हमार पहुरा डट कम
काठमाडौं, साउन २७ गते । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा दुई वटा बीस लाख रुपियाँ राशीको अक्षयकोष घोषणा गरेको छ । फोनिजका अध्यक्ष डण्ड गुरुङले दिवसको अवसरमा मंगलबार सो कोष घोषणा गर्नुभएको हो ।
आदिबासी जनजाति हकहितको क्षेत्रमा कलम चलाउने पत्रकारहरुका लागि पुरस्कार राशीको कोष सञ्चालनार्थ ‘आदिबासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) अक्षयकोष’ र ‘आदिबासी जनजाति पत्रकार सहयोग अक्षयकोष’ रहेको छ । दुवै कोषमा हाल दश–दश लाख रुपियाँ राखेर कोषको घोषणा गरिएको हो । दुवै कोषमा २०–२० लाख रुपियाँ पु¥याउने फोनिजको लक्ष्य छ । कोषमा सहयोगका लागि फोनिज केन्द्रले सबैमा आव्हान गरेको छ ।
फोनिजले आफ्नो २१ औं स्थापना दिवस भर्चुवल माध्यमबाट मनाएको छ । कोरोना संक्रमणका कारण मुलुक नै ठप्प रहेका बेला फोनिजले भर्चुवल माध्यमबाट स्थापना दिवस मनाएको हो । कार्यक्रममा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीले जो जहाँ रहे पनि आदिबासी हितका लागि प्रतिवद्ध भएर काम गर्नुपर्ने बताउनुभयो ।
साामजिक अभियन्ता र राजनीतिकर्मीबीच बुझाईमा दूरी रहेको बताउँदै उपाध्यक्ष घर्तीले आदिबासी हक अधिकारको सम्बोधन र त्यसको संस्थागतका लागि पनि राजनीतिकर्मी र सामाजिक अभियन्ताबीच फ्यूजन अपरिहार्य रहेको बताउनुभयो । संविधानमा गरेको व्यवस्थालाई कार्यान्वयन गरी थप अधिकारका लागि एकतावद्ध भएर राज्यलाई दवाव दिनुपर्ने उहाँले बताउनुभयो ।
फोनिजका सल्लाहकार खिम घलेले सरकार आदिबासी अधिकारप्रति उदासिन रहेको बताउँदै प्राप्त भएको अधिकार समेत कटौती गर्नमा लागेको टिप्पणी गर्नुभयो । आदिबासी जनजातिको अधिकारको उठान गर्ने र सम्बोधनमा दवाव दिने काममा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको उहाँले बताउनुभयो ।
फोनिजका अध्यक्ष डण्ड गुरुङले अहिलेको विशम परिस्थितिमा पत्रकारहरु जोखिम मोलेर फ्रन्ट साइडमा रहेर भूमिका निर्वाह गरेपनि राज्यले राहत प्याकेज घोषणा नगर्नु विडम्बनापूर्ण रहेको बताउनुभयो । कोरोना कहरका बेला पत्रकार र मिडिया टिकाउन राज्यले राहत प्याकेज घोषणा गर्नुपर्ने उहाँले बताउनुभयो । समानुपातिक विज्ञापन अझसम्म लागु गर्न नसकेको भन्दै उहाँले तत्काल लागु गर्न माग गर्नुभयो ।
फोनिज स्थापना र यसलाई अगाडि बढाउनमा सहयोग गर्नुहुने अग्रज सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । फोनिजको अहिले देशभर ५६ जिल्लामा शाखा, सात प्रदेशमा प्रदेश कमिटी र ६ मुलुकमा विदेशमा शाखा रहेको छ । फोनिजमा करिब तीन हजार जना आदिबासी जनजाति पत्रकार आवद्ध छन् ।