हमार पहुरा डट कम
काठमाडौं, चैत १० गते । काठमाडौंमा कोरोना भाइरसबाट संक्रमित एकजना बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आउनुभएका एकजना विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
१९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको र अहिले उहाँलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको मन्त्री ढकालले जानकारी दिन्ुभयो । उहाँ चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आउनुभएको थियो । रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण उहाँमा देखिएको थियो । तर सरकारले सोमबार मात्र आधिकारीकरुपमा जानकारी गराएको छ । उहाँसँगै जहाजमा आएकाहरुको खोजी भइरहेको सरकारले जनाएको छ ।
मन्त्रालयले संक्रमितको परिवारलाई मापदण्ड अनुसार क्वारेन्टाइनमा राखिएको जानकारी दिएको छ । यसअघि चीनबाट आएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उहाँको उपचारपछि स्वस्थ भएको अवस्था छ ।
कोरोनाबाट बच्न के गर्ने ?
विश्वभर कोरोना भाइरसको त्रास देखिएको छ । यो भाइरसबाट अहिलेसम्म तीन लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । १४ हजार बढीको ज्यान गएको छ ।
नेपालमा पनि कोरोना भाइरसको प्रवेश भइसकेको छ । कोरोनाको संक्रमण नफैलियोस भनेर सरकारले विभिन्न कदम चालेको छ । यस्तो बेला सरकारले गरेको निर्णयहरु पालना गर्दै प्रत्यक्ष व्यक्तिले आफू सुरक्षित हुन आवश्यक सावधानी अपनाउनुपर्छ ।
कोरानाबाट बच्ने उपाय
नियमित हात धुने
कोरोना भाइरसबाट बच्ने एउटा उपाय नियमितरुपमा साबुन पानीले हात धुनु हो । मानिसले विभिन्न सम्पर्कको माध्यमबाट हातमा भाइरसका जीवाणु सारेको हुनसक्छ । जस्तो कि कसैसँग हात मिलाउँदा, कोरोनाको जीवाणु भएको ढोकाको ह्याण्डल वा कुनै सतहमा छुँदा भाइरस सर्छ ।
हात नधोई अनुहारमा छुँदा उक्त भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ । त्यसबाट संक्रमण फैलिन्छ । त्यसबाट बच्न बेलाबेलामा साबुनपानीले हात धुनुपर्छ । यसले भाइरसको संक्रमणबाट बचाउन सहयोग गर्छ ।
घर बाहिर ननिस्किने
कोरोना भाइरस कुनै लक्षण नदेखिएका मानिसबाट पनि सर्न सक्ने विभिन्न अध्ययनले देखाइसकेको छ । कुन मानिसलाई भाइरसको संक्रमण छ भन्ने बाहिरबाट हेरेर थाहा हुँदैन । त्यसैले घरबाहिर निस्किँदा भाइरस आफ्नो शरीरमा प्रवेश गर्ने जोखिम बढी हुन्छ ।
सकेसम्म घरमा नै बस्दा भाइरसबाट बच्न सकिन्छ । बाहिर निस्किनै पर्ने अवस्था आए यथेष्ट सावधानी अपनाउनु पर्छ । भाइरस रोक्नेखालका कपडा र मास्क अनिवार्य लगाउनुपर्छ । अनावश्यक भीडबाट टाढै बस्नुपर्छ । बाटोमा हिँड्दा पनि अर्को मानिससँग केही दूरी कायम राख्नु राम्रो हुन्छ ।
सार्वजनिक स्वास्थ्य सुझावको पालना
कोरोना भाइरसबाट बच्ने एक महत्वपूर्ण उपाय स्थानीय स्वास्थ सुझावको पालना गर्नु हो । स्थानीय स्तरमा भाइरसको प्रकोप वा जोखिम कत्तिको छ भन्ने आधारमा स्थानीय स्वास्थ्य निकायले सुझाव दिनेगर्छ । त्यसैले उक्त निकायले दिएको सुझावलाई अनिवार्य रुपमा पालना गर्नाले कोरोना भाइरसबाट बच्न सकिन्छ ।
प्रतिरक्षा क्षमता बढाउने
कुनै पनि रोगसँग लड्न मानिसको प्रतिरक्षा क्षमता निकै महत्वपूर्ण हुन्छ । कोरोना भाइरसले पनि कमजोर प्रतिरक्षा क्षमता भएका मानिसलाई आक्रमण गर्छ । त्यसैले यो रोगबाट बच्न प्रतिरक्षा क्षमता बढाउनु आवश्यक छ । त्यसको लागि आफ्नो आनिबानीमा ध्यान दिनुपर्छ । स्वस्थ खाना र स्वस्थ बानीले पनि मानिसको प्रतिरक्षा क्षमता बढाउँछ ।
शान्त रहने प्रयास
कोरोना भाइरसबाट बच्न सबैभन्दा पहिला आफ्नो मानसिक स्वास्थ्यलाई बलियो पार्नुपर्छ । कुनै हल्ला वा अफवाहबाट प्रभावित नभई आफ्नो सुरक्षाको लागि आवश्यक काम गर्दै जानुपर्छ । धेरै डराउने, आत्तिने गर्नु हुँदैन ।
यो एउटा कमजोर भाइरस हो । भाइरसको संक्रमण भएको खण्डमा पनि आफ्नो स्वास्थ्यको राम्रो स्याहार गरेको खण्डमा निको हुन्छ । विश्वभर तीन लाख ३८ हजारभन्दा बढी मानिसमा देखिएको यो संक्रमणबाट करिब एक लाख मानिस निको भएर घर फर्किसकेका छन् । २ लाख १४ हजारभन्दा बढी मानिसमा यो भाइरसको सामान्य मात्र संक्रमण छ । त्यसैले यो भाइरससँग धेरै डराउनुभन्दा पनि सावधानी अपनाउन जरुरी हुन्छ ।