हमार पहुरा डट कम
काठमाडौं, भदौ ६ गते । थारु कल्याणकारिणी सभा (थाकस) ले थारु मानक भाषा बहस भाग २ शनिबार सम्पन्न गरेको छ । यसअघि थाकसे साउन ३१ गते मानक भाषा वहस भाग १ भर्चुवल रुपमा सम्पन्न गरेको थियो ।
कोरोना कहरले मुलुक बन्दाबन्दी अवस्थामा रहेका बेला थाकसले आज शनिबार दोस्रो भागको वहस आयोजना गरेको हो । वहसमा चार जना भाषा विज्ञले भाग लिएका थिए । पूर्वबाट भोलाराम चौधरी (मोरङ), हृदयनारायण चौधरी (बारा), महेश चौधरी (दाङ) र कृष्णराज सर्वहारी (दाङ, देउखर) छलफलमा धारणा राख्नुभयो ।
भोलाराम चौधरीले पूर्वमा झापादेखि बारासम्म एउटा, चित्तवनदेखि नवलपरासीसम्म अर्को, नवलपरासीदेखि कपिलवस्तुसम्म अर्को र दाङदेखि पश्चिम कञ्चनपुरसम्म अर्को किसिमले भाषाको उच्चारण भइरहेको बताउनुभयो । पूर्वमा दन्त्य त, थ, द, ढ, सबै उच्चारण हुनेगरेको उहाँले बताउनुभयो । थारु मानक भाषा वहस हुनु राम्रो भएको अब यसलाई थारुको एउटै मानक भाषा बनाउनमा सबैले जोड दिनुपर्ने सुझाव राख्नुभयो ।
त्यस्तै, महेश चौधरीले पश्चिममा दन्त्य त, थ, द, ढ र तालब्य ट, ठ, ड, ढ पनि उच्चारणमा प्रयोग भइरहेको बताउनुभयो । देवनागरी लिपिलाई नै आधार बनाएर थारु भाषा मानकको विकास गर्न सकिने भन्दै उहाँले थारुको एउटा मात्र मानक भाषामा जोड दिनुभयो । मानक भाषा बनाउन कुनै समस्या नरहेको उहाँले दावी गर्नुभयो ।
सोहीअनुसार हृदयनारायण चौधरीले पनि थारुको बोली, लवजमा ठाउँअनुसार उच्चारणमा फरक भएपनि मूल शब्दमा खासै भिन्नता नरहेको बताउनुभयो । देवनागरी लिपिले निर्धारण गरेको वर्णअनुसार नै थारुको मानक भाषा बनाउनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
सोहीअनुसार कृष्णराज सर्वहारीले पश्चिममा तालब्य ट, ठ, ड, ढ मात्र उच्चारण हुने भएकाले दन्त्य त, थ, द, ढ प्रयोग गर्न नसकिने बताउनुभयो । उहाँले पूर्वदेखि पश्चिमसम्म एउटै मानक भाषा बनाउन सम्भव नरहेको बताउनुभयो । थारुको चार वा सोभन्दा बढी मानक बनाउन सकिने उहाँले जोड दिनुभयो ।
कार्यक्रममा करिब ४५ जनाको सहभागिता थियो । सहभागीहरुले थारु मानक भाषा एउटा मात्र बनाउनमै जोड दिनुपर्ने र त्यसलाई सबैले मान्न तयार हुनुपर्ने सुझाव राख्नुभयो । पश्चिमदेखि पूर्वसम्मका सबै थारु भाषिकालाई जोडेर मानक (साझा) भाषा बनाउनमा जोड दिनुपर्ने सहभागी युवाहरुले प्रतिक्रिया दिनुभयो ।
थारु कल्याणकारिणीसभाका महामन्त्री प्रेमीलाल चौधरीको सहजीकरणमा भएको कार्यक्रममा सहभागीको तर्फबाट भुलाई चौधरी (सप्तरी), चुर्णबहादुर चौधरी (दाङ), यम चौधरी र सहदेव चौधरीले धारणा राख्नुभएको थियो । भर्चुवल कार्यक्रममा सहभागीले पूर्वदेखि पश्चिमसम्म समेट्नेगरी एउटा कार्यदल गठन गरेर मानक भाषा निर्माणको गृहकार्यमा लाग्न र थाकसलाई सहजीकरण गर्न सुझाव दिनुभएको थियो ।