । हामी संघ संस्था तथा समुदायलाई राम्रोसँग स्वागत गर्न सकौं भनेर यो बसघरा सञ्चालनमा ल्यायौं । थारु समुदाय खाना तथा संस्कार संस्कृतिमा धनी छ । पौराणिक संस्कार छ हाम्रो । तर त्यसको उपयोग गर्न सकेको देखिदैन । आफ्नै पहिचानबाटै नाम र दाम कमाउन सकिन्छ भने किन नगर्ने भन्ने सन्देश दिन पनि यो भिलेजलाई व्यवसायकोरुपमा सञ्चालनमा ल्याएका छौं ।

भिलेजमा दैनिकरुपमा ग्राहकको आगमन कस्तो छ ? थारु मौलिक परिकार चखाउन कति महङ्गो पर्छ ?
दैनिक संयौंजना ग्राहकहरुलाई हामीले अहिले भिलेजमा स्वागत गर्न पाएका छौं । थारु र गैरथारु दुवै समुदायका ग्राहक आउनुहुन्छ । हामीले घरको पाहुनालाई स्वागत गरेजस्तै स्वागत गर्ने गरेका छौं । आगन्तुकहरुको सम्मान गरेका छौं । भिलेजलाई पारिवारिक वातावरणमा सञ्चालन गरेका छौं । आगन्तुकहरुको राम्रो रेस्पोन्स पनि प्राप्त भइरहेको छ । भिलेजमा खासगरी घोङ्घी, बगिया, परिवाको मासु, सिपी, खसी र लोकल कुखुरा, हाँस, बटाइँको मासुको परिकार उपलब्ध छ । त्यससँगै चिचरी भात, भक्का, सिन्की गुन्द्रुकसँगै अन्य थारु विशेष परिकार उपलब्ध छ । घोङ्घीको प्रति प्लेट ६० रुपिया लिने गरेका छौं । लोकल कुखुराको प्रति प्लेट २००, बत्ताईको २५०, सुंगुर १२०, हाँस २०० सहित हामीले सकेसम्म कम शुल्कमा परिकारले स्वागत गर्न खोजेका छौं ।

घोङ्घी बगिया थारु भिलेज सञ्चालक

आगन्तुक ग्राहकलाई मनोरन्जनका लागि खानासँगै अरु के के प्रस्तुतिको व्यवस्था छ ?
आगन्तुकको स्वागत र मनोरन्जनका लागि थारु विशेष खानासँगै महिनामा २ पटक थारु संस्कृतिको प्रस्तुतिका लागि बसघरा भर्खरै सञ्चालनमा ल्याएका छौं । बाँकी त ग्राहकको मागअनुसारको थारु कला संस्कृतिको प्रस्तुतिका लागि पनि व्यवस्थापन गर्ने तयारी छ । यसले थारु परिकारसँगै संस्कार संस्कृति र कलाको पनि संरक्षण तथा प्रवद्र्धन हुन्छ भन्ने विश्वास छ । संघ संस्थाको विशेष कार्यक्रमकाबेला सांस्कृतिक समूह बनाएर मनोरन्जन दिने योजना छ ।  सँगसँगै थारु लोकनृत्यको प्रस्तुीको व्यवस्था पनि गरेका छौं । पूर्खादेखि चलनचल्तीमा रहेको थारु लोक कला, संस्कृति र नृत्य प्रस्तुती गर्न सकेमा यसले हाम्रो पहिचान पनि कायम गर्छ भन्ने विश्वास छ ।

थारु परिकार र भिलेजमा ग्राहकका लागि प्रयोगमा ल्याइने कच्चा पदार्थहरुको उपलब्धतामा केही समस्या छ ?
खासै समस्या छैन । थारु परिकारका लागि आवश्यक सामग्री घरमै उपलब्ध छन् । बाँकी परिकारका लागि घोङ्घी, गंगटा, सिपी पनि अहिलेसम्म सहजरुपमा उपलब्ध छ । बाँकी मासुजन्य परिकारका लागि आवश्यक पर्ने सामग्री पनि उपलब्ध भइरहेको छ । अहिलेसम्म सामग्रीका लागि समस्या छैन । चाहेजतिको समयमा प्राप्त हुन्छ । माछा, घोङ्घी, सीपी सहजरुपमा उपलब्ध होस् भनेर पोखरी निर्माण गरी अर्गानिकरुपमा उपलब्ध गर्ने गरेका छौं । व्यवसायका रुपमा भिलेज सञ्चालनमा आएपछि यस्ता कच्चा पदार्थहरु दैनिकरुपमा चाहिने हुनाले सो व्यवस्था गरेका हौं ।

