हमार पहुरा डट कम
काठमाडौं, वैशाख १६ गते । कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वव्यापी भइरहेका बेला नेपालमा पनि सो भाइरस संक्रमित संख्या बढ्दै गएको छ । मंगलबारसम्मको सरकारी तथ्याङ्क अनुसार संक्रमित संख्या ५४ पुगेको छ भने १६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
रौतहटको थप दुईजनामा संक्रमण पुष्टि भएपछि संख्या ५४ पुगेको हो । बृन्दाबन नगरपालिका वडा नं. ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
संक्रमित दुवैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । भुसहाका २५ वर्षिय पुरुष भारतको कोलकाताबाट फर्केका थिए । रौतहटस्थित चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर उनी घर फर्केका थिए । जनकपुरबाट खटेको प्रादेशिक चिकित्सक टोलीले र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा उनको रिपोर्ट नेगेटिभ आउँदा घर फर्काइएको थियो ।
तर पछिल्लो रिपोर्ट अनुसार उनलाई संक्रमित देखिएपछि ती युवाको खोजि भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, देवाही १ का ३५ वर्षका पुरुषमा पनि पोजेटिभ देखिएपछि उनलाई अहिले क्वारेन्टाइनमै राखिएको छ । काठमाडौंबाट गएको चिकित्सक टोलीरे रौतहटका ८३ जनाको स्वाव वैशाख १२ गते संकलन गरेर ल्याएको थियो । त्यसकै रिपोर्टअनुसार दुईजनामा संक्रमण पोजिटिभ देखिएको हो ।
संक्रमण फैल्न नपावस् भनेर सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन (बन्दाबन्दी) को घोषणा गरेको थियो । अहिले यो अवधि वैशाख २५ गतेसम्मका लागि कायम गरिएको छ । छिमेकी मुलुक भारतमा समेत संक्रमित संख्या बढ्दैगएको र करिब हजार जनाको हाराहारीमा मृत्यु भएको प्रतिवेदन छ । तर नेपालमा अहिलेसम्म संक्रमितको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।