हमार पहुरा डट कम
काठमाडौं, वैशाख २३ गते । नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि अब नेपालमा संक्रमित संख्या ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
बाँकेमा मात्रै कोरोना भाइरस संक्रमित संख्या अब २३ पुगेको छ । यद्यपि सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
संक्रमित संख्या बढ्दै गएपछि २५ गतेसम्म कायम रहेको लकडाउन समयावधि बढाउने तयारीमा सरकार रहेको छ । यद्यपि त्यसको आधिकारिक निर्णय २४ गते बस्ने मन्त्रिपरिषद बैठकले गर्नेछ ।
यसअघि काठमाडौं छाडेर जिल्ला गएकाहरु अहिले जिल्लामा असुरक्षित हुन थालेपछि काठमाडौं फर्कन खोज्नेको संख्या बढ्दैगएको छ । तर फर्किनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने काठमाडौंबासीको माग रहेको छ । लकडाउन शुरु हुनुअघि र लकडाउन शुरु भएपिछ उपत्यकाबाट करिब बाह्रलाख मानिस जिल्ला फर्केका थिए । २०७६ चैत ११ गतेबाट शुरुभएको लकडाउन अहिलेसम्म जारी छ ।