भिलेज सञ्चालनको अन्य योजना के के छन् ?
यो भिलेजलाई विस्तार गरी खासगरी महिलालाई रोजगारी उपलब्ध गराउने, थारु सीप कला ज्ञान सिकाउने, तालिमहरु सञ्चालन गर्ने, थारु सीप, हस्तकला ज्ञान हस्तान्तरण गर्ने योजना पनि छ । थारु समुदाय सीप र ज्ञानमा धनी छ । तर नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिएको छैन । थारु ज्ञान सीप र हस्तकलाको पुस्तान्तरण गर्न सकेमा आउने पिढीका लागि पनि राम्रो हुन्छ । ज्ञान, सीप छ भने आयमुलक काम पनि गर्न सकिन्छ । ज्ञान र सीपले नै मानिस रोजगार हुने हो । त्यसमा हाम्रो ध्यान केन्द्रित हुन्छ ।

थारु परिकार किन खानुपर्छ ?
थारु परिकार अर्गानिक परिकार हुन् । घोङ्घी खाँदा क्याल्सियम र प्रोटिन प्रशस्त उपलब्ध हुन्छ । यसले शरीरको हड्डी बलियो हुनुका साथै पाचन प्रक्रिया पनि राम्रो हुन्छ । त्यस्तै सीफुडकोरुपमा रहेको सिपी, गँगटा लगायतका मासुजन्य परिकार खाँदा पनि शरीरलाई राम्रो हुन्छ । स्वस्थ र सन्तुलित शरीरका लागि थारु परिकार आवश्यक छ । अन्य परिकार पनि अर्गानिक भएकाले स्वास्थ्यमा फाइदा पुग्छ ।

अन्त्यमा, केही भन्न बाँकी छ भने
थारु समुदाय संस्कार, संस्कृतिमा धनी छ तर त्यसको प्रचार प्रसार र व्यवसायिकरण गर्नु आवश्यक छ । हाम्रो सीप, कला र संस्कृतिको प्रवद्र्धन गर्न देश विदेशमा प्रचार प्रसार गर्नुपर्ने छ । अहिले पर्यटन वर्ष २०२० पनि चलिरहेको छ । आन्तरिक तथा बाह्य पर्यटक एक ठाउँबाट अर्को ठाउँमा जानेक्रम शुरुभएको छ । गाउँठाउँमा समुदायगत होमस्टे र भिलेज पनि सञ्चालनमा छन् । पर्यटकलाई राम्रोसँग स्वागत गर्न सकौं भनेर नै यो भिलेज सञ्चालनमा आएको हो । त्यसले हाम्रो संस्कृतिको संरक्षण हुन्छ र अर्कोतर्फ त्यसैबाट व्यवसाय सञ्चालन गर्न सहज हुन्छ । यो भिलेज सञ्चालनले अरुको लागि पनि प्रेरणा मिलोस् भन्ने हो । गाउँघरमै उद्योग सञ्चालन गर्न सक्ने हो भने आम्दानीको स्रोत पनि बढ्छ । कसैसँग हात फैलाउनु पर्दैन । घर व्यवहार चलाउन पनि आर्थिकको आवश्यकता सबैलाई हुन्छ । अहिले यो भिलेज सञ्चालनमा आएपछि हामीलाई पनि घर व्यवहार सञ्चालनमा सहज भएको छ ।

यो थारु भिलेज सञ्चालनमा आएपछि रामधुनी झुम्काको नाम पनि अरु ठाउँमा पुग्ने वातावरण बनेको छ । यो ठाउँको नाम देश विदेशमा पुगोस् भन्ने हाम्रो चाहना हो । आन्तरिक तथा बाह्य पर्यटकको दिल दिमागमा रामधुनीको नाम आवस् भन्ने चाहना हो ।


संघ संस्थाको कार्यक्रम गर्नकालागि करिब डेढसय देखि दुईसयजना अटाउने बसघरा (तालिम हल) पनि तयार भएको छ । त्यसको उदघाटन भइसकेको छ । त्यसले संघ संस्थाका प्रतिनिधिहरुलाई तालिम प्रशिक्षण चलाउँदा थारु परिकारको स्वादसँगै कार्यक्रम गर्न सहज हुन्छ भन्ने हाम्रो विश्वास छ ।

तपाईको प्रतिक्रिया