
सुनिल चौधरी
झुम्का, चैत २७ गते । थारु समुदायको शिरुवा पर्व नजिकिदै छ । नयाँ बर्षको आवसरमा प्रत्येक साल डिहवार (ग्रामथान) मा पूजा अर्चनागरी सिरुवा पर्व मनाउने परम्परा छ । बर्षकै पहिलो पर्व हुने मान्यता अनुसार शिरुवा पर्व भनिएको हो । तर यस वर्ष कोरोना कारण मेला नहुने भएको हो ।
नयाँ बर्ष २०७७ सालको अवसरमा भिडभाड नगरी बिधिवत पूजागरी मनाउने ग्रामिण थानपतिको भनाई छ । चैत मसान्त देखिनै पूर्वमा शिरुवामेला सुरु हुन्छ । इटहरी वडा नं. १८ महोलिया टोलका जहदा (जब्दी) मेला चैत ३० गते लाग्ने गर्छ । यस जहदा सिरुवा मेलाबाट सुरुभै बिभिन्न स्थानमा बैशाख भरीनै मेला लाग्ने गर्छ ।
कोरोना कोभिड –१९ महामारीले निम्त्याएको संकटले जहदामा यस बर्ष बिधिवत पूजा मात्र गरिने भएको छ । बिहानदेखि पूजा शुरु गरेर छोटो समयमा सम्पन्न गर्ने बताइएको छ । गत बर्ष मेला संयोजक रहेका बसन्त चौधरीकाअनुसार चलिआएको संस्कारलाई संरक्षण पनि गर्नुपर्ने भएकोले हालको अवस्थामा छोटो पूजामात्र गरिनेछ ।
इटहरी वडा नं. १६ स्थित रहेको जब्दी डिहवारमा पनि पूजा मात्र गरिने जनाइएको छ । वडाअध्यक्ष तथा जब्दी डिहवारका अध्यक्ष समेत रहेका दिपनारायण चौधरीले संकटको घडीमा बिधिवत पूजा मात्र गरिने बताउनुभयो । पकलीस्थित जब्दीमेला बैशाख ८ गते लाग्ने गरेको छ ।
भिडभाडले कोरोना फैलिने भएकोले मेला लगाउने र भिडभाड गर्न नहुने वडाअध्यक्ष चौधरीले सुझाव दिएका छन् । बैशाख १ गते लाग्ने मेला पनि स्थगित गरिएको वडाअध्यक्षले जानकारी दिनुभयो । सिरुवा पर्वमा डिहवारको नामले घरमै पान, सुपारी, लड्डु चढाएर कामना गरे मनोकामना पुराहुने विश्वास गरिएको छ ।
थारु कल्याणकारिणी सभाका पुर्व जिल्लासचिव समेत रहेका मनोज चौधरी (थारु) ले कोरोना संक्रमितको सम्भावित जोखिमले यस बर्ष सिरुवामा भिडभाड हुनेप्रति सबैजना सजग हुनैपर्ने बताउनुभयो ।
यसैगरी अधिकारकर्मि मनोज चौधरी, कानुन ब्यवसायी रामराज चौधरी, थाकस जिल्ला अध्यक्ष सुरेन्द्र चौधरी, थारु महिला सभा जिल्ला अध्यक्ष शुसिला लेखी, थारु महिला उत्थान समाज रामधुनी सुनसरीकी अध्यक्ष सीता थरुनीले समेत यसबेला सबैजना सजग र सावधानी अपनाउनु पर्ने सुझाव दिनुभएको छ ।




