हमार पहुरा डट कम
काठमाडौं, भदौ १३ गते । थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रले शुरु गरेको थारु मानक भाषा वहस भाग ३ शनिबार सम्पन्न भएको छ । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म बोलिने विभिन्न थारु भाषिकाको परिस्कृत रुप तयार पारी एउटा ‘मानक थारु भाषा’ बनाउनेमा विज्ञहरुले सुझाव दिनुभएको छ ।
थारु भाषा भूगोलअनुसार विभिन्न भाषिकामा बोलिए पनि थारुको मुख्य बोलीको वर्णमा समानता रहेकाले बाँकी व्याकरणीय समस्या सल्टाउन सकिने विज्ञहरुको सुझाव छ । त्यसो गर्दा थारु समुदायलाई जोड्न र थारु एकतामा पनि मद्दत पुग्ने उहाँहरुको राय छ ।
शनिबारको वहसमा भाषाविद तथा पूर्व मन्त्री डा. गोपाल दहित (वर्दिया), भाषाका जानकार सम्पतलाल चौधरी (सुनसरी), पत्रकार तथा थारु भाषा साहित्यका अभियन्ता लक्की चौधरी (कैलाली), पत्रकार तथा शिक्षक कारी महतो (चितवन) ले आफ्नो प्रस्तुति राख्नुभएको थियो । प्रस्तुतकर्ता चारै जनाको सुझाव थारु एउटा मानक भाषा बनाउनु पर्ने र देवनागरी लिपिमा प्रयोग गरिएका सबै वर्णहरुको प्रयोग गर्नुपर्ने सुझाव रहेको थियो ।
दाङ पश्चिमका डंगौरा थारुले उच्चारणमा तालव्य ट, ठ, ड, ढ बढी उच्चारण गरेपनि नयाँ पुस्ताका युवाहरुले कम प्रयोग गरिरहेको वक्ताहरुले बताउनुभएको थियो । पश्चिमको कठरिया थारुले र कपिलवस्तु पूर्वका थारुले तालब्य ट, ठ, ड, ढ र दन्त्य त, थ, द, ध, समानरुपमा प्रयोग गर्ने भएकाले दाङ भेलाले प्रस्ताव गरेको ११ वटा वर्णलाई परित्याग गर्न सक्ने अवस्था नरहेको वक्ताहरुको ठहर छ ।
२०७३ साउन १ देखि ३ गतेसम्म दाङको घोराहीमा भएको भेलाले त, ठ, ड, ढ, ञ, ण, ष, श, क्ष, त्र, ज्ञ अक्षरको थारुमा उच्चारण नहुने भन्दै वर्णबाट हटाउने प्रस्ताव गरेको थियो । तर उच्चारणमा प्रयोग कम भएपनि यसबाट हजारौं शब्दहरु लेख्य रुपमा प्रयोग हुने भन्दै विज्ञहरुले त्यसलाई हटाउन नहुने बल्की बढीभन्दा बढी प्रयोगमा लिनुपर्ने सुझाव दिनुभयो ।
भाषाविद डा. गोपाल दहितले गैरथारुलाई पनि स्वीकार्य हुनेखालको मानक थारु भाषा बनाउन सकेमात्र त्यो व्यवहारिक रुपमा प्रयोगमा आउन सहज हुने बताउनुभयो । पश्चिमदेखि पूर्वका सबै भाषिकाको शब्द संकलन गरी त्यसमै आधारित परिस्कृत व्याकरण बनाएर मानक रुप दिन सकिने उहाँले बताउनुभयो । तर मानक बन्न समय लाग्ने उहाँको बुझाई छ ।
मानक थारु भाषा बहसमा आउनु सकारात्मक रहेको बताउँदै उहाँले अव वहस सँगसँगै मानक बनाउने अभियानतिर काम शुरु गर्नुपर्ने सुझाव दिनुभयो । पूर्वदेखि पश्चिमसम्मका सबै भाषा विज्ञहरुलाई समेटेर मूल समिति बनाउने र विभिन्न उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँट गर्दा मानक बनाउन सहज हुने उहाँले सुझाउनुभयो । थारु शब्दलेमात्र थारु मानक बन्न सम्भव नरहेको भन्दै उहाँले आगन्तुक शब्द तत्समलाई जस्ताकोतस्तै लिनुपर्ने बताउनुभयो । नेपाली सम्पर्क भाषा मानक बन्दा पनि ६० प्रतिशत आगन्तुक शब्द लिइएको, अंग्रेजीमा पनि मानक बन्दा ४० प्रतिशत आगन्तुक शब्द लिएको उहाँले उदाहरण दिनुभयो ।
