आदिबासी जनजाति उत्थान प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त


हमार पहुरा डट कम
काठमाडौं, असार ११ गते । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त हुनुभएको छ । सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई विहिबार सो पदमा नियुक्त गर्नुभयो ।

प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको सिफारिस समितिको सिफारिसमा घर्ती नियुक्त हुनुभएको हो । सो समितिमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगर सदस्य हुनुहुन्थ्यो ।

सिफारिस समितिले घर्तीसहित अन्य दुई जनाको नाम सिफारिस गरेको थियो । प्रतिष्ठानको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । उपाध्यक्ष प्रतिष्ठानको कार्यकारी पद हो । उपाध्यक्षको कार्यकाल चार वर्षको रहने व्यवस्था छ ।

घर्ती तत्कालीन नेकपा एमाले संसदीय दलको सचेतक हुनुहुन्थ्यो । उहाँ पार्टीको आदिवासी जनजाति इञ्चार्जको जिम्मेवारी पनि निर्वाह गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया