थारु मानक भाषा बहस – ३

दृष्टिकोण

भुलाई चौधरी

हिन्दीमा एउटा भनाई छ: “छोटी मुंह बडी बात” । यो भनाईको अर्थ थाहा हुँदाहुँदै पनि थारुको वर्तमान समस्याबाट प्रेरित भएर एक-दुईटा कुराहरु सरोकारवलाको सेवामा पस्कन जमर्को गरेको छु । आशा छ कि यो मानक बहसमा यी कुराहरुले साथीहरुलाई केही मद्दत गरोस् ।

परिचय

मानक तयार गर्नु फलामको चिउरा चपाउनु जस्तै अप्ठ्यारो काम हो । सही मानक तयार गर्न धेरै जानकारी र अनुभव आवश्यक हुन्छ । मेरो अनुरोध छ कि यो मानक बनाउने जगमा सबैजना आ-आफना जानकारी र अनुभव लगानी गरेर यो जगलाई सफल गरौ । थारु भाषा थारुको मातृभाषा हो । यो अदौको भाषा हो । यो आमा सरहकै महत्वपूर्ण चीज हो । यो भाषा अतुलनीय भाषा हो । यसको विकल्प हुँदैन् ।

थारु भाषा भारतीय उत्तरी उपमहाद्वीपका सबैभन्दा पूरानो भाषा हो । यो भाषा थारु जतिकै पूरानो हो । यो भाषा धेरै सजिलो तथा साँस्कृतिक मिठो, भावनात्मक गीत-गोद्हनले भरीभराव भाषा हो ।

थारु भाषाको अनेकरुप हुनुका कारण

थारुहरु धेरै लामो समयदेखि पूर्व झापादेखि पश्चिम महाकलीसम्म भू-भागमा बसेको र घना बनजंगलले गर्दा एकअर्काबाट सम्पर्क वीहिन भई छुट्टाछुटै बस्न बाध्य भएर र भाषाको केवल मौखिकरुप भएर शुरुमा थारुभाषा एउटै भाषा हुँदा-हुँदै पनि अहिले ६-१७ किसिमका थारुभाषा भएको बुझिन्छ (खानाल,गीता, पी.एच.डी.को थेसिस) । उनको अनुसार थारु एक छ, तर उनीहरुका भाषा अनेक छन् ।

थारु भाषा भारतीय उत्तरी उपमहाद्वीपका सबैभन्दा पूरानो भाषा हो ।

हुनत सबैलाई थाहा नै होला कि मानक बाट केही बेफईदा पनि छ । त्यो के हो भने मौखिक रुप तरल हुन्छ र लिखित भाषा साहित्य, व्याकरण र मानक भाषाको ठोस रुप हो । तरल रुप पानी झै आफ्नै प्रवाहमा बगीरहन्छ तर ठोस रुप न भएर उसको सरोकारवाला पनि रुप परिवर्तन भएको थाहा पाउदैन, जसलेगर्दा संधै उसले त्यसमा हकदावी गरिरह्न्छ । तर मानक भएको भाषा ठोस रुपको प्रतिक भएर उसले बग्न पाउदैन र उसको आफ्नै मौलिक रुपबाट छुटिन्छ । उसले त्यो बगिरहेको रुपलाई मेरो हो भने भन्न पाउदैन । हाम्रो थारु भाषा विभिन्न ठाउँमा आ-आफ्नै किसिमले धेरै लामो समयदेखि बगिरहेको कारणले पनि थारु भाषामा फरक देखिएको हो ।

थारु भाषा लिंग, वचन र आदार्थीरुपी झंझटबाट मुक्त: 

थारु भाषा मौखिक भएकोले मेरो बुझाईमा उच्चारण, लेखाई तथा केही सहायक क्रिया पदहरु यता-उता भएर केही फरक परेको हो तर पनि भाषाका केही आवश्यक व्याकरणिक नियमहरु जुन भाषाका मुख्य तत्व सरह हुन् । जस्तै: लिंग, बचन, आदार्थी, पुरुष ईत्यादि उस्ताको उस्तै हुन्छ । थारु भाषामा लिंग, वचन, आदार्थी जस्ता कुराहरु, जुनबाट  प्राय: विकसित भाषाहरु पीडित छन् । ती झंझटहरुबाट थारु भाषा मुक्त    छ । थारु भाषामा न लिंगको झंझट छ न वचनको न आदार्थीको । जस्तै: सीता भात खाईछै, राम भात खाईछै । यहाँ सीता स्त्रीलिंड, राम पुलिंड दुई लिंङका हुँदा-हुँदै पनि क्रियामा फरक परेको छैन् । त्यस्तै विद्यार्थी भात खाईछै, विद्यार्थी सब भात खाईछै । यहाँ पनि विद्यार्थी र विद्यार्थी सब एक वचन र बहुवचनका हुँदा पनि क्रियामा फरक परेको छैन् । त्यस्तै: बाबु भात खाईछै, बिलाई भात खाईछै । यहाँ पनि आदार्थीको विचार गरिएको छैन् ।  मेरो विचारमा थारु भाषाका यी विशेषताहरु जुन सुक्कै ठाँउको थारु भाषामा छ र यी विशेषताहरुले गर्दा नै थारु भाषा बिना सेवा सुसारको अहिलेसम्म जीवित छ । यस्तै किसिमले सप्तरीहरुको थारु भाषाका सहायक क्रिया पदहरु प्रथम पुरुष वर्तमान कालमा एकवचन, बहुवचनका पुलिंग र स्त्रिलिगमा एउटै हुन्छ : “चियै”,”चियौ”, भूतकालमा पनि एउटै हुन्छ (“यै”, “यौ”) त्यस्तै भविष्यत कालमा पनि “वै” “वौ”ले काम पुगी हाल्छ । त्यस्तै द्वितीय पुरुषमा सबै वचन र सबै लिंगमा वर्तमान कालमा “चिही” भूतकालमा “लिही” र भविष्यत् कालमा “विही”ले पुग्छ भने तृतीय पुरुषमा पनि सबै बचन र लिंगमा वर्तमान कालमा “छै” भूतकालमा “कै”,”लै” तथा भविष्यत् कालमा सबै वचन र सबै लिंगमा मात्र “तै”, “तौ” बाट काम चलिहाछ ।

थारु भाषाका केही तीता-मीठा अनुभव

मलाई लाग्छ मसंग मात्रै होईन, थारु भाषा विकास सम्बन्धमा काम गर्ने जुनसुकै साथीसंग केही न केही व्यवहारिक अनुभवहरु होला नै । जीवनमा मेरा तीनवटा उद्देश्य थियो (१) स्त्री शिक्षामा जोड (२) दाईजोको बिरोध गर्नु र (३) थारु भाषाको प्रचार-प्रसार गर्नु । मेरो यो अभियान थरुहटमा प्रचार-प्रसार हुँदा एउटा गाँउमा यस सम्बन्धमा कुरा बुझ्न निम्ति मानिसहरु रातमा मलाई बुलाउनु भयो । म ठिक समयमा पुगे । रातमा विस्तारै विस्तारै दुई गाँउका मानिसहरु जम्मा भए । कुराकानी बडो भद्ररुपमा अगाडि बढ्यो । कुरै कुरामा थारु भाषाको कुरा आयो ।  थारु भाषाको कुरा आउँदा म तिर रिसाएर मानिसहरु भन्न थालेकि तपाईले आफू डाक्टर, ईन्जिनीयर बन्न नसकेर अरुहरु पनि डाक्टर, ईन्जिनीयर नबनोस् भनेर त होला नि ? सबैलाई थारु भाषामा अल्झाई राख्ने ? के यै थारु भाषाको पछि लागेर थारुहरु अगाडि बढ्न सक्लान्? अहिले मानिसहरु कोई नेपाली त कोई ईगलिश त कोई जापानी कोई कोरियन भाषा सिकिरहेका छन् । थारुले यै थारु भाषा पढेर अमेरिका, जापान वा कोरिया जाने हुन् ? भनेर म प्रति बिरोध जनाए । उनीहरुलाई मातृभाषाको महत्व बारे धेरै सम्झाउदा पनि उनीहरुले भन्ने गरेका थिए कि थारु भाषालाई जति मिहनत गर्दा पनि आयोगको जाँच नेपालीमै दिनुपर्ने हुन्छ । त्यसकारण थारु भाषालाई अप्ठ्यारो बनाएर यसमा धेरै समय खर्चिनु हुनुहुँदैन् । हामीलाई बोल्न सिकाउनु पर्दैन । केवल थारु भाषामा लेख-पढ गर्नसम्म बनाउन सक्नु नै उनीहरुको जिकिर थियो ।

