भोलेनाथ ‘बेहडाबाबा’ मन्दिरको महिमा

विचार

मनिराज जोशी

जय श्री बेहडा बाबा देवाधिदेव शंकर ।
प्रसन्नो भव विश्वात्मन् भोलानाथ नमोऽस्तुते ।।

भगवान भोलेनाथको महिमा अपरम्पार छ । यस ब्रहृमाण्डका कर्ताहर्ता र नियन्ता स्वयम् जगदीश्वर महादेव हुनुहुन्छ । एकबाट अनेक हुँदै चराचर जगतका सर्वसाक्षी भएर स्वयम् महारुद्र महारौद्र रुप धारण गरेर संहार गर्नुहुन्छ भने धाता–विधाता बनेर स्वयम् जगतस्रष्टा बन्नुहुन्छ । सर्वव्यापी, सर्वान्तरात्मा, द्वेताद्वैत, अगोचर, अनादि र अनिर्वचनीय स्वयम् भोलेनाथले गर्ने बालकौतुकता यो सृष्टि सौरभ हो भने उहाँको इच्छा एकमात्र जगत सञ्चालन कारण हो । एउटै सूर्य हजारौं जलपूरित घटामा प्रतिविम्बित भएजस्तै जलचर, थलचर, नभचर लगायत चतुर्विध देहधारीका पालनपोषण कर्ता पनि स्वयम् शंकर हुनुहुन्छ । उहाँको कृपा दृष्टिबिना यो जगत एकक्षण पनि रहन सक्दैन । जलका बुँदबुँदमा, माटाका कणमा स्थावर जङ्कमका परिपालक भएर आवश्यकतानुसारका उपभोग्य सामग्रीहरु उपलब्ध गराएर सिङ्गो ब्रहृमाण्ड सञ्चालन गर्नुभएको छ । उहाँको महिमा बारेमा भनिन्छ, “असितगिरिसमेस्यात् कजलं सिन्धुपात्रे । सुरतरुवरशाखा लेखनीपत्र मुर्बी । लिखतिइतिगृहित्वा शारदा सर्वकालं । तदपि तव गुणानांभीशापारं न याति” अर्थात् यो सारा धर्ती कापी बनोस् समुद्रको सवै जल मसी बनोस् यस धर्तीमा उम्र्रेका रुख वृक्षहरुका कलम बनून् स्वयम् शारदा लेख्न लाग्दा पनि हजुरको महिमा पार पाइदैन ।

भोलेबाबालाई आशुतोष भगवान भन्ने गरिन्छ । आशुतोष भनेको छिटो खुशी हुने भगवानको नाम हो । मेरो व्यक्तिगत व्याख्या भावावेशमा आँशु लिएर भगवानका शरणमा जाने हो भने तोष भईहाल्ने, अर्थात् पूmल–फल, भेटी केही पनि नचढाएर शरणागत भएकैमा र दुःख पुकार गरेकै भरमा प्रसन्न अर्था्त तुष्ट भइहाल्ने हुनाले भगवानको अर्को नाम दीनानाथ पनि हो । हो, भगवान शिव दीनानाथ हुनुहुन्छ धननाथ हुनुहन्छ । स्वयम् भगवान दिगम्बरधारी, जटाजुटधारी, बृद्ध बयलमा सवार, नागको माला र बाघको छालामा शोभित हुनुहुन्छ । धनाढ्य र पुँजिपतिकहाँ भगवान दृष्टिपात गर्नु हुन्न, भोका नाङ्गा, दीनदुःखी, रोगी र अशक्तका दीनतामा साथ दिनुहुन्छ । भोला शब्दको शब्दार्थ पनि यही हो । शरणामा आएकोलाई शरण प्रदान गरेर दुःख कष्टबाट बचाउनु हुन्छ । भोलेनाथको दरवार कैलास हो, जहाँ धन विद्या, बुद्धि रुप शृङ्गार जातपात आदिको महत्व हुँदैन । भगवानको प्रिय त्यो बन्छ जो “आत्मवत् सर्वभूतेषु,” समलोष्ठाष्मकाञ्चन” । यस्तै, बहुगुणले युक्त जगदाधार, जगदाश्रय, “सर्वभूतहीतेरत,” भगवानको जयहोस् ।

