हमार पहुरा डट कम
काठमाडौं, असोज ३ गते । संघीय संसदका प्रतिनिधिहरु तथा अभियन्ताहरुले नयाँ संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न र छुटेका थप विषयहरु सम्बोधनका लागि सामुहिक दवाव दिन थारु समुदायलाई सुझाव दिनुभएको छ ।
थारु विद्यार्थी समाज केन्द्रीय कार्य समितिद्वारा शनिबार आयोजित भर्चुवल कार्यक्रममा सांसद तथा संस्थाका अगुवाहरुले सो सुझाव दिनुभयो । नयाँ संविधान २०७२ मा थारु समुदाय तथा पछाडि परेका वर्गको केही माग सम्बोधन भएपनि त्यसको कार्यान्वयन हुन नसकेको उहाँहरुको भनाई छ ।
भएको अधिकार लिन सामुहिक कार्यान्वयनको दवाव दिन संगठित हुनुपर्ने र छुट भएका विषयको पहिचान गरी त्यसलाई संविधानमा सम्बोधनको प्रयास गर्नुपर्ने धारणा राख्नुभयो । वक्ताहरुले कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि निर्वाचित सांसद रेशम चौधरीलाई कारागारमा राख्नु गलत भएकोभन्दै तत्काल रिहा गर्न माग गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद गंगा सत्गौंवा थारुले संविधान संशोधन गर्न सामुहिक प्रयासको खाँचो औल्याउनुभयो । थारु समुदायले उठाएको संशोधनको मुद्दाहरु अझै संगठितरुपमा पहिचान गरी सांसदलाई दवाव नदिएको भन्दै उहाँले त्यसकालागि विद्यार्थीलाई आग्रह गर्नुभयो । संविधान कार्यान्वयनको चरणमा भएपनि त्यसको अझै कार्यान्वयन हुन बाँकी रहेको भन्दै उहाँले थप उपलब्धीका लागि सामुहिक प्रयासको खाँचो औल्याउनुभयो ।
रेशम चौधरीलाई पक्राउ गरी कारागारमा राख्नु गलत भएको बताउँदै उहाँले रिहाईको पहल पार्टी र सरकारमा गरिरहेको बताउनुभयो । नेताहरु सकारात्मक भएकाले चाँडै चौधरी जेलमुक्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । संविधानले थारुको सबै माग सम्बोधन गर्न नसकेको सत्य भएको बताउँदै उहाँले निरन्तर दवावको खाँचो रहेको प्रष्ट पार्नुभयो ।
राष्ट्रिय सभाका सदस्य हरिराम चौधरीले नयाँ संविधानमा राम्रो पक्ष धेरै भएपनि त्यो पर्याप्त नरहेको बताउनुभयो । भएको अधिकारको सम्बोधन गराउँदै थप उपलब्धीकालागि सामुहिक प्रयासको खाँचो रहेको उहाँले बताउनुभयो । सरकार अझै थारु लगायत अन्य पछाडि पारिएका वर्गको पक्षमा सकारात्मक हुन नसकेको भन्दै उहाँले रेशम चौधरीलाई कारागारमा राख्नु दुःखद भएको बताउनुभयो । रिहाईको पहल भने निरन्तर भइरहेको उहाँले प्रष्ट पार्नुभयो ।
प्रतिनिधिसभाका सदस्य लक्ष्मी चौधरीले थारुको विषय व्यक्तिको विषय नभएर समुदायको मुद्दा भएकाले सामुहिक प्रयासको खाँचो औल्याउनुभयो । रेशम चौधरीलाई कारागारमा राख्नु थारु समुदायमाथि अन्याय भएको बताउँदै उहाँले रिहाईको पहल आफूहरुले निरन्तर गरिरहेको बताउनुभयो । संविधानमा धेरै विषय सकारात्म भएपनि कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानले पछाडि परेका वर्गको हक हितको पर्याप्त सम्बोधन नगरेको सत्य भएको बताउँदै सम्बोधनको पहलका लागि समुदाय स्वयम् जागरुक हुनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभाका सांसद तेजुलाल चौधरीले थारुको अधिकार अझै संविधानमा सम्बोधन हुन बाँकी रहेकाले त्यसकालागि थारु समुदायको सामुहिक पहलको खाँचो आवश्यक रहेको बताउनुभयो । रेशम चौधरी जनताको अत्यधिक मतले विजयी हुनुभएपनि जेल जीवन विताउन बाध्य पारिनु थारुमाथिको अन्याय र शोषण भएको उहाँले टिप्पणी गर्नुभयो ।
थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यतामा भएको भर्चुवल कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष जगत बरामसहितले धारणा राख्नुभयो । थाविस अध्यक्ष चौधरीले थारु समुदायको माग मुद्दाको सम्बोधन नहुँदासम्म संघर्षको कार्यक्रम जारी राखिने बताउनुभयो । भर्चुवल कार्यक्रममा भाग लिई सहयोग गर्नुहुने सबै अतिथि तथा सहभागी सबैमा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा देशभरबाट विद्यार्थीहरुको सहभागिता रहेको थियो ।