कमैया मुक्तिको २० वर्ष पुग्यो, पुनरस्थापनाको काम अझै सकिएन


अविनाश चौधरी
धनगढी, साउन २ गते । कमैया मुक्तिको दुई दशक पुगे पनि मुक्त कमैयाको अझै पुनस्र्थापनाको काम सम्पन्न हुन सकेको छैन । विगतमा भएको उदासिनता र नयाँ संचरनामा संयन्त्र अभावका कारण पुनस्र्थापनाको कार्य अझै नटुङ्गिएको हो । पुनस्र्थापनाको जिम्मेवारी स्थानीय तहलाई दिइएपछि यो कार्य झनै अन्योल बनेको छ ।

बँधुवा मजदुरको रुपमा जमिन्दारको घरमा काम गर्ने कमैयालाई तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५७, साउन २ गते मुक्त भएको घोषणा गरेको थियो । मुक्त भएको खुशीयालीमा कमैयाले विविध कार्यक्रम गरेर दिवस पनि मनाउने गरेका छन् । कमैया मुक्ति घोषणा गरेको केहि वर्षभित्रै सबैको पुनस्र्थापना गरिने भनेर सरकारले विभिन्न समयमा लगत लिए पनि पुनस्र्थापनाको काम अझै बाँकी छ । पुनस्र्थापना गर्न बाँकी रहेका कमैयाको पुर्नस्थापनासँगै रोजगारी र जीविकोपार्जनको मुद्दा पनि जल्दोबल्दो छ ।

सरकारी तथ्याङ्कअनुसार कैलालीमा आठ हजार ९१० मुक्त कमैया परिवारले परिचयपत्र पाएका छन् । जसमध्ये आर्थिक वर्ष २०७५÷७६ सम्म आठ हजार ५४६ परिवारको पुनस्र्थापना भएको छ । ३६४ परिवारको पुनस्र्थापना हुन बाँकी रहेको छ ।

तर, मुक्त कमैयाको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले परिचयपत्र पाएका १८७ र लालपूर्जा भएर पनि जग्गा नपाएका १९३ गरी ३८० परिवारको पुनस्र्थापना हुन बाँकी रहेको दाबी गर्दैआएका छन् । स्थानीय तहमा संयन्त्र नहुँदा गत आर्थिक वर्षमा पुनस्र्थापनाको काम नभएको मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।

स्थानीय तहलाई पुनस्र्थापनाको जिम्मेवारी दिइपछि बाँकी परिवारको पुनस्थापनाको कार्य झनै अन्योल भएको छ’, उहाँले भन्नुभयो । किनभने, स्थानीय तहमा कुनै पनि संयन्त्र छैन ।’

पुनस्र्थापनाको पखाईमा रहेका मुक्त कमैयाहरु कैलारी गाउँपालिकाको मिलनपुर, लम्कीचुहा नगरपालिकाको एकतानगर, टीकापुर नगरपालिकाको शिवनगर र गोदावरी नगरपालिकाको गेंटा मेडिकल कलेज शिविरमा बसेका छन् । यसैगरी सम्पर्कमा नआएको भन्दै सकारले १७३ जनाको परिचयपत्र बदर गरेको छ ।

बदर गरिएकोहरुको परिचयपत्रसमेत सदर गरेर आफूहरुले सम्पूर्ण मुक्त कमैयाको यथाशीघ्र पुनरस्थापना हुनु पर्ने माग गर्दै आएको चौधरीले बताउनुभयो । प्रदेश स्तरीय आयोग, जिल्ला स्तरीय समिति र स्थानीय तहमा संयन्त्र बनाएर पुनस्र्थापना गरियोस भनेर आवाज उठाइरहेका छौं’, उहाँले भन्नुभयो ।

सरकारले मुक्त कमैयाको समस्या समाधानका लागि दुई पटकसम्म लगत लिएको थियो । यसैगरी, पहिलो संविधान सभाका सभासद् हरि श्रीपाइलीको संयोजकत्वमा मुक्त कमैया, हलिया पुनरस्थापनाका लागि उपसमिति पनि गठन गरिएको थियो ।

समितिले अध्ययन गरेर कमैया र हलियाको पुनस्र्थापनाका लागि २०६६ सालमै सरकारलाई प्रतिवेदन बुझाएका थियो । तर, राज्य गम्भीर नभएको श्रीपाइलीले बताउँदै आउनुभएको छ । समितिले प्रतिवेदन बुझाएको पनि दशक पुगिसकेको छ ।

यसैगरी, छुट मुक्त कमौया परिवार झनै समस्यामा छन् । लगतमा छुटेपछि उनीहरुसंग मुक्त कमैया रहेको प्रमाण नै छैन । उनीहरु धनगढी उपमहानगरपालिकाको राधाकृष्ण बस्ती, बसन्त टोलमा सरकारी जग्गा कब्जा गरेर बसेका छन् ।

पुर्नस्थापना त परै जाओस हामीले परिचयपत्र नै पाएका छैनौं’, राधाकृष्ण बस्तीका बजारी चौधरीले भन्नुभयो । उल्टै हामीलाई बसेका ठाउँबाट भगाउन वडा कार्यालयले नै विभिन्न जालझेल गर्दैछ ।’

गुजारा गर्न समस्या

मुक्त कमैयालाई गुजारा गर्न गाह्रो भएको छ । रोजगारीको व्यवस्था नहुँदा उनीहरु समस्यामा परेका हुन । बन्दाबन्दी र कोरोना असरका कारण धेरैलाई हातमुख जोड्न धौ–धौ भएको समाजका अध्यक्ष चौधरीले बताउनुभयो । ‘कोरोनाको प्रभाव सबैभन्दा बढी मुक्त कमैयालाई परेको छ’, उहाँले थप्नुभयो । ‘किनभने, साँझ विहान काम नगरेसम्म कमैयाको चुलोमा आगो बल्दैन ।’

पुनरस्थापना गर्दा घरबासमात्रै दिइएकाले मुक्त कमैयालाई गुजाराका लागि मजदुरीबाहेक अरु विकल्प छैन । तर, कोरोनाले मजदुरी पनि खोसेको छ भने, कामका लागि भारत गएकाहरु पनि फर्केका छन् ।

दुर्गम क्षेत्र र गाउँघरमा काम नपाइने गरेकाले कमैयाहरु जटिल समस्याबाट गुज्रिरहेको चौधरीको भनाइ छ । ‘के खाउँ, के लाउँ भन्ने अवस्थामा छन्’, उहाँले भन्नुभयो । ‘मुक्त कमैयालाई तत्काल काम दिन जरुरी छ ।’

(गोरखापत्र अनलाइन डट कमबाट)

तपाईको प्रतिक्रिया