यिनै कृपासागर भगवानको, बेहडाबाबा, नामक शिवलिङ्गको महिमा छोटो शब्दमा पस्कने यस लेखको अभिप्राय हो । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका १६ रामपुरस्थित बेहडाबाबा नामक शिवलिङ्ग घनघोर जंगलको वीचमा छ । हालको आवादीले जंगल किनार भएपनि मृग, भालु, बदेल, हरिण विचरण गर्ने अग्लो भागकोवीचमा विराजित हुनुहुन्छ भोलेबाबा । बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्व, शिवरात्रि आदिमा दर्शनार्थीहरुको घुइचो हुन्छ । मित्रराष्ट्र भारतको दिल्ली, लखनऊ, बरेली, उत्तराञ्चलबाट धेरै श्रद्धालु भक्तहरु ओइरिने गर्दछन् । आवागमनको उचित व्यवस्था नहुँदा नहुँदै पनि पैदल हिडेर टाढाबाट आउने भक्तजनले मन्दिर परिसरको चालिस पचास विघा जमिन खचाखच भरिन्छ । यहाँ एकपल्ट आएर दर्शन गरिसकेपछि भोलेबाबाले यस्तो मोहनी लगाउनुहुन्छ कि पुनः आउने इच्छा स्वतःस्फूर्त जाग्छ । दुःख कष्ट र अभाव पूर्ति गर्न आउने भक्तजनका मनोकाक्षां पूराभएको कुरा यहाँ आगमन गर्ने दर्शनार्थीबाट सुन्न पाइन्छ ।

बेहडाबाबा नामाकरण सम्बन्धमा कुरागर्दा बृहद् अर्थात् धेरै भन्नलाई यहाँको स्थानीय भाषामा बेहड भनिन्छ । यसै बेहड शब्दलाई बाबासँग जोडेर बेहडाबाबा भनिएको जनश्रुति छ । तत्कालीन काशी बसोवास भएका एक तपस्वी ब्राहृमण कैलाशधाम तीर्थाटनका क्रममा स्वयम् भोलेनाथ प्रकट भएर दर्शन दिई आफ्नै हातले शिवलिङ्ग प्रदान गरी आफ्नै स्थानमा पूजा गरेर इच्छितफल प्राप्त गर्ने आदेश भएअनुसार भगवानबाट प्राप्त शिवलिङ्ग ब्राहृमणले श्रद्धा ल्याएर आएको भनिन्छ । हालको बेहडाबाबा मन्दिरको स्थानमा पुग्दा ब्राहृमणलाई दृढ शंका भई गाईगोरु चराइरहेका गोठालाका हातमा शिवलिङ्ग सुम्पेर ब्राहृमण दिशा गर्न गएछन् । नजिक जल नभेटाई नदीसम्म पुगेर स्नान शुद्धि गरेर फर्कदा शिवलिङ्ग समातेका गोठालाले शिवलिङ्ग वरको रुखमा राखेर आफ्नो घर फर्केछन् । ब्राहृमण फर्केर आउँदा गाई गोठालालाई नदेख्दा साह्रै आत्तिएर हेर्दा वरको फेदमा शिवलिङ्ग देखेपछि समात्न खोज्दा भुइमा खसेछ । भुईबाट समात्न खोज्दा माटोमा गाडिएछ । जमिन खनेर खोज्दा धेरैदिन भयो र जमीन पनि खन्दा डाँडाकाँडा भएछ । शिवलिङ्ग समात्न नसकिएपछि ब्राहृमण अत्यन्त दुखित भएर रोदन गर्दा पुनः भोलेनाथ प्रकट हुनुभएछ । आपूmलाई यो स्थान राम्रो लागेर यही बस्ने कुरा आज्ञा गरेर ब्राहृमणलाई तिमी जहाँ मन्दिर निर्माण गर्नेछौ त्यहाँ म प्रकट भएर तिम्रो मनोकामना पूरा गर्नेछु भन्नुभएछ । दुःख नमान, जाऊ भनि विदा गरेपछि ती ब्राहृमणले भारतको हालको उत्तरप्रदेश प्रान्त अन्तर्गत गोला भन्ने ठाउँमा शिवमन्दिर निर्माण गरेछन् । भगवान प्रकट भएर इच्छित बर दिनुभएछ । हालसम्म सो गोलागोकर्णनाथ नामले उक्त मन्दिर चर्चित हुँदै लाखौंलाख भक्तजनको आस्थाको केन्द्र बन्न पुग्यो ।