पत्रकार तथा थारु भाषा साहित्यका अभियन्ता लक्की चौधरीले बढीभन्दा वढी थारुलाई स्वीकार्य हुने एउटा साझा मानक भाषा बनाउनमा जोड दिनुभयो । नेपाली वर्णअनुसार सबै वर्णलाई थारु मानक बनाउँदा समेटिनु पर्ने भन्दै उहाँले थारु भाषालाई सानो क्षेत्रमा खुम्च्याएर राख्न नहुने बताउनुभयो । मानक बनाउँदा आवश्यक पर्ने त्यसको विशेषता, मानक बन्ने प्रक्रियाबारेमा उहाँले प्रष्ट पार्नुभयो ।
थारु भाषालाई परिस्कृत र स्वीकार्य बनाउन तालव्य ट, ठ, ड, ढ र दन्त्य त, थ, द, ध, उच्चारण नहुने क्ष, ष, श, त्र, ज्ञ, ण, ञ सबै अक्षरबाट शब्द बन्नेहुनाले त्यसलाई स्वीकार्नु पर्ने बताउनुभयो । यी वर्णको प्रयोगले थारु शब्दकोष धनी हुने भन्दै उहाँले दाङ पश्चिममा खुम्चेर मानक बन्न नसक्ने जिकिर गर्नुभयो । उहाँले ह्रस्व र दीर्घ दुवैको प्रयोग गर्न अनिवार्य रहेको बताउनुभयो । दाङ भेलाले ह्रस्व मात्र लेख्नुपर्ने प्रस्ताव गरेपनि त्यो व्यवहारिक र वैज्ञानिक नरहेको उहाँले तर्क गर्नुभयो ।
भाषाका जानकार सम्पतलाल चौधरीले बारा पर्सादेखि पुर्वका थारुहरुको बारेमा शब्दकोष र व्याकरण तयार भएपनि भाषामा अझै एकरुपता ल्याउन नसकिएको बताउनुभयो । उच्चारणमा केही फरक भएपनि मुख्य वर्णमा समानता रहेकाले एउटा मानक बनाउनमा समस्या नहुने उहाँको तर्क छ । मानक बनाउँदा सवै पक्षसँग छलफल, अन्तरक्रिया र राय सुझाव लिएर बनाउँदा मात्र स्वीकार्य हुने उहाँले सुझाव दिनुभयो ।
त्यसैगरी पत्रकार तथा शिक्षक कारी महतोले चितवनमा बोलिने थारु भाषा नै मुख्य थारु भाषा भएको दावी गर्नुभयो । अरु क्षेत्रको थारु भाषामा धेरै अन्य भाषा मिसिएको बताउँदै उहाँले भाषा मानक बनाउँदा त, थ, द, ध, ट, ठ, ड, ढ, सहित ११ वटा सबै वर्णको सहज प्रयोग आवश्यक रहेको बताउनुभयो । थारु भाषा उत्थानमा चितवनका थारुहरुको पनि ठूलो भूमिका रहेको भन्दै उहाँले एउटा मानक बनाउन सकिने सुझाव दिनुभयो ।
कार्यक्रममा प्राध्यापक डा. कृष्णप्रसाद पौडेलले पनि संक्षिप्त धारणा राख्नुभयो । दाङ पश्चिममा एक किसिमको उच्चारण हुनेगरेको र कठरिया थारुको उच्चारण पनि फरक रहेको बताउनुभयो । पश्चिम, मध्ये र पूर्वको गरी अलग अलग मानक बनाएर त्यसलाई जोड्ने गरी एउटा मानक बनाउँदा बढी सहज हुने उहाँले सुझाव दिनुभयो ।
भर्चुवल कार्यक्रममा पूर्वदेखि पश्चिमका गरी करिब ४५ जना भाषा प्रेमी थारुको सहभागिता थियो । थाकसले पछिल्लो समय हरेक शनिबार भाषा वहस चलाउँदैआएको छ । संस्थागतरुपमा वहस शुरु हुँदा थारुमा मानक बन्ने आशा पलाएको सहभागीहरुले बताउने गरेका छन् ।