
कारी महतो
चितवन, भदौ २५ गते । जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले “थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोष” नामक छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । देश विदेशमा रहेका व्यक्तिहरुलाई कोषका लागि आर्थिक सहयोग रकम जम्मा गर्न थाकस चितवनले आह्वान गरेको छ ।
पर्वको अवसरमा थाकस चितवनले अक्षय कोषको निर्देशिका पारित गरी कोषमा रकम सहयोग गर्न आह्वान गरेपछि मनोज महतो र उषा महतो दम्पतीले एक लाख एक रुपैयाँ नगद सहयोग जम्मा गरेको थाकस चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले जानकारी दिनुभयो ।
अक्षयकोषका लागि धेरै व्यक्तिहरुले आर्थिक सहयोग गर्ने आश्वासन दिनुभएको जिल्ला सदस्य एवम् थाकसको शिक्षा तथा प्रशिक्षण विभागका संयोजक जीतबहादुर महतोले बताउनुभयो । आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिहरुले थारु कल्याणकारिणी सभा चितवनको लक्ष्मी बैंक लि. मा रहेको खाता नं. ००८११०३७७६३ मा रकम जम्मा गर्न सकिने जनाइएको छ ।
मनोज र उषा को हुन्

मनोज महतो र उषा महतो दम्पत्ती भरतपुर महानगरपालिका २७, पर्साढापका स्थायी निवासी हुनुहुन्छ । हाल उहाँहरु अमेरिकाको टेक्सासमा बस्नुहुन्छ । मनोज महतो एक प्राविधिक सञ्चारकर्मी हुनुहुन्छ । उहाँले चितवनको पहिलो रेडियो सिनर्जी एफएममा २०६५ देखि २०६८ सम्म सूचनाप्रविधि सम्बन्धि “इन्फोटिक्स” कार्यक्रमबाट प्रवेश गरी प्राविधिकको रुपमा समेत काम गर्नुभएको थियो ।
त्यसका साथै उहाँले “शुभ बिहानी”, “यङना हमार” कार्यक्रम सञ्चालन गर्नुभयो । साथै थारु आदिवासी गैरसरकारी संस्था महासंघ सौजन्यमा “हमार अधिकार” कार्यक्रमको उत्पादन गरेर नेपालको ६ वटा रेडियो स्टेशनबाट प्रसारण गर्नुहुन्थ्यो ।
सिनर्जी एफएममा प्रवेश गर्नु अगाडि उहाँले २०६४ मा थारु भाषाको “हमार चिनारी” पत्रिका प्रकाशन गर्नुभएको थियो । सिनर्जी एफएममा काम गर्दागर्दै २०६७ मा “हमार अधिकार” प्रकाशन गर्नुभयो । २०७० सालमा “जीतवाहन” पुस्तक प्रकाशन गर्नुभयो । त्यस्तै चितवन पोष्ट, कायाकैरन र जोश पत्रिकामा साप्ताहिक रुपमा सूचनाप्रविधि सम्बन्धि “साइबर संसार” स्तम्भका स्तम्भकारका नियमित रुपमा लेख्नुहुन्थ्यो ।
सफ्टवेयर आफैंले डिजाइन र उत्पादन गरी २०६६ सालमा थारु नेपाल डट कम र २०६९ मा थारु अनलाइन डट कम दर्ता गरी शुरु गर्नुभयो । अहिले अमेरिकामै रहेर पनि सङ्हाति पत्रिकाको अनलाइन सम्पादकमा रही सहयोग गर्दै आउनुभएको छ ।
२०६८ मा भारत गई सूचना प्रविधि सम्बन्धि थप अध्ययन गर्नुभयो । त्यसपछि नारायणगढमा “सफ्टवेयर उत्पादन तथा अनुसन्धान केन्द्र” मा काम गर्नुभयो । त्यस कम्पनीमा काम गदैगर्दा मनोज र उषाको भेट भयो । त्यसपछि २०६९ मा दुवैजना मिलेर “वेबसफ्ट नेपाल प्रा.लि.” स्थापना गरी काम गर्न थाल्नुभयो । वेबसफ्ट नेपालमा सँगसँगै काम गर्दैगर्दा २०७३ मा उहाँहरुको विवाह भयो । विवाहपछि दुवै जना अमेरिका जानुभयो ।
हाल मनोज अमेरिकास्थित एक टेलिकम्युनिकेशन सफ्टवेयर कम्पनीमा सफ्टवेयर इन्जिनियरको रुपमा कार्यरत हुनुहुन्छ । उषाले पनि आफ्नो क्षमता अनुसारको पहिचान बनाउँदै जानुभएको छ ।
थारु समुदायमा शैक्षिक अवस्था र विद्यार्थीहरुको संघर्ष देख्दै आइरहेको र आफैंले पनि विद्यार्थी जीवनकालमा भोग्दै आएकोले अक्षयकोष स्थापनाका लागि सहयोग गरेकोे मनोजले मेसेन्जर मार्फत् बताउनुभयो । “अहिलेको युगमा शिक्षा नै सर्वोपरी हो । छात्रवृत्तिले विद्यार्थीहरुलाई केही राहत र प्रोत्साहन दिन्छ ।” आफूले कक्षा ५ मा पढ्दा जिल्ला स्तरिय परीक्षामा सरकारी विद्यालयभरिमा जिल्लाकै दोस्रो भई केहि आर्थिक सहयोग पाएको उहाँले स्मरण गर्नुभयो । कक्षा ६ देखि माथिका कक्षाहरुमा केहि छुट पाएको अनुभव पनि बताउँदै अक्षयकोषबाट धेरै विद्यार्थीहरुलाई राहत र प्रोत्साहन मिल्ने मनोजले विश्वास लिनुभयो ।