अर्को कुरो मध्य-पूर्वी थारु नेपाली शब्दकोश २०७३ सालमा तयार भयो । यसलाई व्यवहारमा ल्याउन यस अनुसार उच्चारण, ध्वनी र अक्षर अनुसार शब्द निर्माण गर्ने, भाषाको प्रचार-प्रसार गर्ने क्रममा हामी “थारु भसा साहित्य केन्द्र नेपाल” नाम गरेको संस्था दर्ता गराएर कार्यक्रम अगाडि बढाउदा “भसा” हिज्जै लेख्ने गर्दा हरेक कार्यक्रममा धेरै बिरोध सहनु परिरहेको छ। यति मात्रै होईन कि उच्चारण, ध्वनी र वर्णको आधारमा लेख्ने हिज्जेलाई भंगेरा चरालाई खंजनचरासंग दाजेर न राम्रो किसिमले टिक्का-टिप्णी गर्न समेत साथीहरुले पछि परेन् । त्यसकारण यो थारु भाषाको विकाशको क्रममा काम गर्दा यस्ता किसिमका अनुभवहरु पनि ध्यानदिनु नितान्त जरुरी छ । नत्र अहिलेको युवा पीढीको सोचाई अनुसार मात्रै काम गर्ने हो भने हामीले बनाएको मानक समाज अनुसार न हुन पनि सक्छ । समाजको लागि उपयोगी भएन भन्ने कसरी यो मानक हुन्छ? यो सोच्नु जरुरी छ ।

हामीले ध्वनी र उच्चारणको भरमा शुद्ध-शुद्ध शब्द निर्माण गर्न गाह्रो हुन्छ । मैले नै कैयौ पटक आफ्नो नामभन्दा पनि धेरै मानिसहरुले शुद्ध शुद्ध मेरो नाम लेख्न सकेका छैनन् । त्यसकारण ध्वनी र उच्चारणलाई नै शब्द निर्माणमा सर्वेसर्वा बनाउनु हुँदैन् ।

भाषाले व्याकरण, शब्दकोश वा मानक बनाउछ नाकि व्याकरणहरुले भाषा 

भाषाले व्याकरण, शब्दकोश वा मानक बनाउछ नाकि व्याकरणहरुले भाषा । भाषालाई अर्को उपभोगतासम्म पुर्याउनु छैन् भने व्याकरण, शब्दकोश तथा मानक न हुँदापनि हुन्छ। अहिलेसम्म यी चीजहरु बिना पनि भाषाका काम-काज चलेकै छ । खास गरेर कुनै भाषा परेर वा पढेर सिक्छ । मातृभाषीलाई मातृभाषा : सिक्न कुनै व्याकरण, शब्दकोश र मानक चाहिदैन । तर अरु मातृभाषी अर्काका  मातृभाषा सिक्नुछ भने उनीहरुको लागि व्याकरण, शब्दकोश र मानक हुनु जरुरी छ । यसको साथसाथै कुनै सरकारी संस्था, स्कूल र विश्वविद्यालयलाई कुनै भाषा चिनारी गराउन छ भने त्यस भाषाका व्याकरण, शब्दकोश र भाषाका मानक चाहिन्छन् ।

मानक तयार गर्नु सजिलो छैन्

मानक तयार गर्नु सजिलो छैन् । त्यसमा पनि थारु भाषाको जुनमा धेरै भाषिकाहरु छन् । यहाँ सत्रह वटासम्मका  भाषिकाहरु छन्। सबै आ-आफ्नै भाषिकाको पक्षमा छन् र ती भाषिकाहरुको अहिलेसम्म तुल्नात्मक अध्ययन-अनुसंधान भएको छैन् । यी भाषाहरुमध्ये कुन-कुन भाषा एक-अर्कासंग कतिको मिल्छ र के मिल्दैन अध्ययन हुनु जरुरी छ । मानक लेख्न छलफल हुनु पर्ने आवश्यक बहसहरु मध्ये हाम्रो बहस अहिलेसम्म थारु शब्दको बनौट, देवनागरी लिपिका कुन वर्ण राख्ने? कुन न राख्ने र आगन्तुक शब्दहरुको पहिचान र प्रयोगसम्म मात्रै निहित छ । मानक लेख्ने आवश्यक अन्य कुराहरु बहस हुन बाँकी नै छन् । थारु भाषाको मानक बन्ने एउटै बलियो आधार के छ भने सबै भाषिकाको जडा एउटै छ । मानक भाषा भनेको सबै सरोकारवालाहरुको बिना हारको एउटै सर्वमान्य सामाजिक भाषा तयार हुनु हो जो सम्पर्क भाषाको काम गर्न सकोस् ।

हुन त मध्य-पूर्वीया थारु नेपाली शब्दकोश २०७३ सालमा मातृभाषा सेवा केन्द्रको अगुवाईमा तयार भयो । यो मध्य-पूर्वीया थारु भाषाको मानक होईन । यो मध्य-पूर्वीय थारु भाषाको मानक लेख्न सहयोग गर्ने ठूलो आधार हो । यहाँ पूर्वका जिल्लाहरुमा बोलिने भाषाहरु एकैठाउँमा समान मान्यताका साथ समावेश गरिएको छ जसले गर्दा सबै जिल्लावलाहरु एक-अर्काका भाषाबाट परिचित होऊन र भोलि गएर यो सम्पर्क भाषा बन्न सकुन । यसको लागि पनि निकै थप कार्यक्रमको आवश्यकता छ जो भईरहेको छैन् । यो शब्दकोशसम्म बन्न सक्नु भोलि मानकको लागि ठूलै काम भएको छ । तर अहिलेसम्म पनि मध्य-पूर्वीभाषाहरु बीच कुनै साझा काम न भएर सबै आ-आफ्नै मातृभाषाको वकालत गरिरहेको देखिन्छ । यो सोंचले गर्दा शब्दकोश बन्दैमा मध्य-पूर्वी थारु भाषाको मानक बन्नसक्ला मलाई शंका नै लाग्छ ।

