हमार पहुरा डट कम
काठमाडौं, असार ३० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सक्कली अयोध्या नेपालमै रहेको र भगवान ‘राम’ पनि नेपाली रहेको अभिव्यक्ति दिनुभएपछि सामाजिक सञ्जालमा तरङ्ग आएको छ । राजनीतिक दलका नेताहरुको त्यसबारे फरक फरक टिप्पणी आइरहेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार आदिबासी भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा सो अभिव्यक्ति दिनुभएको थियो ।
नेकपाका उपाध्यक्ष वामदेव गौतमले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले असार २९ गते कार्यक्रममा रामको जन्मभूमि नेपालको पर्सामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ ।”
अयोध्या नेपालमा पर्छ, राम नेपाली थिए या थिएनन् भन्ने अध्ययन अनुसन्धानको खाँचो रहेको बताउनुहुँदै उपाध्यक्ष गौतमले थप्नुभएको छ, “कमरेड ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँले चाहने हो भने सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, तथ्यसंगत विश्लेषण गर्न साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ ।”
दुई वर्ष पहिले आफू उहाँलाई बालुवाटारमा भेट गर्न गएकाबेला सो बिषयबारे चर्चा गर्नुभएको स्मरण गर्नुहुँदै उपाध्यक्ष गौतमले विना अध्ययन अनुसन्धान सो बारेमा सार्वजनिक धारणा नराख्न आफूले त्यतिबेला सुझाएको दावी गर्नुभएको छ ।
“मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न होला भन्दै सल्लाह पनि दिएको थिएँ” गौतमले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका लागेको थियो ।”
भगवान रामको जन्म जहाँ भएपनि कम्युनिष्टहरुलाई केही फरक नपर्ने भन्दै उपाध्यक्ष गौतमले भन्नुभएको छ, “रामको जन्मभूमि सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ, त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं आत्मालोचना गर्न म उपयुक्त ठान्दछु ।”
त्यस्तै, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेता डा. बाबुराम भट्टराई, राप्रपाका नेता कमल थापा, नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला, विश्वप्रकाश शर्मा, नेकपाका नेता भीम रावल लगायतले सामाजिक सञ्जाल र मिडिया मार्फत् प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति टिप्पणी गर्नुभएको छ । भगवान राम र अयोध्याबारे अहिले वहस गर्ने उपयुक्त समय नभएको सुझाव ती नेताहरुको छ ।