
हमार पहुरा डट कम
झुम्का (सुनसरी), फागुन २६ गते । थारु महिला उत्थान समाज सुनसरीले श्रमिक महिलालाई उद्यमशील बनाउने उद्देश्यले पाँच दिने सीपमुलक तालिमको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर समाजले सो तालिमको शुरुवात गरेको हो ।
महिलामा सीप भएमा आयआर्जन गर्नसक्ने र घरव्यवहार चलाउनसक्ने र महिलाको क्षमता अभिबृद्धिका लागि तालिमको आयोजना गरिएको समाजकी अध्यक्ष सीता थरुनी चौधरीले बताउनुभयो । आइतबारदेखि शुरुभएको तालिम विहिबारसम्म चल्नेछ ।
तालिमको उदघाटन रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरीले गर्नुभयो । तालिममा बुटिक भरिएको सुर्केथैली बनाउने, त्यसको बजार व्यवस्थापन तथा प्रवद्र्धनका उपायसमेत सिकाइने आयोजकले बताएको छ । तालिमपछि श्रमिक महिलाहरुले आफूलाई उद्यमी बनाउने विश्वास रहेको अध्यक्ष थरुनीले बताउनुभयो ।

कार्यक्रममा श्रमिक महिलालाई प्रोत्साहनका लागि सम्मानित गरिएको आयोजकले बताएको छ । संस्थाकी उपाध्यक्ष आशा चौधरीकाअनुसार तारा मण्डल, कमला बोगटी, बुचनी सदा, कमला चौधरी, फुलकुमारी रायलाई सम्मानित गरिएको हो ।
तालिममा स्थानीय ५० जना श्रमिक महिलाको सहभागीता छ । तालिममा डम्मरकुमारी श्रेष्ठले प्रशिक्षण दिइरहनुभएको छ । तालिमको उदघाटन सत्रमा रामधुनी नगरपालिकाकी उपप्रमुख सविना चौधरी, वडा नं. ६ का अध्यक्ष हेमनारायण राजधामी, सर्मिला विक, टीकालक्ष्मी श्रेष्ठ, कमली चौधरी, लक्षमी चौधरी लगायतको सहभागिता थियो ।