खैर मानक तयार गर्ने सम्बन्धमा हामीले हतोत्साहित हुनुहुँदैन् । हामीले अहिले बाईसै जिल्लाका एउटा मानक बनाउन न सक्दा पनि पहिले पश्चिमका बाँकी दश जिल्लाको अध्ययन अनुसंधानको आधारमा पूर्वको जस्तै शब्दकोश र व्याकरण ड्राफ्ट गरौ । यसले पश्चिमका जिल्लाहरुका भाषाको साथ-साथै पूर्वको भाषासंग तुल्नात्मक अध्ययन गर्न मद्दत मिल्छ । यो मानक हामी मातृभाषीयहरुको लागि न चाहिदा पनि सरकारी निकायसंग काम कारोबार गर्न चाहिन्छ नै । यो भएन भने सरकारी निकाय सजिलैसंग पन्छिन पाउँछ । यो मानक भनेको हामी सबै थारुले  एक-अर्का क्षेत्रको भाषामा पारंगत नै हुनुपर्छ भने होईन । तर आपसमा कुराकानी हुँदा कम्तामा अर्को सम्पर्क भाषाको जरुरी न होस् भने अवस्था बुझ्नु पर्छ ।

हामीले ध्वनी र उच्चारणको भरमा शुद्ध-शुद्ध शब्द निर्माण गर्न गाह्रो हुन्छ ।

यो मानक भाषाको आवश्यक्ता बारेको एउटा प्रसंग के राख्न चाह्छु भने २०५०-५१ सालतिर थाकसले थारु भाषामा पनि समाचार बाचन हुनुपर्छ भने अनुरोध गरेको थियो । यसको कार्यान्वयनको लागि सूचना मंत्रालयले थाकसलाई कुन थारु भाषामा समाचार वाचन गर्ने भनेर लेखी पठाउन सोधेको थियो । वाचनको लागि कहाँको भाषा लेखेर पठाउने सम्बन्धमा थाकसमा निक्कै चर्काचर्की आपसमा बहस भयो निष्कर्षमा पुग्न सकेनन् । त्यतिखेर १७ जना थारु माननीयहरु थिए । उनीहरु बीच पनि दुई दिन बहस भयो । निस्कर्षमा पुग्न सकेनन् । तेस्रो दिन म पनि एउटा निबन्ध “थारु भाषा एक कि अनेक” साथमा लिएर आए । मेरो राय माग्यो । मैले निबन्ध पाठ गर्न अनुमति मागे । मलाई निबन्ध पाठ गर्न अवसर दिईयो र याबाट समस्या पनि समाधान भयो । निष्कर्ष के थियो भने हामी क्षेत्री नाम नदिने केवल थारु भाषा भनेर सम्बोधन गर्ने, जतिखेर जुन क्षेत्रको वाचक हुन्छ उही क्षेत्रको भाषामा वाचन गर्ने भने कुरो सर्वसम्मतिबाट निर्णय भयो । त्यतिखेर थाकसको केन्द्रिय अध्यक्ष परशुनारायण चौधरी हुनुहुन्थ्यो । वहाँले वाचकमा दाङकै विनिता चौधरीलाई समाचार वाचन गर्न सिफारिस गरेर पठाउनु भयो । जुन अवस्था लगभग तीन वर्षसम्म चलियो । निबन्ध मेरो थारु संस्कृति पत्रिकामा पढन सकिन्छ । लेख्नुको अर्थ के छ भने यस्तो-यस्तो समस्या फेरि पनि कति आउनसक्छ । त्यसकारण तयार भएर रहनु बुद्धिमानी हो । २०५१-५२ सालदेखिनै पहल गरेको भए अहिलेसम्म बनिसकेको हुन्थियो होला । अब पनि हेलचक्राई नगरौ । मानक बनाएरै छाडौ । हो, मानकको लागि सबैभन्दा बढि ध्यान दिनु पर्ने कुरो के हो भने मेरो गोरुको बाह्रै टक्का वला मनस्थति लिएर कोई पनि नबसौ । हाम्रो मानक बन्छ, बन्छ ।

(लेखक थारु भाषा साहित्यका विज्ञ हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया