नेकपा उपाध्यक्ष गौतमले भन्नुभयो, ‘म कुनै गुटमा संलग्न छैन’


हमार पहुरा डट कम
काठमाडौं, साउन २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र आफू कुनै गुटमा संलग्न नरहेकाले कुनै गुटमा संलग्न नगरिदिन आग्रह गर्नुभएको छ । शुक्रबार आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक गर्नुहुँदै उपाध्यक्ष गौतमले त्यस्तो आग्रह गर्नुभयो ।

“पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको वैठक वा भेलालाई म गुट मान्दैन, मलाई यो वा त्यो गुटसँग सम्वन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु” भन्नुभएको छ । पार्टी अध्यक्ष केवल व्यक्तिमात्र नभई पार्टीभित्रको सर्वस्वीकार्य संस्था भएको उहाँले प्रष्ट पार्नुभएको छ ।
“पार्टी अध्यक्षहरु दुवै वा एक्लै उहाँहरुले बोलाउँदा मैले भेट्ने गरेको छु” उल्लेख गर्नुहुँदै उपाध्यक्ष गौतमले भन्नुभएको छ, “मैले समय–समयमा भेट गरेको बेला क. ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु, क. प्रचण्डलाई पनि उहाँकै अगाडि उहाँको आलोचना गर्ने गरेको छुँ ।”

अहिले पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसग्दा तीनवटा विचार समुह देखापरेको उहाँले चर्चा गर्नुभएको छ । समूहमा अध्यक्षद्वय ओली, प्रचण्ड र वरिष्ठ नेता नेपालको नाम उहाँले उल्लेख गर्नुभएको छ । तर आफू कसैसँग न जोडिएको उहाँले प्रष्ट पार्नुभएको छ ।

“यी समुहमा कसैसँग म जोडिएको छैन र जोडिन पनि चाहन्न, तर क.ओली र क.प्रचण्डले भेट्न बोलाउँदा म जाने गरेकोछुँ, सल्लाह सुझाव र राय पनि दिने गरेको छुँ” उपाध्यक्ष गौतमले थप्नुभएको छ, “मैले आफुलाई स्वतन्त्र राख्ने कोसिस पनि गरेको छु, पछिल्लो समय मैले पार्टीमा राखेको ६ बुंदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो ।”

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएका सुशील भट्टलाई प्रधानमन्त्री समक्ष सिफारिस गरेको समाचारको उहाँले खण्डन गर्नुभएको छ । “प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सर्बत्र मिडियामा व्याप्त पारिएको छ” उहाँले आपत्ति जनाउनुभएको छ ।

“सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन, यो मेरो सरोकारभन्दा बाहिरको विषय हो” उहाँले प्रष्ट पार्नुभएको छ ।

तपाईको प्रतिक्रिया