नेपालगञ्जका पछिल्ला संक्रमितहरु पहिले देखिएको परिवारका सदस्य

कोरोना संक्रमित संख्या ७५ पुग्यो


गोविन्द शर्मा
बाँके, वैशाख २१ गते । नेपालगन्जमा ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको दुई दिनपछि थप पन्ध्र जनामा कोरोना भएको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा आइतबार पिसिआर चेकजाँमा थप पन्ध्र जनामा कोरोना भएको पुष्टि भएको हो । नयाँ सङ्क्रमितहरू पहिलो सङ्क्रमितका परिवारका सदस्य र आफन्त हुन ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेकाअनुसार कोरोना सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका घरपरिवारका सदस्य लगायत ९० जनाको शनिवार स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये ३० जनाको परीक्षण गरिदा पन्ध्र जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पतालका चिकित्सक डा. बद्री चापागाईँकाअनुसार शनिवार सङ्कलन गरिएको मध्ये ६० जनाको स्वाबको परीक्षण कार्य चलिरहेको छ ।
सङ्क्रमित भएकालाई खजुरास्थित आईसुलेसन अस्पतालको रूपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लैजाने तयारी गरिएको छ । प्रहरीले पहिलो सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा गत चैत पहिलो साता सीमा पारी भारतको रुपैडिया–नानपारा पुगेर फर्केको पाइएको छ । प्रहरी श्रोतले भन्यो,–आप्mना बिरामी बुवालाई भेट्न पुगेका सङ्क्रमित लकडाउनको दुई दिन अघिमात्रै फर्किएको पाइएको   छ ।

नेपालगन्जको डिएसपी रोडमा बस्ने पहिलो सङ्क्रमित करिब एक किलोमिटर टाढा रहेको महेन्द्रपार्क नजिकै रहेको अन्सारी यान मस्जिदको सहायकको रूपमा कार्यरत रहनुभएको थियो । मस्जिद नजिकै मदरसामा विद्यार्थीलाई ट्युसन पढाउँदै आएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले भने सङ्क्रमितले तीन महिना यता भारत नगएको बयान दिएको जनाइएको छ ।

मस्जिदमा भारतीय र अन्य बाहिरी जिल्लाका व्यक्तिहरू आउने गरेको जानकारी दिएको कार्यालयले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले थप व्यक्तिमा सङ्क्रमण देखिएपछि सुरक्षा सावधानी अपनाइएको जानकारी दिनुभयो । बाँकेमा पछिल्लो पन्ध्रजनामा संक्रमित पुष्टि भएपछि अव नेपालमा संक्रमित संख्या ७५ पुगेको छ ।
(गोरखापत्रबाट)

तपाईको प्रतिक्रिया