सात वर्षे व्यवस्थाले अव भारतीयले नेपालीलाई चेली दिंदैनन्ः कर्ण


हमार पहुरा डट कम
काठमाडौं, असार ८ गते । राज्य व्यवस्था तथा सुशासन समिति नागरिकता ऐन संशोधन विधेयक अघि बढाएपछि जनता समाजवादी पार्टीका नेताहरू आक्रोशित भएका छन्। सत्तापक्षले पेलेर अघि बढ्न खोजेको र कानुन परिवर्तनमा चित्तबुझ्दो कारण दिन नसकेको भन्दै उनीहरूले सदन र सडकमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

जनता समाजवादी पार्टी (जसपा) का नेता लक्ष्मणलाल कर्णले नागरिकतासम्बन्धी प्रचलित कानुनमा परिवर्तन गर्न जरुरी नै नभएको बताउनुभयो । ‘यसले मधेशको संस्कृति, हिन्दु रीतिरिवाज र नेपाल–भारत सम्बन्धमाथि ठूलो प्रहार भएको छ,’ कर्णले भन्ुभयो, “विवाह भएर आएपछि महिलाको कूल र गोत्र परिवर्तन हुन्छ, सनातनदेखि चलिआएको यो व्यवस्था तोड्न किन जरुरी पर्‍यो ? चित्तबुझ्दो कारण चाहियो नि ?”

भारतीय सीमा क्षेत्रका सबै ठाउँमा नेपाली र भारतीयबीच विवाह हुने गरेको भन्दै उहाँले अब ठूलो समस्या आउनसक्ने संकेत गर्नुभयो । नागरिकता नै नपाउने भएपछि अब भारतीयले जानीजानी किन नेपालीलाई छोरी दिन्छन् ? कर्णले प्रतिप्रश्न गर्नुभयो, “सीमा क्षेत्रमा यसले ठूलो समस्या निम्तिन सक्छ।”

संसदीय समितिबाट झिनो मतले यो विधेयक अघि बढेको भन्दै संसदमा आफ्ना कुरा राख्ने उहाँले बताउनुभयो । संसदमा पनि सत्तारुढ नेकपाको बहुमत भएकाले यो विधेयक समितिकै प्रतिवेदनका आधारमा जस्ताको तस्तै पारित हुने उहाँले बताउनुभयो । पेलेरै जाने रणनीतिमा सत्तापक्ष देखिए आफूहरू सडक आन्दोलनमा जान बाध्य हुने कर्णको चेतावनी छ ।

तपाईको प्रतिक्रिया