यता जंगलमा गडेको शिवलिङ्गमा एउटा गाई आएर दिनदिनै दूधका धारा बहाउने रहिछन् । शिवलिङ्गमा दूध चढाउने गाइको बाछी दुर्वल भएर भोकले मर्न थालेपछि गाईगोठालाले के भएछ भनेर हेर्न खोज्दा गाइले जंगलकोवीचमा खाली जमिनमा दूधका धारा बगाएको देखेर खनेर हेर्दा शिवलिङ्गका साथै भगवानका ज्योतिलिङ्गको दर्शन पाएर गद्गद् भएर शिवजीको स्तुति गर्दा भगवानले यसै ठाउँमा मन्दिर निर्माण गरेर पूजा गर्न अह्राउनु भएछ । भगवानको आज्ञा शिरोधार्य गर्दै त्यो गोठालाले काठैकाठको शिवमन्दिर निर्माण गरेको जनश्रुति छ । यसको पूर्वाेत्तरतर्फ ठूला तलाउ छन् । जंगलमा ठाउँठाउँमा थुम्काथुम्की छन् । स्थानीय भनाईअनुसार ऋषिमुनीहरु बसेर त्यहाँ साधना गरेका थिए । अत्यन्त मनमोहक वनजंगल, वन्य जनावर एवम् बेलपत्र, शमी, रुद्राक्षजस्ता उपयोगी र विभिन्न औषधीजन्य वृक्षहरुले सुशोभित जंगल अत्यन्त चित्ताकर्षक छ । भोलेबाबाको शिवलिङ्ग वर्षेनी बढेर धेरै माथि पुगेको र हाल एक सानो आकर्षक शिवमन्दिर बनेको छ । वरिपरि कम्पाउण्ड धुनीधर, यज्ञशाला, धर्मशाला, मठमन्दिर आदि संरचना तयार भइरहेका छन् । मन्दिर वरपरका बाटाघाटा पुलपुलेसो निर्माणका चरणमा छन् । धनगढी बजारबाट करिब १५ किलोमिटर पूर्व दुरीमा रहेको यो मन्दिरमा आवागमनको उचित व्यवस्था भएमा धार्मिक पर्यटक केन्द्र बन्ने ठूलो सम्भावना छ ।

जमीन पनि खन्दा डाँडाकाँडा भएछ । शिवलिङ्ग समात्न नसकिएपछि ब्राहृमण अत्यन्त दुखित भएर रोदन गर्दा पुनः भोलेनाथ प्रकट हुनुभएछ

बाटोघाटो नहुँदै अनेक असुविधाका बावजुद पनि लाखौंलाख स्वदेशी–विदेशी दर्शनार्थीहरु आउने गर्दछन् । पानी, विश्राम, बाटाघाटा सुविधायुक्त वासस्थान भएमा दर्शनार्थीहरु ओइरिने निश्चित छ । सुदूरपश्चिम प्रदेश सरकार स्थानीय उपमहानगरपालिकाले यस मन्दिर निर्माणका लागि प्रयाप्त बजेटको व्यवस्था गरिरहेकाले आगामी दिनमा मन्दिरको भौतिक संरचना आकर्षक हुने विश्वास गर्न सकिन्छ ।

यस पङ्क्तिकारको लेखन तथा सम्पादनमा, बेहडाबाबा अनुष्ठान पद्धति, नामक मन्दिरको मौलिक पूजापाठ, कथा, हवन, पुष्पाञ्जलि र महिमा प्रकाशित छ । मन्दिरमा प्रवाहित चिसो हावा र वन्यजन्तुका कलवले मर्मस्पर्श गर्दा दर्शनार्थी मन्त्रमुग्ध हुन्छन् । दिनानुदिन आगन्तुक र ब्रतबन्ध कथा विवाह, तथा हवन, गराउनेको संख्या बढ्दो छ । भोलेनाथका नाममा दुई अक्षररुपी पुष्प अर्पण गर्न पाएकोमा गर्व गर्दै भोलेनाथको जयकार सदैव अधरामृत पान गरीराख्न पाउँ र भोलनाथको कृपापात्र बन्न सकूँ । जय शङ्गर ।

(लेखक ज्योतिष गुरु हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया